२०८२ सालको एसईई परीक्षामा अछामको तुर्माखाँद गाउँपालिका ७६.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लाकै प्रथम भएको छ। अछाम जिल्लाभरि ५५.२६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका बेला तुर्माखाँदले भने गत वर्षको तुलनामा उत्तीर्ण प्रतिशत बढाउँदै उत्कृष्ट नतिजा हासिल गरेको हो।
गाउँपालिकाका अनुसार २०८१ सालको एसईई परीक्षामा ६७.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस वर्ष उक्त प्रतिशत अझै बढ्नुका साथै उत्तीर्ण हुने विद्यार्थीको संख्या पनि वृद्धि भएको जनाएको छ। २०८१ सालमा जिल्लाको कुल उत्तीर्ण प्रतिशत ४०.१३ रहेको थियो भने तुर्माखाँदको नतिजा त्यसभन्दा उल्लेखनीय रूपमा राम्रो देखिएको छ। त्यसैगरी २०८० सालमा जिल्लाको उत्तीर्ण प्रतिशत २८.८५ प्रतिशत हुँदा तुर्माखाँद गाउँपालिकाको उत्तीर्ण प्रतिशत ३८.७४ प्रतिशत रहेको थियो। तथ्यांकले पालिकाले हरेक वर्ष शैक्षिक नतिजामा सुधार गर्दै लगेको देखाउँछ।
सोमबार प्रकाशित नतिजाअनुसार वडा नं. ३ स्थित भैरब माध्यमिक विद्यालय का छात्र जोहेन बिसीले ३.९० जीपीए ल्याउँदै जिल्लामै तेस्रो स्थान हासिल गरेका छन्।
गत चैत १९ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा सबैभन्दा बढी विद्यार्थी वडा नं. ८ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय बाट सहभागी भएका थिए। उक्त विद्यालयबाट परीक्षामा सहभागी ६० जना विद्यार्थীমध्ये ५० जना उत्तीर्ण भएका छन्। यता सबैभन्दा कम नतिजा वडा नं. ४ स्थित विश्वज्योति माध्यमिक विद्यालय मा देखिएको छ। उक्त विद्यालयका १८ जना विद्यार्थীমध्ये १० जना मात्रै उत्तीर्ण भएका छन्।
यसैगरी,
- बिन्ध्यवासिनी माध्यमिक विद्यालय बाट २३ जना,
- भैरब माध्यमिक विद्यालय बाट १६ जना,
- तोषी माध्यमिक विद्यालय बाट ३१ जना,
- बिन्द्रासैनी माध्यमिक विद्यालय बाट ४७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
त्यसैगरी,
- कालिकेश्वरी माध्यमिक विद्यालय बाट ११ जना,
- कामेश्वरी माध्यमिक विद्यालय बाट १८ जना,
- सूर्य माध्यमिक विद्यालय बाट १५ जना,
- मेनका माध्यमिक विद्यालय बाट ३० जना,
- कालिकेश्वरी माध्यमिक विद्यालय बाट ४८ जना तथा
- विश्वज्योति माध्यमिक विद्यालय बाट १० जना विद्यार्थी उत्तीर्ण भएका शिक्षा, युवा तथा खेलकुद शाखा तुर्माखाँदले जनाएको छ।
तुर्माखाँद गाउँपालिकाले हरेक वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई नगदसहित सम्मान गर्दै आएको छ। गाउँपालिकाले शिक्षा क्षेत्रमा निरन्तर लगानी बढाउँदै आएको छ। गत वर्ष कुल बजेटको आधाभन्दा बढी हिस्सा शिक्षा क्षेत्रमा विनियोजन गरिएको थियो।
गाउँपालिका अध्यक्ष बिसीले शिक्षा क्षेत्रको विकासबिना अन्य क्षेत्रको विकास सम्भव नहुने भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार विद्यालयहरूको नियमित अनुगमन, लगानी तथा शैक्षिक सुधारका कार्यक्रमकै कारण हरेक वर्ष नतिजामा सुधार हुँदै गएको हो।
हरेक वर्ष नतिजामा सुधार हुँदै गएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष बिसीले आगामी वर्ष शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्यसहित योजना बनाइने जानकारी दिनुभयो।





















प्रतिक्रिया