राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंगलसेन नगर समितिको सभापतिमा राजेश बोगटी चयन हुनुभएको छ। सोमबार मंगलसेनमा सम्पन्न नगर अधिवेशनले बोगटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिको उपसभापतिमा धिरेन्द्र भण्डारी, सचिवमा मिलन नाथ, सहसचिवमा टेकबहादुर विक तथा सदस्यहरूमा बेनु प्रसाद शर्मा, गणेश भुल, सपना भण्डारी, सानुकुमारी कुँवर, छलु भण्डारी, सुस्मिता सार्की, झुमाकान्त ढुंगाना, डिकेन्द्र बोगटी र वर्षा वड चयन हुनुभएको छ।
नवनिर्वाचित समितिले मंगलसेनमा पार्टीका गतिविधिलाई थप सशक्त बनाउने तथा ‘मिसन ८४’ सफल पार्ने लक्ष्यसहित अगाडि बढ्ने निर्णय गरेको जनाएको छ।
अधिवेशनको उद्घाटन पार्टीको संगठन विभागकी केन्द्रीय सदस्य जानिका जोशीले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै जोशीले राष्ट्रिय स्वतन्त्र पार्टीका जनप्रतिनिधि तथा कार्यकर्ताहरू जनताको सेवकका रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो। जनताले पार्टीप्रति ठूलो भरोसा राखेकाले दुःख–सुखका हरेक परिस्थितिमा निस्वार्थ भावनाका साथ जनताको सेवामा समर्पित हुन उहाँले आग्रह गर्नुभयो।
जनताले रास्वपालाई ठूलो विश्वास गरेको उल्लेख गर्दै जोशीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताउनुभयो। पुराना दलका गतिविधिबाट नेपाली जनता आजित भइसकेको भन्दै उहाँले रास्वपा नेतृत्वले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य सेतीराम भण्डारी, युवा नेता गौतम कुँवर, नेता डीबी रावल तथा पूर्व नगर अध्यक्ष दीपक साउदलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
नगर उपसभापति दीपक साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मिलन नाथले गर्नुभएको थियो।



















प्रतिक्रिया