अछाम : बयालपाटा प्रादेशिक अस्पतालमा अन्तर्राष्ट्रिय नर्स दिवस २०२६ विविध कार्यक्रमका साथ मनाइएको छ। अस्पतालका अनुसार दिवसको अवसरमा बिहान योग अभ्यास तथा दिउँसो औपचारिक कार्यक्रम आयोजना गरिएको थियो।
“बिरामीलाई स्वस्थ बनाउन स्वास्थ्यकर्मी स्वयं पनि स्वस्थ हुनुपर्छ” भन्ने सन्देशसहित बिहान योग अभ्यास गरेर कार्यक्रमको सुरुवात गरिएको अस्पतालले जनाएको छ।
अस्पतालकी नर्सिङ इञ्चार्ज सन्ध्या बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. मन्दिप पाठक प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
“हाम्रा नर्स, हाम्रो भविष्य : सशक्त नर्सहरूले जीवन बचाउँछन्” भन्ने नारासहित मनाइएको दिवसको अवसरमा बोल्दै निर्देशक डा. पाठकले अस्पताललाई आजको अवस्थासम्म पुर्याउन नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले बिरामीको सेवामा दिनरात खटिने नर्सहरू अस्पतालका मेरुदण्ड भएको उल्लेख गर्दै नर्सिङ सेवाप्रति सम्मान व्यक्त गरे।
डा. पाठकले बयालपाटा अस्पताल बिरामीको भरोसाको केन्द्र बन्नुमा नर्सिङ टोलीको ठूलो योगदान रहेको बताए। संस्थागत रूपमा अस्पताल प्रशासनले नर्सहरूको अपेक्षाअनुसार पर्याप्त भूमिका निर्वाह गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा सबै मिलेर नर्स पेशालाई अझ सम्मानित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।
दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै अस्पतालका जनरल मेडिसिन विशेषज्ञ डा. संजिव जोशी, अर्थोपेडिक सर्जन डा. बिश्वबन्धु निरौला, तथा जनरल सर्जन डा. सरोज ढुंगानाले नर्स पेशा सम्मानित र बिरामीको भरोसाको पेशा भएको बताए। उनीहरूले बिरामीको उपचारको सुरुवात चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीबाट भए पनि बिरामी पूर्ण रूपमा निको नहुन्जेल निरन्तर रेखदेख गर्ने जिम्मेवारी नर्सहरूको काँधमा हुने भएकाले नर्सिङ टोली अस्पतालको आधारस्तम्भ भएको धारणा राखे।
कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापक प्रकाश खड्काले राज्यले नर्सहरूको आवश्यकता र योगदानलाई पर्याप्त रूपमा सम्बोधन नगरे भविष्यमा देशमै दक्ष नर्सको अभाव हुन सक्ने बताए। उनले नर्सहरूले स्वदेशमै बसेर सेवा गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। नर्सिङ जनशक्ति अभावका कारण बयालपाटा प्रादेशिक अस्पतालले समेत चुनौती भोगिरहेको उल्लेख गर्दै अस्पतालको विकाससँगै नर्सहरूको हितलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।
कार्यक्रममा नर्सिङ इञ्चार्ज सन्ध्या बोगटीले दुर्गम क्षेत्रमा रहेको बयालपाटा प्रादेशिक अस्पतालमा विभिन्न कठिनाइ र चुनौतीका बाबजुद पनि बिरामी सेवामा समर्पित सम्पूर्ण नर्सहरूलाई धन्यवाद ज्ञापन गरिन्।
बयालपाटा प्रादेशिक अस्पतालको नर्सिङ विभागद्वारा आयोजित कार्यक्रममा नर्सिङ क्षेत्रकी प्रेरणास्रोत फ्लोरेन्स नाईटिंगेलको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा कविता वाचन, गायन, नृत्यलगायत विभिन्न मनोरञ्जनात्मक प्रस्तुति पनि प्रस्तुत गरिएका थिए।
हिरा बहादुर बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन भावना बोगटीले गरेकी थिइन्। दिवसको अवसरमा नर्सिङ कर्मचारीहरूले एकआपसमा शुभकामना आदानप्रदान समेत गरेका थिए।




















प्रतिक्रिया