साँफेबगर नगरपालिकामा बालबालिकासँग जनप्रतिनिधिको खुला संवाद कार्यक्रम सम्पन्न भएको छ। बाल अधिकार, सहभागिता र सुरक्षित भविष्यका विषयमा केन्द्रित “मेयरसँग बाल संवाद” कार्यक्रम पालिका स्तरीय बाल सञ्जालको आयोजना, World Vision International Nepal को सहयोग तथा आस्था नेपाल को समन्वयमा आयोजना गरिएको हो।
कार्यक्रममा बालबालिकाले स्थानीय तहमा देखिएका समस्या, नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था तथा आफ्नो दैनिक जीवनसँग सम्बन्धित विषयमा जनप्रतिनिधिलाई प्रत्यक्ष प्रश्न राखेका थिए।
वडा नं. ४ मष्टामाण्डौंकी १६ वर्षीया पुस्तिका बुढाले बढ्दो बालविवाह रोक्न नगरपालिकाले के–कस्ता ठोस कार्यक्रम सञ्चालन गरिरहेको छ भन्ने प्रश्न उठाउँदै औपचारिक कार्यक्रम मात्र गरेर समस्या समाधान सम्भव नहुने धारणा राखिन्। उनले बालविवाह न्यूनीकरणका लागि व्यवहारिक र प्रभावकारी कदम आवश्यक रहेको बताइन्।
त्यस्तै वडा नं. ९ का जीवन कुँवरले नगरपालिकामा स्थापना गरिएको बाल कोषमार्फत बालबालिकाका क्षेत्रमा के–कस्ता गतिविधि सञ्चालन भइरहेका छन् भन्ने जिज्ञासा राखे।
कार्यक्रममा सहभागी अन्य बालबालिकाले विद्यालयमा आधारभूत पूर्वाधारको अभाव रहेको गुनासो गरेका थिए। उनीहरूले विद्यालयमा व्यवस्थित खानेपानीको व्यवस्था नहुनु, खेलमैदान तथा खेल सामग्रीको कमी, सेनेटरी प्याड व्यवस्थापनको अभाव र छात्रामैत्री शौचालय नहुँदा समस्या भइरहेको भन्दै तत्काल समाधानको माग गरेका थिए।
पालिका स्तरीय बाल सञ्जालकी अध्यक्ष जेनिशा भाटले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा स्थानीय सरकारले बालबालिकाका समस्यालाई प्राथमिकतामा राख्नुपर्ने बताइन्। उनले लागुऔषध दुव्र्यसन न्यूनीकरण, मर्यादित महिनावारी, बालविवाह रोकथाम, छुवाछुत अन्त्य तथा खेलकुद सामग्री व्यवस्थापनसम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा समेटिनुपर्ने सुझाव दिइन्।
महिला तथा बालबालिका शाखा प्रमुख अनिता जोशीले बालविवाह न्यूनीकरणका लागि सडक नाटक, सचेतनामूलक कार्यक्रम तथा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी अभियान सञ्चालन गरिने जानकारी दिइन्। उनका अनुसार बाल अधिकार संरक्षणका लागि समुदायस्तरमा सचेतना विस्तार गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
त्यस्तै स्वास्थ्य शाखा प्रमुख लक्ष्मण योगीले लागुऔषध सेवनले बालबालिका तथा युवाको शारीरिक र मानसिक स्वास्थ्य, अध्ययन तथा भविष्यमा गम्भीर असर पार्ने बताउनुभयो। उहाँले लागुऔषधका कारण व्यक्ति कुलतमा फस्ने, पारिवारिक समस्या बढ्ने तथा सामाजिक जीवन कमजोर बन्ने भएकाले समयमै सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
शिक्षा शाखा प्रमुख हिरादत्त भट्टले विद्यालयका शौचालयमा पानीको व्यवस्था, सेनेटरी प्याड डिस्पोजल, प्रधानाध्यापकको नियमित उपस्थिति तथा कम्प्युटर मर्मतलगायतका समस्या समाधानका लागि नगरपालिकाले आवश्यक पहल गर्ने बताउनुभयो। उहाँले विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो।
नगर उपप्रमुख शिवबहादुर कुँवरले बालबालिकाबाट उठाइएका सबै समस्या तथा सुझावलाई नगरपालिकाले गम्भीर रूपमा लिएको बताउँदै समाधानका लागि आवश्यक नीति तथा कार्यक्रममार्फत पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बालबालिकाको सक्रिय सहभागिताले स्थानीय सरकारलाई अझ जिम्मेवार बनाउने धारणा राख्नुभयो।
कार्यक्रमको सहजीकरण रेडियो जनप्रिय एफएम का कार्यकारी निर्देशक तपेन्द्र कुँवर तथा आस्था नेपाल का फिल्ड सुपरभाइजर भ्वान सिंह सार्कीले गर्नुभएको थियो।




















प्रतिक्रिया