मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हराउँदै गएको रैथाने बाली जोगाउन लुंग्राका कृषक जुटे

हराउँदै गएको रैथाने बाली जोगाउन लुंग्राका कृषक जुटे


चौरपाटी गाउँपालिका–५ लुंग्राका कृषकहरूले हराउँदै गएको रैथाने बाली संरक्षण अभियान सुरु गरेका छन् । स्थानीय कृषकहरूले यस वर्षदेखि कोदो, भटमास, जुवारो, धान, मकै लगायत स्थानीय जातका बाली पुनः खेती गर्न थालेका हुन् ।

वि–क्यान परियोजनाको सहयोगमा सम विकास नेपालले विभिन्न गाउँमा रैथाने बाली संरक्षणसम्बन्धी अभियान सञ्चालन गरेपछि कृषकहरू यस अभियानप्रति आकर्षित भएका छन् । पछिल्लो समय हाइब्रिड बालीको प्रयोग बढ्दै जाँदा परम्परागत स्थानीय बाली लोप हुने अवस्थामा पुगेपछि संरक्षण अभियानलाई तीव्र बनाइएको हो ।

स्थानीय कृषक मिठ्ठुदेवी खड्का र चन्द्रकला पाण्डेले आफूहरूले विगतदेखि नै रैथाने बाली लगाउँदै आएको बताउनुभयो । तर जंगली जनावरका कारण बाली जोगाउन चुनौती भइरहेको उहाँहरूको भनाइ छ । उहाँहरूले रैथाने बाली स्वादिलो, पोषणयुक्त तथा स्वास्थ्यका लागि लाभदायक भएकाले यसको संरक्षण आवश्यक रहेको धारणा राख्नुभयो ।

कृषि प्राविधिक कलशी कठायतका अनुसार रैथाने बाली पोषणयुक्त, रोग प्रतिरोधात्मक क्षमता भएका तथा स्थानीय वातावरणसँग सहज रूपमा अनुकूल हुने भएकाले यसको संरक्षण अपरिहार्य छ ।

वडा अध्यक्ष हिमकर्ण खड्काले रैथाने बाली स्वादिलो, स्वस्थकर र कम खर्चिलो हुने भएकाले यसको खेती विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

रैथाने बाली संरक्षण अभियानले स्थानीय कृषि संस्कृति जोगाउनुका साथै कृषकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।