मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहमतिको सरकार र मध्यावधि चुनाव हाम्रो माग होइन: कांग्रेस

सहमतिको सरकार र मध्यावधि चुनाव हाम्रो माग होइन: कांग्रेस


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहमतिको सरकार र मध्यावधि चुनाव पार्टीको माग नरहेको बताएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको सरकार र मध्यावधि चुनावबारे पार्टीलाई जोडेर अतिरञ्जित व्याख्या गरिएको उल्लेख गर्दै सहमतिको सरकार र चुनाव अहिले पार्टीको माग नरहेको प्रष्टिकरण दिएका हुन्।

केही दिनअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संकटका बेला दुनियाँमा सहमतिको सरकार बनाएर जाने पनि चलन छ भन्ने अभिव्यक्ति दिएका थिए ।

साथै पार्टी सहमहामन्त्री प्रकाशशरण महतले मध्यावधि चुनाव हुनुपर्ने बताएको दाबी सहित खबर आएपछि प्रवक्ता शर्माले ती माग पार्टीका नभएको बताएका हुन्।

वरिष्ठ नेता पौडेलले सहमतिको सरकार बनाइहाल्नुपर्छ भन्ने माग आफ्नो नरहेको यसअघि नै प्रष्टिकरण दिइसकेका छन्। महतले पनि आफूले नबोलेका कुरा समाचारमा आएको भन्दै ध्यानाकर्षण भएको बताएका छन्।

ती घटनाबारे संकेत गर्दै प्रवक्ता शर्माले आइतबार ट्वीट गर्दै व्यक्तिगत मतहरू केवल व्यक्तिगत नै हुने उल्लेख गरेका छन्। ‘व्यक्तिगत मतहरू केवल व्यक्तिगत हुन्छन्,’ उनले भनेका छन्, ‘पार्टीलाई गाँसेर अतिरञ्जित व्याख्या नगरौं।’

उनले संस्थागत रूपमा पार्टीको धारणा जिम्मेवार ढंगले संकटका बेला सरकारलाई साथ दिने रहेको उल्लेख गरेका छन्।

‘संस्थागत रूपमा नेपाली कांग्रेसको धारणा प्रष्ट छ- न सहमतिको सरकार न चुनाव। यो संकटको घडि जिम्मेवार ढंगले सरकारलाई हरसंभव साथ तर ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारविरूद्ध खरो खबरदारी,’ उनले भनेका छन्। – सेतोपाटीबाट