अछाम । कमलबजार नगरपालिकाले नगर अनुदानअन्तर्गत कार्यरत शिक्षकहरूलाई आगामी दिनमा निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न विशेष नगरसभा आयोजना गर्ने भएको छ।
नगरपालिकासँग नगर अनुदानका शिक्षकलाई निरन्तरता दिन आवश्यक स्रोतको अभाव रहे पनि कतिपय सामुदायिक विद्यालयमा शिक्षकको आवश्यकता रहेको भन्दै यस विषयमा व्यापक छलफल गरेर मात्रै निर्णयमा पुग्ने तयारी गरिएको हो।
नगर प्रमुख यज्ञप्रसाद ढकालका अनुसार दशैंलगत्तै सरोकारवालासँग छलफल गरी विशेष नगरसभा आयोजना गरिनेछ। नगरपालिकाभित्रका ३५ वटा सामुदायिक विद्यालयमा हाल ६४ जना नगर अनुदानका शिक्षक कार्यरत छन्।
शिक्षकको आवश्यकता, विद्यार्थी संख्या, विद्यालयको अवस्था तथा भौगोलिक अवस्थालगायतका विषयलाई आधार बनाएर शिक्षकलाई निरन्तरता दिने वा नदिने विषयमा निर्णय गरिने नगर प्रमुख ढकालले बताउनुभयो।
नगरपालिकाले चालु आर्थिक वर्षका लागि असारमै बजेट विनियोजन गरी कतिपय योजनाको सम्झौतासमेत गरिसकेकाले आगामी दिनमा नगर अनुदानका शिक्षकलाई तलब खुवाउन थप आर्थिक समस्या सिर्जना हुने नगर प्रमुख ढकालको भनाइ छ।
उहाँका अनुसार आगामी चैत महिनासम्म हाल कार्यरत शिक्षकलाई नै निरन्तरता दिइए नगरपालिकामाथि थप करिब १ करोड ६० लाख रुपैयाँ आर्थिक भार पर्नेछ। हाल नगर अनुदानका शिक्षकको तलबमा मात्रै मासिक करिब १४ लाख ३० हजार रुपैयाँ खर्च हुँदै आएको छ।
यसैबीच, बिहीबार बसेको नगर कार्यपालिकाको चौथो बैठकले कार्यपालिकाबाट मात्रै निर्णय गर्नुको सट्टा यस विषयमा आम सरोकारवालाको धारणा लिएर निष्कर्षमा पुग्ने निर्णय गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत लवराज जोशीका अनुसार कानुनी व्यवस्थाअनुसार समानीकरण अनुदानको बजेटबाट शिक्षकको तलब भुक्तानी गर्न नमिल्ने भएकाले यस विषयमा तत्काल निर्णय आवश्यक छ।
उहाँका अनुसार वैशाखदेखि असोज २१ गतेसम्मको तलब भुक्तानी गर्न सकिने अवस्था रहेको छ। उक्त अवधिको तलब दशैंअघि नै शिक्षकहरूको खातामा पठाउने तयारी नगरपालिकाले गरेको छ।
नगरपालिकाले आगामी दिनमा नगर अनुदानका शिक्षकलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा भने विशेष नगरसभाबाटै अन्तिम निर्णय गर्ने जनाएको छ।














प्रतिक्रिया