मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योग वाणिज्य महासंघमा चुनावको चटारो, एकैदिन घोषणा भए दुई प्यानल

उद्योग वाणिज्य महासंघमा चुनावको चटारो, एकैदिन घोषणा भए दुई प्यानल


नेपाल उद्योग वाणिज्य महासंघमा चुनाव लागेको छ। आगामी नेतृत्वका लागि महासंघ चुनावमा होमिएको हो। महासंघको साधारणसभा यही साउन २६ र २७ गते हुँदैछ।

सोही साधारणसभाले नयाँ नेतृत्व चुन्नेछ। गत चैत २६ र २७ गतेको लागि तयारी गरिएको साधारणसभा कोरोना महामारीका कारण स्थगित भएको थियो।

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानमा उल्लेख छ। त्यसैले यही पदका लागि तीव्र प्रतिस्पर्धा हुने गर्छ। विरष्ठ उपाध्यक्षका लागि दुई वटा प्यानल चुनावी मैदानमा छ।

मंगलबार एकैदिन बिहान र बेलुका दुवै प्यानलले आफ्नो प्यानल घोषणा गरिसकेका छन्। बिहान हालका उपाध्यक्ष चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षका लागि उमेदवारी घोषणा गरे भने अर्का उपाध्यक्ष किशोर प्रधानले साँझ प्यानल घोषणा गरे।

ढकालको सम्पर्क कार्यालय बालुवाटारस्थित परेली ब्यांक्वेटमा छ भने प्रधानले ललितपुरको याक प्यालेसमा सम्पर्क कार्यालय राखेका छन्।

ढकालको प्यानलमा उपाध्यक्ष उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्ष रामचन्द्र संघई उमेदवार छन्। प्रधानले भने वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिको नाम अगाडि सारेको छ।

ढकालको उमेदवारी घोषणा कार्यक्रममा हालका अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष चण्डीराज ढकाल, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार लगायतको उपस्थिति थियो भने प्रधानको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशी थिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोल्छाले आफूलाई ६ महिनामा हटाउने योजना बनेको सुनेको बताए। कोरोना कालमा आफैँले निजी क्षेत्रको अध्यक्षको बागडोर संहाल्न लागेकोले आफूलाई बलियो टिमको आवश्यकता परेको उनले बताए। उनले आफू महासंघमा राजनीति गर्न नभई उद्योगी व्यवसायीको पीडालाई उचित सम्बोधन गर्न आएको दावी गरे ।

त्यस्तै ढकालले आयोजना गरेको कार्यक्रममा पूर्व अध्यक्ष चण्डीराज ढकालले हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले प्रधानको साथ दिएर राम्रो नगरेको बताउँदै जस्तो फल रोपेको हो, त्यस्तै बिरुवा पाउने टिप्पणी गरे। – नेपाल समय