मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैछिनको बाढीले खोस्यो जीवनभरको खुसी

एकैछिनको बाढीले खोस्यो जीवनभरको खुसी


फोटो क्याप्शन : अछामको रामारोसनको सैनी बजारमा आफन्त गुमाएकाहरु

अछाम : सरिता शाह अहिले टोलाई राख्छिन । उनलाई बुवाआमा र सबैभन्दा सानो भाई समिरको आवाज कानमा गुन्जीरहन्छ । अछाम जिल्लाको रामारोसन गाउपालिका वडा नम्बर ५ को सैनी बजारमा छिनभरमा आएको कैलाश खोलाको बाढीले उनका बुवा अमर शाह, आमा पवित्रा र सानो भाई समिरको ज्यान गएको छ ।

अमरको मात्रै शव पाईएको छ भने आमा पवित्रा र भाई समिरको शव अझै पाईएको छैन । ‘शव पाईएको छैन, कतै जिउदै छन की, भाई र मम्मी आई पो हाल्छन की भन्ने लाग्छ’ गहभरी आशु बनाउदै सरिताले भनिन ।

सरिता, बुवाआमा सहित ६ जनाको परिवारमा सैनी बजारमै बस्थिन । उनीहरुको सैनी बजार र अलि माथि सैनी गाउँमा गरी दुई घर बसाई थियो । सैनी बजारमा बुवाको होटल थियो । माथिको घर नजिक त्यो दिन तीजको नाचगान भईरहेको थियो ।

‘जेठो भाई बहिनी र मैलै गाउँमा तीज हेर्न जाने भन्यौं, मम्मीले न जा भनेको थियो, हामीहरु जिद्धी गरेर हजुर आमा मात्रै बस्दै आउनु भएको अलि माथिको अर्को घरमा गयौं र राती त्यही बस्यौं, तीजको गाउँमा तीजको नाचगान भईरहेका बेला सैनी बजार बगेछ’ सरिताले भनिन ।
सरिता, बहिनि अनिता र भाई भुपेन्द्र अब हजुरआमा कलुदेबीको सहारामा छन । ‘बुवाले बोलाए झैं लाग्छ, सानो भाईले कराए झैं लाग्छ, आमाले सरिता भनेर डाँको लगाए झैं लाग्छ’ गहभरी आशु बनाएर हजुर आमासँग बसिरहेकी सरिताले भनिन । ‘तीनै जना आई हाल्नुहुन्छ भनेर बाटो हेर्ने मन लागिरहन्छ ।’

सरिताको बुवाको होटल नजिकै फुपु लालसराको पनि पसल थियो । लालसरा र उनका छोरा बसन्त पनि कैलाश खोलाको बाढीमा बगे । लालसराको शव भेटियो तर बसन्त अझै बेपत्ता छन । ‘बुवा, आमा, भाई, फुपु र अर्को भाई (फुपुको छोरा) यत्तीका आफन्त सँग भदौ २ गतेपछि भेट भएको छैन, पत्याउनै सकिरहेको छैन’ सरिताले भनिन ।

सरिताका बुवा अम्मर सैनीबजारका होटल व्यवसाय गर्थे । सरिता, भाई भुपेन्द्र र समिर कैलालीको टीकापुर पढ्थे । बहिनी अनिता अछामकै गाउँको स्कुलमा पढ्थिन् । कोरोनाका कारण लकडाउन भएपछि टीकापुरमा भएका उनीहरु सबै अछाम आएका हुन ।

‘राती ११ बजे खोलामा ठुलै गड्याङ्ग गुडुङ्गको आवाज आयो, चिच्याहट सुनीयो, हामीहरु दौडेर सैनी बजार पुग्यौं । तर बजारको नाम निसाना नै थिएन’ सरिताले भनिन ।

रुबिना साउँद पनि कैलाश खोलाले बगाएर बगर बनाएको सैनीबजार हेरेर टोलाउछिन् । सैनिबजारमा अहिले कैलाश खोला बगिरहेको छ । त्यहि खोलालाई हेर्दै उनी आमा भनेर डाँको छोडेर रुने गर्छिन । घरमा दिनहु रुबिना भनेर नथाक्ने बुवाको आवाज नसुनेको हप्ता दिन भन्दा बढि भईसक्यो ।

त्यहि आवाज बगर बनेको सैनिबजारबाट आउछकी भन्ने रुबिनालाई आस लाग्छ । बाढीमा उनले बुवा नन्दु साउद, आमा गंगा, दाई रुपेश, भाई नबिन, भाउजु कबिता, दिदिकी छोरी प्राप्ती, मामाघरकी हजुरआमा बिमा देबी साउदलाई गुमाएकी छिन् ।

उनका दाजु रुपेश, नबिन र भाउजु कबिताको मात्र शव भेटिएर सतगत गरिस किएको छ । दाहसंस्कारमा पनि कसैले जान नदिएकाले उनलाई अझै पनि आफन्तहरुको ज्यान गएको भनेर विश्वास लाग्दैन ।

‘कसरी विश्वास गर्नु ? कतैबाट आएर रुबिना भन्छन ्की जस्तो लाग्छ’ उनले रुदै भनिन । रुबीनाको पनि सैनी बजार र अलि माथिको सैनी गाउँमा गरी दुई वटा बसाई छ । ब्यापारका लागि सैनी बजार र मुल घर अलि माथि गाउँमा हो । त्यो दिन रुबिनाको गाउँको घरमा पाहुना आएका थिए ।
बजारबाट बुवाले दिएको मासु लिएर रुबिना माथि गाउँको घर गईन । बाजे बज्यैलाई काममा सघाउने भन्दै त्यो दिन त्यहि बसेको उनले बताईन । ‘सधै बजारमै बस्थे, त्यो दिन मलाई बुवाले पाहुना आएका छन्, मासु लिएर जाउ भनेपछि म घर आए । राती डर लाग्दो पानी परिरहेको थियो । गाउँको घर माथी पहिरो जाने डर थियो । बुवाले पहिरोको डर छ तल आईहाल्नु भन्नु भएको थियो । तर राती नै यस्तो विपत आई लाग्यो’ रुविनाले भनिन ।

पाँचवर्ष पहिले बुवा गुमाएका सैनीका १४ वर्षिया हिमाल साउदको, कैलाशखोलाले आमाको खुसी पनि खोसी दियो । आर्थिक अवस्था कमजोर भएका हिमाललाई आमाले मजदुरी गरेर पढाई रहेकी थिईन । भदौ २ गते हिमालकी आमा सैनी बजारमा रहेको नन्द साउदको घरमा बसेकी थिईन् ।
‘दुई दाई छन् बिहे गरेर अलग्गै बस्न थालेको बर्षाै भईसक्यो, आमामा बजारमा मजदुरी गर्नुहुन्थ्यो, अरुको काम गरेर पढाई रहनु भएको थियो, दैबले त्यो पनि खोसेर लग्यो’ हिमालले भने ।

भदौ २ गते कैलाश खोलामा आएको अपत्यारिलो बाढीले सैनी बजार पुरै बगाएर बगर बनाएको छ भने त्यहाँका १ जना वेपत्ता भएका छन । ८ जनाको शव भेटिएपछि ९ जनाका कुनै अत्तोपत्तो छैन । सडक, बिद्युत, खानेपानी, पुल, सिचाई कुलो बगाएको छ ।

स्थानीय चक्र रावलका अनुसार रामारोशनको देउलडीमा पहिरो खसेर किनिमिनी पाटन भन्ने स्थानमा ताल बनेर यत्रो ठुलो अकल्पनीय बाढी आएको हो । किनिमिनि पाटन भन्ने स्थान कैलाश खोलाको मुहानको नजिक पर्छ । कैलाश खोलामा ससाना खहरे खोला मिसिन्छन ।

‘धनेसल्लाबाट पहिरो सुरु भयो, जसकारण कैलाख खोला थुनीयो, अझ रातभरीको पानीले आएका खहरे खोलाहरु पनि कैलाश खोलामा मिसिए, अनी त्यो ताल अचानक फुटेको देखिन्छ’ रावलले भने । ‘जसकारण पुरै बजार बगाएर पर्लय बनायो ।’

सुदूरपश्चिम प्रदेश सभाका अर्थ विकास तथा प्राकृतिक स्रोत समितीका सभापति तथा प्रदेश सभा सदस्य हर्क कुँवरले मानबिय क्षति सगै अरवौंको भौतिक क्षती भएको बताए । गृहमन्त्री रामबहादुर थापा, आपुर्ती मन्त्री लेखराज भट्ट, नेकपाका प्रदेश ईञ्चार्ज भीम रावल, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर रावल, प्रदेश सभाका अर्थ विकास तथा प्राकृतिक स्रोत समितीका सभापति तथा प्रदेश सभा सदस्य हर्क कुँवर लगायतले सैनी बजार क्षेत्रको स्थलगत अनुगमन पनि गरेका छन ।

८ जनाको मात्रै शव भेटियो, ९ अझै बेपत्ता

बाढीले सैनिबजारको नामनिशान मेटाईदिएको छ । बजारका २५ घर पसल बाढीले बगाएको छ । बाढीले वेपत्ता बनाएका १७ जना मध्ये ८ जनाको मात्रै शब फेला परेको छ । ९ जना अझै बेपत्ता छन् ।

जिल्ला प्रशासन कार्यालय अछामका अनुसार सैनिबजारका २९ वर्षिया सम्झना शाह, ३० वर्षिया गौरी शाह, १९ वर्षिया रुपेश साउद, १२ वर्षिया नबिन साउद, ४८ वर्षिया चन्द्र साउद, ४५ बर्षिया लालसरा शाही, ४५ वर्षिया अम्मर शाह, २२ वर्षिया कबिता साउदको शब फेला परेको छ ।

प्रशासनले ४५ बर्षिया नन्दु साउद, साउदकी पत्नी गंगा, नातिनी प्राप्ति, ४० वर्षिया पबित्रा शाह, ४ वर्षका समिर, ४५ बर्षिया बसुन्धरा साउद, ९ वर्षका बसन्त शाही, ५५ बर्षिया जोगा साउद र ७० वर्षिया बिमा साउदको अझै वेपत्ता रहेको जनाएको छ ।