मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूर पहाडका एक्ला सर्जन, जसले थुप्रै बिरामीको मन जिते

सुदूर पहाडका एक्ला सर्जन, जसले थुप्रै बिरामीको मन जिते


अछाम ।

२००९ मा काठमाडौँ विश्वबिधालय बाट एमबिबिएस सकेर २०१५ मा फिलिपिन्सबाट रेसिडेन्सी सकेका अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठक न्याय हेल्थ नेपालसंग आबद्ध छन् । सुदूर पहाडका अछाम सहित बाजुरा, डोटी, बझांग बैताडी तथा कर्णालीका दैलेख, कालिकोट, हुम्ला र मुगु सम्मका जिल्लाका जनतालाई बयालपटामा सेवा दिईरहेका डा. पाठकले २०१७ मा मलेसियाबाट अर्थोपेडिक अन्कोलोजीमा फेलोसिप समेत गरेका छन् । सुदूर पहाडका धेरै जिल्लामा स्वास्थ्यकर्मीको दरबन्दी बढी नै रिक्त रहेका बेला बिशेषज्ञ डाक्टर सधै बसिरहने कुरा त धेरै टाढा को बिषय हो । धेरै जसोले बस्न नरुचाएका बेला उनि एक्ला सजर्न हुन बिगत ५ बर्ष देखि अनवरत रुपमा दुर्गमा बिरामीको सेवामा क्रियाशिल छन् ।

उनि अछाममा मात्रै बिरामीको उपचार गर्दैनन् दोलखाका बिरामीको पनि उपचार गर्न भ्याउछन् । ६/६ महिना अछाम र दोलखा बसेर हार्डजोर्नीको सेवा दिने गरेका डाक्टर पाठक दुर्गम भएकै कारण अछाममा बढी समय बसेर सेवा दिने गरेका छन् । उनले यो अवधिमा थुप्रै बिरामीको निशुल्क सफल हार्डजोर्नीको सल्यक्रिया गरे ।

बोली स्वभावमा पनि मिजाशिला डाक्टर पाठक बिरामीलाई निको बनाएर मात्र घर पठाउछन् । उसो त न्याय हेल्थ नेपालद्धारा संचालित स्वास्थ्य संस्थामा सबै प्रकारका सेवा निशुल्क छन् तर पनि हार्डजोर्नीका लागि आवश्यक पर्ने छुट्टै उपकरणको सहज उपलब्धता छैन तर पनि डाक्टर पाठक आफै बिदेशी दातृ निकाय संग समन्वय गरेर भएपनि उपकरणको बन्दोबस्त गरी बिरामीलाई निशुल्क सेवा दिन्छन् ।

कहिलेकाँही त गरिब दुखी बिरामीलाई बाहिर जान नसक्ने परिस्थितीमा डाक्टर पाठकले उपलब्ध उपकरण नहुदाँ सापटी मागेर भएपनि उपचार गरेर बिरामीको मन जित्न सफल भएका छन् । बिरामी उपचार पाएर निको हुदैँ घर फर्केपछि अर्को जीवन पाएको अनुभुती गर्छन । एक सय बढीलाई उनले दोश्रो जीवन दिए जत्तिकै उपचार गर्न सफल भएका छन् ।

काठमाण्डौँ जस्तो शहरमा बसेका डाक्टर पाठकलाई दुर्गमका व्यवहारिक असुविधाले खास्सै फरक पारेन तर दुर्गममा बिरामीले सेवा नपाएको हेक्का भने मनमा सधैँ भईरहयो । बेला बेला सेवा नपाएर फर्किएका बिरामीलाई सम्झेर च्वास्स हुन्छन् उनि । नेपालमा शल्यक्रिया गर्ने डाक्टरको संख्या कम भएर पनि होला छिटफुट बाहेक सबै सर्जन सहर केन्द्रीत हुन्छन । डा पाठक भने सुदुरपश्चिमका बिरामीलाई सेवा दिँदै आएका छन् । उनी कर्णालीका केहि जिल्ला तथा सुदुर पहाडका बिरामीलाई हार्डजोनीको सेवा लामो समय सम्म दिने एक मात्र सर्जन हुन् ।

काठमाडौं जस्ता ठुलठुला शहरहरुमा बिरामीहरूका लागि विकल्पहरू धेरै छन् उनी भन्छन् मैले रेसिडेन्सी प्रशिक्षण पूरा गरिसकेपछि, म त्यस्तो ठाउँमा काम गर्न चाहन्थें जहाँ म आफ्नो सीपको प्रयोग गर्न सकु र अझ राम्रो प्रभाव बिरामी सामु छोड्न सकु । नेपालका अर्थोपेडिक सर्जन डा भास्करसँग सम्पर्कमा रहेकाले आफुलाई बायलपाटा अस्पताल र यसले नेपालको ग्रामीण ठाउँमा गरेको स्वास्थ्य सेवा लगायत राम्रो कामको जान्ने अवसर मिले संगै संयोगवश यसै संस्थासंग आबद्ध हुने अवसर मिल्यो ।

यति बिरामीको शल्यक्रिया गरे भन्ने एकिन संख्या त छैन उनि भन्छन् राम्रो सेवा दिनको लागि यथासक्य प्रयास गरिरहेका छौ । अछाममा दोलखा भन्दा शल्यक्रियाको संख्या बढी छ । यहाँ हरेक महिना करीव ८० देखी १२० ठूला शल्यक्रियाहरू हुन्छन् भने दोलखामा २० देखी ३० शल्यक्रिया हुन्छन् डा. पाठक भन्छन् हाम्रो दुबै अस्पतालमा ट्रमा सर्जरीको ठूलो आवश्यकता छ तर अछाम नजिक कुनै ठूलो अस्पताल छैन् यहाँ बिरामी संख्या बढी नै छ, त्यसकारण अछामका लागि हार्डजोर्नीको सेवा अपरिहार्य जस्तै छ ।

उनलाई सम्झना छ सुरुवातकै दिनमा एक महिलाको मिलमा चामल पिस्दा हात एकदम नराम्रो संग खुल्ला फ्रैक्चर भएको थियो । जसको आपतकालिन शल्यक्रिया गर्नुपर्ने अवस्था थियो । जब उनि शल्यक्रियाको लागि गए ति महिला १ बर्षको बच्चालाई दुध खुवाइरहेकी थिईन । आफ्नो पिडामा पनि उनले बच्चा प्रति देखाएको माया देखेर डाक्टर पाठकको मन छोयो । अछाम जस्तो ठाँउमा मानिसहरूले (अझ महिलाले) सामना गरिरहेका कठिनाईहरू महसुस गरें उनि भन्छन् यदि हामी नभएको भए उनले अर्को अर्थोपेडिक सर्जनलाई भेट्न मात्र १० देखि १२ घण्टा सम्म यात्रा गर्नु पर्ने हुन्थ्यो र लाखाँै खर्च गर्नु पर्थ्यो होला ।

मेरुदण्डको समस्या लिएर आएका बिरामीलाई साधन श्रोत भएको भए सजिलै उपचार गर्न सकिन्थ्यो होलन तर सेवा दिन नसकी बाहिर पठाउन बाध्य हुदाँ दुख महसुस हुन्छ उनि भन्छन । यस्ता खालका बिरामीको उपचारका लागि स्थानीय देखी प्रदेश सरकारले आर्थोपेडिक सर्जरीलाई बढुवा दिनुपर्छ उनि भन्छन् भौगोलिक आधारमा रणनैतिक कार्ययोजना बनाई अस्पतालहरुको पहिचान गरी ट्रमाको सेवा दिने खालको बातावरण तयार पार्नुपर्दछ ।

शहरहरुमा निजि अस्पताल त छन् तर गरिबी आर्थिक अवस्था कम्जोर भएकाहरुका लागि सरकारी वा सार्वजनिक अस्पताल तथा सुदूरपश्चिम प्रदेशमा दिर्घकालिन रुपमा ट्रमाका अस्पताल आवश्यक रहेको उनको बुझाई छ । बयालपाटा अस्पतलालाई यस प्रदेशको भरपर्दो ट्रमा तथा अर्थोपेडिकको केन्द्रका रुपमा स्थापित गर्ने चाहाना उनिमा छ । डाक्टर पाठक भन्छन् गेटा वा कर्णाली स्वास्थ्य विज्ञान प्रष्ष्ठिानसंग समन्वय गरेर २४ घण्टै अर्थोपेडिक सेवा बनाउने मन छ ।

यस क्षेत्रका जनता, समाजसेवी, राजनितिक दल तथा सरकारहरुको सहयोग रहे बयालपाटामा अर्थोपेडिक संगै स्पाईन सर्जरी, स्पोर्ट सर्जरी तथा बालशल्यक्रियाहरु पनि संचालन गर्नु सकिन्छ । शल्यक्रियाको सेवा सुलभ, उत्तरदायी, भरपर्दो र प्रभावकारी तथा दिर्घकालिन बनाउन अन्तराष्ट्रिय संघसंस्था संग मिलेर भएपनि बयालपाटालाई ट्रमाको अनुसन्धान केन्द्रका रुपमा बिकसित गर्नु पर्छ भन्ने उनको धारणा छ ।

प्रस्तुती : पूर्ण बहादुर खड्का