मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को हुन् चार्ली च्याप्लिन ? (यस्ता छन् १० रोचक तथ्य)

को हुन् चार्ली च्याप्लिन ? (यस्ता छन् १० रोचक तथ्य)


काठमाडौं । सर चार्ल्स स्पेन्सर च्याप्लिन अर्थात् चार्ली च्याप्लिन विश्वले चिन्ने हास्यकलाकार, चलचित्र निर्माता तथा कम्पोजर हुन् । उनी संसारसामु साइलेन्ट फिल्म (संवादबिनाको चलचित्र) मा अभिनयका कारण प्रसिद्ध छन् ।

बालबालिकादेखि वृद्धसम्म सबैले उनको अभिनय रुचाउँछन्, घण्टौंसम्म उनको अभिनय हेरेर हाँस्छन् । उनको समयमा च्याप्लिन यति प्रसिद्ध थिए कि कुनै समय च्याप्लिनजस्तो देखिने प्रतियोगिता नै हुन्थ्यो जहाँ कलाकार उनीजस्तै भएर प्रतिस्पर्धामा उत्रिन्थे । प्रतियोगितामा जो सबैभन्दा बढी च्याप्लिनजस्तो देखिन्थ्यो, उसैले प्रतियोगिता जित्थ्यो ।

एकपल्ट सो प्रतिस्पर्धामा आफैं भाग लिन पुगेका च्याप्लिन तेस्रो बनेका थिए । अहिले, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अदालत चार्ली च्याप्लिनजस्तो देखिने प्रतियोगिताको निर्णायकजस्तो नभएको भनेपछि चार्ली सबैको मुखमा झुन्डिएका छन् । ओलीले भनेका थिए, “प्रतियोगितामा चार्ली नचिनिए पनि नेपालको अदालतले वास्तविक व्यक्ति को हो भनेर चिन्छ । जुँगा हेरेर चिन्छ, कुम हल्लाएकोबाटै चिन्छ, जेल लगाएको कपाल हेरेर चिन्छ ।”

को हुन् ओलीले भनेका च्याप्लिन ?
चार्ल्स स्पेन्सर च्यापलिन उर्फ चार्ली च्याप्लिनको जन्म सन् १८८९ अप्रिलमा लन्डनमा भएको थियो । चार्लीको जन्म एक कलाकार दम्पत्तीका छोराका रुपमा भएको थियो । उनका बुबा एक गायक तथा अभिनेता थिए । मञ्चमा लिली हार्लीको नामबाट परिचित उनकी आमा पनि अभिनेत्री तथा गायिका थिइन् ।

युवापुस्ता माझ उनी एक कमेडियनका रुपमा परिचित छन् । स्ल्यापस्टिक कमेडी र साइलेन्ट फिल्म सुपरस्टारका रुपमा चार्लीलाई साइलेन्ट फिल्ममा दिएको योगदानका लागि सम्झिन्छन् । १० वर्ष नपुग्दै बुबाको निधन र त्यसपछि आमा अस्वस्थ बनेपछि जिन्दगीमा कसरी अघि बढ्ने भन्ने जिम्मेवारी चार्ली र उनका सौतेनी भाइलाई सिड्नीमा आइपरेको थियो ।

चार्लीका दाजुभाइले करियरमा राम्रो अवसरका रुपमा मञ्च नै छाने । चार्लीले ‘द एट लेनक्यासियर ल्याड्स’ नामक किशोर समूहको सदस्यका रुपमा आफ्नो व्यावसायिक यात्रा डेब्यु गरे र कम समयमै ‘ट्याप डान्सर’ का रुपमा लोकप्रिय बने ।

करियरको सुरुवात…
चार्लीले १२ वर्षको उमेरमा पहिलोपटक ‘लेजिटिमेट स्टेज सो’ मा अभिनय गर्ने मौका पाए । उनी पहिलोपटक ‘बिल्ली’ का रुपमा त्यस रंगमञ्चमा देखापरेका थिए । पछि ‘सेरलक होल्म्स्’ को विभिन्न प्रोडक्सनमा देखा पर्न थाले ।

उनीहरूसँगको सहकार्यका क्रममा चार्लीले थियटर जानरा ‘भाउडेभिल’मा हास्यकलाकारका रुपमा आफ्नो करियर सुरु गरे । जसका माध्यमबाट सन् १९१० उनलाई फ्रेड कार्नो रिपरटोरी कम्पनीले फिचर्ड कलाकारको रुपमा संयुक्त राज्य अमेरिका लगेको थियो ।

चार्ली छिटै अमेरिकी दर्शकमाझ हिट बने, विशेषगरी ‘अ नाइट इन एन इंग्लिस म्युजिक हल’ नामक स्केचमा उनले निभाएको चरित्र अमेरिकी दर्शकबीच चर्चित बन्यो । दुई वर्षपछि अर्थात् सन् १९१२ मा फ्रेड कार्नो कम्पनी दोस्रोपटक अमेरिका टुरमा गएका बेला च्याप्लिनलाई मोसन पिक्चर कन्ट्रयाक्टका लागि प्रस्ताव गरियो ।

नोभेम्बर १९१३ मा भाउडेभिलसँगको ३ वर्षीय प्रतिबद्धता सकिएसँगै चार्ली अन्ततः क्यामेरासामु आए । र, उनको सिनेमाजगत्‌मा प्रवेश म्याक सेनेट र किस्टोन फिल्म कम्पनीसँग जोडिएसँगै भयो ।सिनेजगत्‌मा उनको प्रारम्भिक पारिश्रमिक साताको १५० डलर थियो । तर पर्दामा उनले प्राप्त गरेको रातरात सफलताले अन्य थुप्रै निर्माताले उनको पारिश्रमिक बढाउन थाले । उनलाई अफरैअफर आउन थाल्यो ।

लोकप्रियताका कारण चार्ली कहिल्यै बेरोजगार बस्नु परेन । सेनेटसँगको करारको समाप्तिसँगै चार्ली इसेने कम्पनी (१९१५) सँग जोडिए । त्यससमय चार्लीका भाइ सिड्नी इङ्ल्यान्डबाट अमेरिका आइपुगेका थिए । किस्टोनले चार्लीको स्थानमा सिड्नीलाई राखे, सिड्नी पनि अग्रणी हास्य कलाकारको रुपमा उदाए ।

समयसँगै चार्लीको लोकप्रियता र माग झनै बढ्न थाल्यो । फलस्वरुप चार्लीले ठूलो रकममा १२ वटा टु-रिल कमेडिजका लागि म्युचुअल फिल्म कर्पोरेसनसँग आबद्ध भए । द फ्लोरवाल्कर, द फायरम्यान, द भेगाबोन्ड, वान ए एम, द काउन्ट, बिहाइन्ड द सिनलगायत प्रोजेक्टहरू उनी सामेल थिए ।

स्वतन्त्र निर्माताको यात्रा…
सन् १९१७ मा म्युच्युअल कम्पनीसँगको सहकार्य सकिएलगतै च्याप्लिनले स्वतन्त्र निर्माताको रुपमा अघि बढ्ने निर्णय लिए । यसबाट उनी आफ्नो चलचित्र निर्माण स्वन्त्रताका साथ र अझै फुर्सदमा गर्न चाहन्थे ।

यही स्वतन्त्रताको चाहनाका साथ उनी आफ्नै स्टुडियो निर्माणमा व्यस्त हुन थाले । उनको स्टुडियो हलिउडको ला ब्रेया एभिन्युमा थियो । सन् १९१८ को सुरुवातसँगै च्याप्लिनले पहिलो राष्ट्रिय प्रदर्शक सर्किटसँग सम्झौता गरे । यो नयाँ संस्था विशेषगरी चार्लीको फोटो प्रदर्शन गर्नका लागि नै गठन भएको थियो ।

नयाँ सम्झौताअन्तर्गत उनको निर्माणमा बनेको पहिलो चलचित्र ‘अ डग्स लाइफ’ थियो । यो पहिलो चलचित्रको निर्माण पछि, उनको ध्यान युद्धको प्रयासको पक्षमा राष्ट्रिय भ्रमण गर्नेतर्फ मोडियो । सोही भ्रमणका आधारमा उनले अमेरिकी सरकारको लिबर्टी लोन ड्राइभलाई लिएर चलचित्र ‘द बोन्ड’ निर्माण गरे ।

उनको अर्को भेन्चर (निर्माण) का रुपमा युद्ध र हास्यास्पद विधालाई जाडेर ‘सोल्डर आर्म्स’ निर्माण गरे । सन् १९१८ मा रिलिज भएको यस चलचित्र बक्स अफिसमा अति नै रमाइलो फिल्मका रुपमा प्रमाणित भयो । यसले च्याप्लिनको लोकप्रियतामा थप इँटा थप्यो ।

चलचित्र ‘सोल्डर आर्म्स’ पछि नै उनको ‘सन्निसाइड’ र ‘अ डेज प्लेजर’ पनि १९१९ मा रिलिज भए । सोही वर्षको अप्रिलमा च्याप्लिनले म्यारी पिकफर्ड, डगलस फेयरबांकस र डी डब्लू ग्रिफिथसँग सहकार्य गर्दै युनाइटेड आर्टिस्ट कर्पोरेसनको निर्माण गरे ।

च्याप्लिनका उत्कृष्ट (मास्टरपिस) फिचरहरू
अ वुमन अफ पेरिस (१९२३), द गोल्ड रस (१९२५), द सर्कस (१९२८), सिटी लाइट्स (१९३१), मोर्डन टाइम्स (१९३६), द ग्रेट डिक्टेटर (१९४०), मोन्सियर भर्डक्स (१९४७), लाइमलाइट (१९५२), अ किङ इन न्यु योर्क (१९५७), अ काउन्टेस फ्रम हङकङ र लास्ट इयर्स रहेका छन् ।

सन् १९७७ डिसेम्बर २५ मा संसारबाट बिदा लिएका चार्लीको प्रतिभाजस्तै परिचय पनि बहुआयामिक छ । उनलाई एक ब्रिटिस कमेडियन, निर्माता, लेखक, निर्देशक र कम्पोजरका रुपमा चिनिन्छ । यीभन्दा पनि चार्लीलाई विशेषगरी पर्दाका महान् हास्य कलाकार र मोसन-पिक्चर (चलचित्र) इतिहासको सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्वमध्ये एकका रुपमा लिइन्छ ।

ज्यानभन्दा सानो कालो कोट, ठूलो साइजको पाइन्ट, फ्लप्पी जुत्ता, सानो ह्‍याट, नाकमुनि झुस्स परेको जुँगा र हातमा एउटा लठ्ठी नै चार्ली च्याप्लिनको परिचय हो । चलचित्रको पर्दामा चार्लीले ट्र्याम्प (केही काम नगरी यताउता डुलिराख्ने काम नभएको फिरन्ते) को मात्रै भूमिका निभाएनन्, कहिले वेटर, स्टोर क्लर्क, स्टेजह्‍यान्ड, फायर म्यानलगायत भूमिकामा पनि प्रस्तुत भए ।

उनको चरित्रलाई भद्र समाजबाट टाढिएको, प्रेममा असफल, ‘ज्याक-अफ-अल, मास्टर-अफ-नन’ का रुपमा पनि वर्णन गर्ने गरिन्छ । उनका ३५ किस्टोन कमेडीलाई ट्र्याम्पको सुरुको अवस्था मान्न सकिन्छ, जुन समयमा क्यारिकेचर एक क्यारेक्टरका रुपमा परिणत भयो ।

चार्ली च्याप्लिनबारे १० रोचक तथ्यहरू :

१) चार्ली च्याप्लिनजस्तो देखिने प्रतियोगिता जित्न असफल
सन् १९१५ मा च्याप्लिनले चार्ली च्याप्लिन लुक-अ-लाइक (चार्ली च्याप्लिनजस्तै देखिने) प्रतियोगितामा भाग लिएका थिए । अविश्वसनीय रुपमा उनलाई प्रतियोगिताका निर्णायक र दर्शकले चिन्न सकेनन् । चार्ली स्वयं त्यस प्रतियोगितामा तेस्रो बने ।

२) बाल्यकालमै करियरको सुरुवात
चार्लीले ५ वर्षको उमेरमै अस्वस्थ आमाको कामको जिम्मेवारी लिएर म्युजिक हल सोमा सैनिकको भिडमा पहिलो गीत ‘ज्याक जोन्स’ गाए । १२ वर्षको उमेरमा उनी ‘बिल्ली द पेज बोय’ भूमिकामा देखा परे ।

३) टाइम म्यागजिनमा देखापर्ने पहिलो अभिनेता
च्याप्लिन टाइम म्यागजिनमा फिर्चड हुने प्रथम अभिनेता हुन् । उनी सन् १९२५ जुलाई ६ को अंकमा देखापरेका थिए । प्रभावशाली र विवादास्पद कुराहरूका लागि परिचित यो म्यागजिनमा फिचर्ड हुन पाउनु उनको सफलता थियो ।

४) संगीतकार र रचनाकार पनि थिए चार्ली
संगीत कहिले नसिकेका उनले आफ्ना धेरै चलचित्रमा आफैंले संगीत रचना गरेका छन् । सन् १९७२ मा उनले चलचित्र ‘लाइमलाइट’ (१९५२) मा भरेको संगीतका लागि ओस्कर अवार्ड जिते ।

५) चार्ली अमेरिकाका राष्ट्रपतिभन्दा धनी भए
सन् १९१६ मा च्याप्लिनले न्यु योर्कको म्युचुअल फिल्म कर्पोरेसनसँग सम्झौता गरेपछि उनको तलब बढेर ६ लाख ७० हजार डलर भयो । त्यस समय संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको तलब प्रतिवर्ष ७५ हजार थियो ।

६) चार्लीले टल्किजलाई इन्कार गरे
साइलेन्ट सिनेमाका प्रतिष्ठित प्रतिनिधिमध्ये एक चार्लीले चलचित्रजगत्‌मा ध्वनि प्रविधिको लोकप्रियता बढे पनि लामो समयसम्म अडियो र संवादलाई अपनाउन इन्कार गरे ।

७) कहिल्यै अमेरिकी नागरिक बनेनन् चार्ली
अमेरिकामा ४० वर्ष बसे पनि उनी कहिल्यै अमेरिकाको नागरिक बनेनन् । मोर्डन टाइम्स नाम चलचित्रपछि च्याप्लिनले कम्युनिस्ट सिम्पाथाइजरको ख्याति कमाए । सन् १९५२ मा अमेरिकी सरकारले च्याप्लिनलाई पुनः अमेरिका फर्कन नपाउने भनेपछि उनले बाँकी जिन्दगी स्विट्जरल्यान्डमा बिताए ।

८) उनको आँखा नीलो थियो
दर्शकहरू चार्लीको आँखा खैरो भनेर सोच्थे । ब्लाक एन्ड ह्‌वाइट युग भएका कारण पनि दर्शकले चार्लीको सुन्दर नीलो आँखा हेर्न पाएनन् ।

९) अल्बर्ट आइन्स्टाइनसँगको चिनाजानी
सन् १९३१ मा लस एन्जलसमा प्रिमियर भएको चार्ली च्याप्लिनको चलचित्र सिटी लाइट्समा अल्बर्ट आइन्स्टाइन अतिथि पाहुना थिए ।

१०) चार्लीको नाममा एस्टेरोइड (क्षुद्रग्रह)
चार्ली च्याप्लिनको निधनको चार वर्षपछि १९८१ अक्टोबर ४ मा ल्युडमिला कराचीकिना नामक वैज्ञानिकले मेन-बेल्ट नामक एस्टेरोइडको पत्ता लगाए । उनले त्यो ग्रहको नाम ३६२३ च्याप्लिनको नाम दिइन् । (एजेन्सीहरूको सहयोगमा)