मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुखसहित सांसदको पीसीआर परीक्षण आज

सभामुखसहित सांसदको पीसीआर परीक्षण आज


काठमाडौ – बैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज संघीय संसद सचिवालयले कोभिड १९ को पीसीआर परीक्षण गराउने भएको छ। 

सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको पहिलो दिन परीक्षण हुने छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पिसिआर परीक्षण बिहीबार हुने छ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि अपराह्न ५ बजेसम्म पिसिआर परीक्षण हुने सचिवालयले सूचनामार्फत जानकारी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि राष्ट्रपतिले बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेकी छन्। 

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा १ अनुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेमा विश्वासको मत लिन सक्ने व्यवस्था रहेको छ। 

नियमित अधिवेशनको समयमा विश्वासको मत नलिएर विशेष अधिवेशन आह्वान गर्दै विश्वासको मत लिन लागिएको भन्दै अन्य दलहरुले प्रधानमन्त्रीको कदममा शंका व्यक्त गरेका छन्।