मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महामारीसँग भिड्दै सुरक्षाकर्मी र सञ्चारकर्मी, १४ को मृत्यु

महामारीसँग भिड्दै सुरक्षाकर्मी र सञ्चारकर्मी, १४ को मृत्यु


काेराेनाबाट संक्रमित भएकाहरुकाे अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा खटिएका सुरक्षाकर्मी। तस्बिर : दिनेश श्रेष्ठ

काठमाडौं – कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्ति (फ्रन्ट लाइन) मा खटिएका सुरक्षाकर्मी र सञ्चारकर्मी उच्च जोखिममा छन्। कोरोनाको दोस्रो लहर फैलिएसँगै संक्रमित सुरक्षाकर्मीको संख्या ७ सय ८९ पुगेको छ। तीमध्ये ६ जनाले ज्यान गुमाएका छन्। यस्तै ६ सय ५० पत्रकार संक्रमित भएका छन् भने ८ जनाको निधन भएको छ।

दोस्रो लहर सुरु भएपछि नेपाल प्रहरीका चार सयभन्दा धेरै संक्रमित भएका छन्। प्रहरी प्रवक्ता वसन्त कुँवरले कति प्रहरी संक्रमित भए भन्ने विषयमा भन्न नमिल्ने बताए। उनले भने, ‘फ्रन्टलाइनमा कार्यरत प्रहरीको मनोबल कमजोर हुने भएकाले हामी यो सूचना उपलब्ध गराउँन असमर्थ छौं।’ 

कोरोनाबाट काठमाडौं उपत्यकामा ४२ जना ट्राफिक प्रहरी संक्रमित भएका छन्। तीमध्ये ३६ जना उपचारत छन् भने ४ जना संक्रमणमुक्त भएका छन्। संक्रिय संक्रमितमध्ये २३ जना होम आइसोलेसनमा र ९ जना अस्पतालमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

नेपाली सेनाका दुई कर्मचारीको मृत्यु भएको छ। वैशाख १९ गते एक र वैशाख २६ गते एक जना सेनाको मृत्यु भएको हो। वैशाख १ गतेदेखि २६ गतेसम्ममा कोरोनाबाट सेनाका २ सय १३ जना कर्मचारी संक्रमित भएको प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए। सक्रिय संक्रमितमध्ये १ सय २३ जना विभिन्न आसोलेसन सेन्टरमा उपचाररत छन्। बाँकीको वीरेन्द्र छाउनी अस्पतालमा उपचार भइरहेको  प्रवक्ता पौडेलले जानकारी दिए।

सशस्त्र प्रहरीमा दोस्रो लहरको कोरोना फैलिएसँगै १ सय ७६ जना संक्रमित भएका छन्। जसमध्ये ३५ जना विभिन्न अस्पतालमा उपचाररत रहेको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिए। अहिलेसम्म कोरोनाबाट सशस्त्रका २ हजार २ सय ७३ जना संक्रमित भएका छन् भने चार जनाको मृत्यु भएको छ। 

यस्तै फ्रन्ट लाइनमा काम गर्दै आएका ६ सय ५० जना पत्रकार कोरोना संक्रमित भएका छन्। दोस्रो लहर फैलिएसँगै संक्रमितमध्ये ३ सय ९८ जना कोरोनामुक्त भएका छन् भने २ सय ५२ जना होम आइसोलेसन र अस्पतालमा छन्। 

नेपाल पत्रकार महासंघका अनुसार संक्रिय संक्रमितमध्ये प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३०, सुदूरपश्चिममा ३०, उपत्यका, प्रतिष्ठान र एसोसिएटमा १ सय १७ छन्। संक्रमतिमध्ये ३२ जना पत्रकार अस्पतालमा उपचारत छन्। अहिलेसम्म कोरोनाबाट ८ जना पत्रकारको ज्यान गएको छ। पत्रकार संक्रमित हुने दर वृद्धि भएसँगै महासंघले केन्द्रीय कार्यालयमा  ५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ।