मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पहिरोले ठप्प भएका १६ ठाउँका सडक खुलाउन समस्या

बाढी पहिरोले ठप्प भएका १६ ठाउँका सडक खुलाउन समस्या


काठमाण्डौ ( बाढी पहिरोले ठप्प भएकामध्ये १६ ठाउँका सडक खुलाउन समस्या भएको छ । सडक खुलाउने प्रयास भइरहे पनि पहिरो पहिरो पन्छाउन कठिनाइ भएका कारण सडक कहिले खुल्छ भन्ने निश्चित नभएको सडक विभागले जनाएको छ । सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् ।

डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ । डुम्रे बेसीसहर–चामे सडक खण्डको मनाङमा पर्ने तिमाङ छहरा, तिमाङखोला, धारापानी र बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे र घट्टेखोला सडक बन्द छन् । त्यस्तै, साँफेबगर–मार्तडी–कोल्टी सडक खण्डअन्तर्गत बाजुराको बार्जुगाड र हड्डे खोला, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारी, रसुवाको त्रिशूली खोला, मुगुको घच्चीलेक, कालीकोटको भिग्म सडक, सुर्खेतको भेरी करिडोर सडक खुलाउन समस्या छ ।

सडक खुलाउने प्रयास भने भइरहेको विभागले जनाएको छ । विभागकाअनुसार बाढी पहिरोका कारण ५२ ठाउँमा सडक बन्द रहेकोमा ११ ठाउँमा दुईतर्फी र २५ ठाउँमा एकतर्फी खुलाइएको छ । १६ ठाउँमा अझै बन्द छ ।

मनसुन सुरु नहुँदै सडक विभागले बाढी पहिरोले सडक बन्द भइहाले तत्काल खुलाउने गरी तयारी भइरहेको जनाएको थियो । विभागका अनुसार बन्द सडक खुलाउन देशका विभिन्न एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखिएको छ ।