मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धमाधम छाइँदै गाेरखा दरबारकाे छाना

धमाधम छाइँदै गाेरखा दरबारकाे छाना


गोरखा – गोरखा दरबार पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दरबार पुनर्निर्माणको क्रममा अन्तिम छानाछाउने काम सुरु भएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताए ।

यही असार ४ गतेदेखि छाना छाउने काम सुरु भएको र अबको १५ दिनमा सक्ने लक्ष्य रहेको उहाँले जानकारी दिए । छानामा झिँगटी छाउनका लागि काठमाण्डौबाट आएका दक्ष कालिगडसहित १५ जनाभन्दा बढी कामदार खटिएका छन् ।

छाना छाउने कामसँगै तेस्रो तलाको बरन्डामा आँखीझ्याल राख्ने काम पनि सँगसँगै चलिरहेको छ । यी काम सकिएपछि दरबारको बाहिरी स्वरूपको सबै काम पूरा हुने भुषालले बताए । त्यसपछि भित्री काम गर्ने तयारी छ । 

‘दरबारको भुइँको पूर्व, उत्तर र दक्षिणको भागमा पेटी बनाउने, हरेक तलाको भुइँमा तेलिया इँटा लगाउने र गारोमा सुर्की, चुनाको लेप लगाउने काम बाँकी रहन्छ’, उनले भने, ‘वर्षाका कारण गारा चिसो भएकाले सुर्की र चुनाको काम भने असोजतिर मात्रै गर्न सकिने प्राविधिकहरूले बताए ।’ 

दरबारको सबै तलाका झ्याल–ढोकामा खापा हाल्ने र कोठा विभाजन गर्ने काम पनि बाँकी छ । अहिलेसम्म दरबार पुनर्निर्माणको झन्डै ८५ प्रतिशत काम सकिएको हेरचाह अड्डाका प्रमुख भुषालले बताए । 

२०७२ साल वैशाख १२ गतेको भूकम्पले गोरखा दरबारमा पनि क्षति पुर्‍याएकाे थियो । पुनर्निर्माणका लागि २०७४ सालको कात्तिकमा पचली भैरव/सिभाको जेभी नामको ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । पुनर्निर्माणका लागि ठेकेदार कम्पनीसँग चार करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भए पनि भेरिएशनपछिको लागत चार करोड ९५ लाख रुपैयाँ पुगेको छ । 

ठेक्का सम्झौताअनुसार गएको मङ्सिरमै पुनर्निमार्णको काम सकिनुपर्ने भए पनि काम पूरा हुने सकेन । त्यसयता ६–६ महिना गरेर दुई पटक म्यान थप भइसकेको छ । गएको मङ्सिरमा दोस्रो पटकको म्याद सकिएको हो ।

ठेकेदार कम्पनीले माग गरेअनुसार फेरि ६ महिनाको म्याद थपेर गएको जेठमा काम सम्पन्न गर्न भनिएको थियो । सार्वजनिक खरिद ऐनअनुसार गएको पुसबाट भने ठेकेदार कम्पनीलाई दैनिक जरिबाना लगाएर काम गराइएको पुरातत्त्व विभागका प्राविधिक नारायण बोहोराले बताए । तस्बिर : उज्यालाे