मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड प्रतिकार्यका लागि देशभर १०७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त हुँदै, तलब-भत्ता ५७ हजार

कोभिड प्रतिकार्यका लागि देशभर १०७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त हुँदै, तलब-भत्ता ५७ हजार


काठमाडौं– सरकारले देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ प्रतिकार्यका लागि भन्दै स्थानीय तहमा १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त गर्न कार्यविधि नै ल्याएको छ। 

यसअघि ल्याइएको कार्यविधिमा संशोधन गर्दै सरकारले कोभिड-१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धि संक्षिप्त कार्यविधि (पहिलो संशोधन) २०७८ ल्याएको हो। सोही कार्यविधि अनुसार कोभिड-१९ प्रतिकार्यका लागि खटिने जनस्वास्थ्य निरीक्षकको कार्य जिम्मेवारी समेत तोकिएको छ।

कार्यविधि अनुसार काठमाडौँ महानगरपालिकामा ७, अन्य महानगरपालिकामा ५ जना, उप महानगरपालिकामा ३ जना, नगरपालिकामा २ जना र गाँउपालिकामा १ जनाका दरले सबै स्थानीयत तहमा गरी १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त हुनेछन्।

जनस्वास्थ्य निरीक्षकका लागि न्युनतम योग्यता भनेको जनस्वास्थ्य विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्दछ। कार्यविधि अनुसार उनीहरुलाई एक वर्षे करारमा नियुक्त गर्न लागिएको हो। 

जनस्वास्थ्य निरीक्षकको तलब सुविधा अधिकृत सातौं तहको बराबर हुनेछ भने ६ महिनाका लागि ५० प्रतिशत थप जोखिम भत्त समेत उपलब्ध हुनेछ। अहिले सातौं तहको अधिकृत स्तरको तलव ३७ हजार ८७० रुपैयाँ छ भने ५० प्रतिशत जोखिम भत्ता १८ हजार ९३५ रुपैयाँ समेत गरी कुल ५६ हजार ८०५ रुपैयाँ हुन आउँछ।

कार्यविधि अनुसार हाल बहालमा रहेका स्थायी कर्मचारी फाजिलमा रहेकालाई जनस्वास्थ्य निरीक्षकका रुपमा खटाउँदा पनि सोही अनुसारको सेवा सुविधा पाउने छन्।

सरकारले कोभिड–१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन गर्ने भन्दै असार १४ गते कार्यविधि स्वीकृत गरेको थियो। तर कार्यविधि कार्यान्वयनमा आउन सकेको थिएन। अहिले संशोधन गरेर कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको हो।