मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेटिङमा ठेक्का पार्न अस्पताल भवन निर्माणको बोलपत्र आह्वान गरेको आरोप

सेटिङमा ठेक्का पार्न अस्पताल भवन निर्माणको बोलपत्र आह्वान गरेको आरोप


अछाम : अछामका दुई वटा गाउँपालिकाले सेटिङमा ठेक्का पार्न अस्पताल भवन निर्माणको बोलपत्र आह्वान गरेको आरोप लागेको छ।

रामारोशन र मेल्लेख गाउँपालिकाले सेटिङमा ठेक्का पार्न अनावश्यक शर्त राखेर बोलपत्र आह्वान गरेको निर्माण व्यवसायीहरूले आरोप लगाएका हुन्। दुवै गाउँपालिका अध्यक्षले काठमाडौंका तीनवटा निर्माण कम्पनीसँगको मिलेमतोमा प्रतिठेक्का पाँच प्रतिशतले हुन आउँने रकम कमिसन लिने र उनीहरूले नै पाउने गरी बोलपत्रमा शर्त राखिएको आरोप पनि निर्माण व्यवसायीको छ।

दुवै ठेक्का गरी ४० करोडभन्दा बढी बजेट छ। कमिसन लिएर सीमित कम्पनीलाई ठेक्का पर्ने गरी बोलपत्र आह्वान गरेको भन्दै निर्माण व्यवसायीहरूले बोलपत्र सच्याउन मागसमेत गरेका छन्।

दुवै गाउँपालिका अध्यक्षहरूलाई निर्माण व्यवसायी संघ अछाम र सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले बोलपत्र संशोधनको माग गर्दै सम्बन्धित पालिकाको ध्यानाकर्षणसमेत गराएका छन्।

उनीहरूले आवश्यक छानबिन गरी बोलपत्र खरिद प्रक्रियालाई स्वच्छ, पारदर्शी तथा प्रतिष्पर्धात्मक बनाउनका लागि निर्देशन दिन प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका छन्।

यस्तै मिलेमतोमा बोलपत्र आह्वान गर्नेमाथि आवश्यक अनुसन्धान तथा कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाईसमेत निवेदन दिएका छन्।

१५ शैयाको अस्पताल निर्माणका लागि दुवै गाउँपालिकाले आह्वान गरेको विद्युतीय बोलपत्रमा राखिएका शर्तहरू सीमित निर्माण कम्पनीको मिलेमतोमा राखिएको दाबी उनीहरूको छ।

मेल्लेखले पहाडी क्षेत्रमा १२ करोड ६५ लाख बढीका दुई अस्पताल निर्माण गरेको अनुभव हुनुपर्ने, मेडिकल ग्याँससहितको अस्पतालको आरसिसी भवन निर्माण गरेको निर्माण कम्पनीले मात्र बोलपत्र पेस गर्न सक्ने शर्त राखेको छ। यस्तै एन्टी व्याक्टेरियल पेन्ट लगाएको निर्माण कम्पनीले मात्र बोलपत्र पेस गर्न सक्ने शर्त पनि राखिएको छ।

उक्त शर्तले धेरै निर्माण कम्पनी बोलपत्र पेस गर्नबाट वञ्चित हुनु परेको सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव लक्ष्मण स्वारले दाबी गरे। रामारोशनले १३ करोड ७५ लाख लागतका दुई वटा भवन निर्माण गरेको अनुभव भएका निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न पाउने शर्त राखेको छ।

निर्माण व्यवसायी संघ अछामका अध्यक्ष तेजप्रसाद ढुंगानाले दुवै गाउँपालिकाले सीमित निर्माण कम्पनीसँगको मिलेमतोमा उनीहरूले भनेकै आधारमा शर्त राखेर बोलपत्र आह्वान गर्दा अन्य निर्माण व्यवसायी प्रतिष्पर्धामै सहभागी हुनबाट वञ्चित भएको बताए।

‘अछामकै अन्य ६ वटा पालिकाहरूले त्यही रकम बराबरका अस्पताल भवनहरू निर्माणका लागि बोलपत्र आह्वान गर्दा अनावश्यक शर्त राखेनन्’, ढुंगानाले भने,‘यस्तै अस्पताल भवनहरू निर्माण गर्ने अन्य जिल्लाका पालिकाहरूसँग बुझ्दा पनि मेल्लेख र रामारोशनको जस्तो शर्तहरू छैनन्। सेटिङमा ठेक्का दिनकै लागि अनावश्यक शर्त राखिएको स्पस्टै हुन्छ।’

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले निश्चित मापदण्ड राखेर निश्चित कम्पनीलाई ठेक्का दिनका लागि बोलपत्र आह्वान गर्ने कार्यविरुद्ध कानुनी उपचार खोजिने बताए।

कामको गुणस्तर चेक गर्ने र ठेक्कासमेत तोड्न सक्ने अधिकार गाउँपालिकाको रहेको भन्दै दाहालले गुणस्तर कामय गर्ने बाहानामा अनावश्यक शर्त राखेर अरु निर्माण व्यवसायीलाई प्रतिष्पर्धामा भाग लिन रोक्नु गैरकानुनी काम भएको बताए।

मेल्लेख गाउँपालिकाका इन्जिनियर खडक धामीले भने  गुणस्तर कायम गर्नका लागि ती शर्तहरू राखिएको बताए। यस्तै मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहोराले बोलपत्र आह्वान गर्ने काम प्राविधिकको भएकाले आफूलाई प्राविधिक कुरा जानकारी नहुने बताए।

उनले मिलेमतोमा ठेक्का पार्न अनावश्यक शर्त राखेको भन्ने कुराको खण्डन गरे। बोहोराले बोलपत्रमा अनावश्यक शर्तहरू भए हटाउन आफूले इन्जिनियरलाई निर्देशनसमेत दिइसकेको बताए। – थाहखबर