अन्तरवार्ता / विचार

बयालपाटा अस्पतलालाई ट्रमा र अर्थोपेडिक सेवा केन्द्रका रुपमा स्थापित गर्नुपर्छ : डा. मन्दिप पाठक

अछाम ।

२००९ मा काठमाडौँ विश्वबिधालय बाट एमबिबिएस सकेर २०१५ मा फिलिपिन्सबाट रेसिडेन्सी सकेका अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठक न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक हुन् । २०१७ मा मलेसियाबाट अर्थोपेडिक अन्कोलोजीमा फेलोसिप गरेका डाक्टर मन्दीपले सुदूर पहाडका अछाम सहित बाजुरा, डोटी, बझांग बैताडी तथा कर्णालीका दैलेख, कालिकोट, हुम्ला र मुगु सम्मका जिल्लाका जनतालाई बयालपटामा सेवा दिईरहेका छन् । त्यस ठाँउका बिरामी डाक्टर मन्दिपलाई भेट्न अछाम आईपुग्छन् । सुदूर पहाडका धेरै जिल्लमा मेडिकल अधिकृत नै बस्न नरुचाएका बेला उनि एक्ला सजर्न हुन बिगत ५ बर्ष देखि अनवरत रुपमा बिरामीको सेवामा क्रियाशिल छन् । पायक परेको बेला उनि काठमाण्डौँका ठूला हस्पिटलमा अर्थोपेडिक अन्कोलोनजी हड्डीको क्यान्सरको को समेत सर्जरी गर्ने उनले यो अवधिमा थुप्रै बिरामीको निशुल्क सफल हार्डजोर्नीको सल्यक्रिया गरे । बोली स्वभावमा पनि मिजाशिला डाक्टर पाठक बिरामीलाई निको बनाएर मात्र घर पठाउछन् । उसो त न्याय हेल्थ नेपालद्धारा संचालित स्वास्थ्य संस्थामा सबै प्रकारका सेवा निशुल्क छन् तर पनि हार्डजोर्नीका लागि आवश्यक पर्ने छुट्टै उपकरणको बेला बेला अभाब भईरहन्छ । डाक्टर पाठक बिदेशी दातृ निकाय संग समन्वय गरेर भएपनि उपकरणको बन्दोबस्त गरी बिरामीलाई निशुल्क सेवा दिन्छन् । कहिलेकाँही त गरिब दुखी बिरामीलाई बाहिर जान नसक्ने परिस्थितीमा डाक्टर पाठकले उपलब्ध उपकरण नहुदाँ सापटी मागेर भएपनि उपचार गरेर बिरामीको मन जित्न सफल भएका छन् । डा पाठक संग सुदूरआजले गरेको कुराकानी

१) बिगत ५ बर्ष देखि तपाई सर्जनको रुपमा बयालपाटा अस्पतालमा कार्यरत हुनुहुन्छ काठमाण्डौँमा जन्मेको मान्छे तपाईलाई त शहरमा थुप्रै अवसर मिल्थ्यो होला । किन अछाम जस्तो दुर्गम ठाँउमा बसेर सेवा दिने ईच्छा जाग्यो ?

काठमाडौं जस्ता ठुलठुला शहरहरुमा बिरामीहरूका लागि विकल्पहरू धेरै छन् । मैले मेरो रेसिडेन्सी प्रशिक्षण पूरा गरिसकेपछि, म त्यस्तो ठाउँमा काम गर्न चाहन्थें जहाँ म आफ्नो सीपको प्रयोग गर्न सकु र अझ राम्रो प्रभाव पार्नलाई बिरामी सामु छोड्न सकु । म नेपालका अर्थोपेडिक सर्जन डा भास्करसँग सम्पर्कमा थिएँ जसले मलाई बायलपाटा अस्पताल र यसले नेपालको ग्रामीण ठाउँमा गरेको स्वास्थ्य सेवा लगायत कामको बारेमा बताए । संयोगवश अर्थोपेडिक सर्जनको ठाउँ थियो र मलाई यस संस्थासंग आबद्ध हुने अवसर मिल्यो ।

२) अछाम आईसकेपछि तपाईले कति जति सर्जरीका सेवा दिनु भयो होला ? र दोलखामा पनि तपाई सेवा दिन जानुहुन्छ त्यहाँ कति पुगे होलान् ।

म सँग एकिन संख्याहरू छैन, तर हामी बिरामीलाई राम्रो सेवा दिनको लागि यथासक्य प्रयास गरिरहेका छौ। अछाममा दोलखा भन्दा शल्यक्रियाको संख्या बढी छ । अछाममा हरेक महिना करीव ८० देखी १२० ठूला शल्यक्रियाहरू हुन्छन् भने दोलखामा २० देखी ३० शल्यक्रिया हुन्छन् । हाम्रो दुबै अस्पतालमा ट्रमा सर्जरीको ठूलो आवश्यकता छ । दोलखाको तुलनामा अछाममा यस्ता बिरामीहरु बढी नै आउछन् ट्रमा केयरको लागि अछामको नजिक कुनै ठूलो अस्पताल नभएका कारण यहाँ हार्डजोर्नीको सेवा अपरिहार्य जस्तै छ ।

३) शल्यक्रिया हरुमा पनि तपाईलाई अलि मनमा छोएको अझ भनौँ बिरामीले अर्को जीवन पाए जत्तिकै महसुस गरेको कुनै उदाहरण छन् कुनै एकदुई वटा ?

सुरुकै दिनहरुको कुरा हो, मैले एउटा महिलालाई भेटें उनको हात मिलमा चामल पिस्दा मिलले किचेको थियो । उनले हात एकदम नराम्रो संग खुल्ला फ्रैक्चर भएको थियो । जसको आपतकालिन शल्यक्रिया गर्नुपर्ने अवस्था थियो । जब म उनको शल्यक्रियाको लागि आपतकालीन कोठामा गए उनले आफ्नो १ बर्षको बच्चालाई दुध खुवाइरहेकी थिईन । आफ्नो पिडामा पनि उनले बच्चा प्रति देखाएको माया देखेर मन छोयो । उनलाई आफ्नो हातको भन्दा पनि बच्चाको चिन्ता धेरै थियो । त्यो समय हो जुन मैले अछाम जस्तो ठाँउमा मानिसहरूले (अझ महिलाले) सामना गरिरहेका कठिनाईहरू महसुस गरें । यदि हामी नभएको भए उनले अर्को अर्थोपेडिक सर्जनलाई भेट्न मात्र १० देखि १२ घण्टा सम्म यात्रा गर्नु पर्ने हुन्थ्यो र लाखाँै खर्च गर्नु पर्थ्यो होला । हामीले सहझै उनको उपचार गर्न सफल भयौँ ।

४) कुनैबेला श्रोत साधन लगायतका बिबिध कारणले उपचारमा कठिनाई आएका उदाहरण पनि होलान्, त्यस्तो बिरामीको उपचार गर्न नसक्दा वा नपाउदा तपाईलाई कस्तो अनुभुती हुन्छ ।

हो, हामी मेरुदण्डको उपचार यहाँ गर्न असमर्थ छौ। जब म त्यस्ता बिरामीलाई बाहिर पठाउन बाध्य हुन्छु त्यो बेला दुखी महसुस गर्छु । रुख बाट लडेर आउने यस्ता बिरामी महिनाको २/३ जना हुन्छन । अझ युवा अवस्थाका बिरामी आए झन नराम्रो बोध हुन्छ । यस्तै हड्डीमा घाउ भएको बच्चाहरु पनि आईरहेको हुन्छन् । कोही धेरै ढिला जटिल अवस्थामा आउछन् त्यो अवस्थामा साधन श्रोत नहुदाँ उनिको उपचार गर्न कठिन हुन्छ । यदि साधन श्रोत भएको भए हामी सजलै उपचार गर्न सक्ने थियौँ होला । यस्तो प्रकारको हड्डीको समस्या लामो समय रहेमा उपचार गर्न गाह्रो हुन्छ । अझ बच्चाहरुको घाउको प्रभाव धेरै हुने भएकाले उनिहरु देखेर झन् माया लाग्छ ।

५) ट्रमाको सेवा अझै पनि दुर्गमका धेरै ठाँउमा सहज उपलब्ध छैन यसको सहजताका लागि के गर्दा जनताले सजिलै सेवा पाउलान् ?

नेपालमा हरेक बर्ष आर्थोपेडिक सर्जनहरूको संख्या बढ्दै गईरहेको छ । एउटा अर्थोपेडिक सर्जनलाई जिल्लामा सधैँ राखी राख्को लागि खर्च पनि बढी छ तर स्थानीय देखी प्रदेश सरकारले आर्थोपेडिक सर्जरीलाई बढुवा दिनुपर्छ । आफ्नो क्षेत्रका बिरामीको उपचारका लागि उक्त कुरा गर्न जरुरी छ । भौगोलिक आधारमा रणनैतिक कार्ययोजना बनाई अस्पतालहरुको पहिचान गरी ट्रमाको सेवा दिने खालको बातावरण तयार पार्नुपर्दछ । पर्याप्त पूर्वाधार खडा गरी लगानी गरेर शल्यचिकित्सकहरू लाई कायम राख्न सोहि अनुसार योजना बानउन पर्छ ताकि बिरामीले सेवा सजिलै पाउन सकुन ।

सुदूर पहाडमा स्वास्थ्यकर्मीकै दरबन्दी रिक्त भईरहने समस्याका बेला बिशेषज्ञ डाक्टर टिकिरहने कुरा धेरै टाढाको बिषय हो । उसो नेपालमा शल्यक्रिया गर्ने डाक्टरको संख्या नै कम छ त्यसमा पनि छिटफुट बाहेक सर्जनहरु शहर तिरै केन्द्रीत हुन्छन् । डा पाठक भने कर्णालीका केहि जिल्ला सहित सुदुर पहाडका बिरामीलाई हार्डजोनीको सेवा लामो समय सम्म दिने एक मात्र सर्जन हुन् ।

६) तपाई संग कुनै योजना छ वा सरकारले यस्तो प्रकारको पहल गरे जनताले दुख नपाई सहज सेवा पाउने थिए ?

सुदूरपश्चिम प्रदेशमा दिर्घकालिन रुपमा ट्रमाको अस्पताल आवश्यक छ । शहरहरुमा निजि अस्पताल त छन् तर गरिब आर्थिक अवस्था कम्जोर भएकाहरुका लागि सरकारी वा सार्वजनिक अस्पताल चाहिन्छ । हार्डजोर्नीको उपचार सरकारी अस्पतालमा कम मात्रामा छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान वा टिचिङ अस्पतालसंग समन्वय गरेर स्थानिय सरकार, प्रदेश सरकारले लगानी गरेर स्थायी रुपमा ट्रमाको व्यावस्थापनका लागि जोड दिन जरुरी छ ।

७) तपाईको अबको आफ्नो भाबी योजना के छ, कसरी अघि बढ्ने मनसाय बनाउनु भएको छ ?

बयालपाटा अस्पतलालाई यस प्रदेशको भरपर्दो ट्रमा र अर्थोपेडिकको केन्द्रका रुपमा स्थापित गर्ने चाहाना छ । गेटा वा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरेर २४ घण्टै अर्थोपेडिक सेवा बनाउने मन छ । त्यसका लागि यस क्षेत्रका जनता, समाजसेवी, राजनितिक दल तथा सरकारहरुको सहयोगको खाँचो रहन्छ । बयालपाटामा अर्थोपेडिक संगै स्पाईन सर्जरी, स्पोर्ट सर्जरी तथा बालशल्यक्रियाहरु पनि संचालन गर्नु पर्दछ । साथै अन्तराष्ट्रिय संघसंस्था संग मिलेर यसलाई ट्रमाको अनुसन्धान केन्द्रका रपमा बिकसित गर्न सकिन्छ । जसरी भएपनि शल्यक्रियाको सेवा सुलभ, उत्तरदायी, भरपर्दो र प्रभावकारी तथा दिर्घकालिन बनाउनु पर्छ भन्ने मेरो धारणा हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मैले जति कर्णाली अरूले बुझेका छैनन् : मुख्यमन्त्री शाही
जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३५ जना पक्राउ
१० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन
नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय भलिबल खेल्ने २ अछामी चेली