अछामको चौरपाटी गाउँपालिका–७ मार्कुमा लोपोन्मुख रैथाने बाली संरक्षणका लागि पैरवी अभियान सम्पन्न गरिएको छ। समविकास नेपालको साझेदारीमा सञ्चालित ‘पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशील कृषि प्रणालीमा महिला सहभागिता’ परियोजनाको सहयोग तथा वडा कार्यालयको समन्वयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पछिल्लो समय कोदो, जुनेलो, कागुनोलगायतका रैथाने बाली हराउँदै जान थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सहभागी कौशीला बोगटी र राजु बोगटीले विगतमा गाउँघरमा प्रशस्त मात्रामा रैथाने बाली उत्पादन हुने गरे पनि अहिले विस्तारै खेती घट्दै गएको बताए।
त्यस्तै, नन्दकला बोगटीले आफूले अझै पनि रैथाने बाली खेती गर्दै आएको भए पनि उत्पादनले उचित बजार नपाउँदा समस्या भइरहेको गुनासो गर्नुभयो।
कार्यक्रममा कृषि प्राविधिक रमना कुँवर र पशु प्राविधिक धर्मराज भण्डारीले रैथाने बाली पौष्टिकताले भरिपूर्ण भएकाले खाद्य सुरक्षा, पोषण तथा आत्मनिर्भरताका लागि यसको संरक्षण अपरिहार्य रहेको बताए।
वडा अध्यक्ष ललित बोगटीले किसानले उत्पादन गरेका रैथाने कृषिजन्य वस्तुको बजारीकरणका लागि वडा कार्यालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आवश्यक परे वडा कार्यालयको सवारीसाधनमार्फत उत्पादन बजारसम्म पु¥याउन समेत सहयोग गरिने बताउनुभयो।
कार्यक्रमको अन्त्यमा सहभागी किसानहरूले लोप हुँदै गएका रैथाने बाली पुनः खेती गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय तहबाट सुरु गरिएको रैथाने बाली संरक्षण अभियानले किसानमा नयाँ उत्साह थपेको आयोजकले जनाएको छ।




















प्रतिक्रिया