ब्यानर

कहिले चढ्न पाइएला धरहरा?

काठमाडौं- साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ।

सम्झौता भएलगत्तै काम गर्न चार रोपनी क्षेत्रफल मात्र पाएको र पछिमात्र ४२ रोपनी क्षेत्रफलको ‘साइड क्लियर’ भएकाले अझै एक वर्ष धरहरा परिसरका संरचना निर्माणका लागि लाग्ने निर्माण व्यवसायी पक्षको भनाइ छ। २०७५ साल असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणका लागि निर्माण व्यवसायीसँग तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गरेको थियो।

चिनियाँ निर्माण कम्पनी जिआइटिसी/रमण जेभीले धरहरा क्षेत्रका संरचनाको निर्माण गरिरहेको छ। निर्माण कम्पनीको म्याद अहिलेसम्म चारपटक थपिएको छ। कोरोना महामारीका कारणले मात्र दुईपटक म्याद थपिएको थियो।

चार पटक थपिएको म्याद पनि गत पुस मसान्तमा सकिएको छ। धरहरा क्षेत्रका सबै संरचना निर्माणका लागि कम्तीमा पनि अझै एक वर्ष लाग्ने निर्माण व्यवसायी तर्फका आयोजना व्यवस्थापक सञ्जय नकर्मी बताउँछन्।

हालसम्म धरहरा क्षेत्रका संरचना निर्माणको ८२ प्रतिशत भौतिक प्रगति भएको छ। ६९ प्रतिशत वित्तीय प्रगति भएको पनि जनाइएको छ। टेन्डरमा नभएका काम पटकपटक थपिएको र टक्सार विभागको भवन भत्काउन सम्झौता भएको मितिले २२ महिना लागेकाले काम ढिलाइ भएको दाबी निर्माण व्यवसायी पक्षको छ।

धरहराका विशेषता

धरहरा टावर बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्र जमिनमुनि दुई तल्लाको भूमिगत संरचना बनिरहेको छ। जमिनमाथि भुइँतल्लासहित २३ तल्लाको धरहरा भने ठडिएको छ। समग्रमा धरहरा २५ तल्लाको बनेको छ। धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब आठ करोड रहेको जनाइएको छ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ। भूमिगत तल्लासहित ९२.२५ मिटर हुन्छ। धरहराभित्र दुईवटा लिफ्ट राखिएको छ। लिफ्टमा एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन्। लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ। धरहरामा फलामको भर्‍याङसमेत जडान गरिएको छ।

धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तल्ला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ। २२औँ तल्लामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ। धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्‍याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ।

वैशाख १२ गतेको धरहरा क्षेत्र

२०७२ साल वैशाख १२ गते शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए। कति त माथि नै थिए। तीमध्ये ६० जनाले जीवन गुमाए। सयौँ मानिस घाइते भए। उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएको धरहरालाई जस्तात्यस्तै छोपेर राखिएको छ। त्यस नजिकै धरहरा टावर ठडिन भने छ वर्ष समय लागेको थियो।

२०७४ साल कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई दिने निर्णय गरेको थियो। २०७५ साल असोज १४ गते प्राधिकरणले धरहरा पुनर्निर्माण सुरु गरेको थियो। गत वर्ष प्राधिकरणको अवधि सकिएपछि हाल यस क्षेत्रको निर्माणको काम सहरी विकास तथा भवन निर्माण विभागले हेर्दै आएको छ।

भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ। अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ। यस क्षेत्रमा एउटा अर्ध भूमिगतसहित चारतले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ।

यहाँ ‘फुड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ को काम पनि भइरहेको विभागका आयोजना निर्देशक कोषनाथ अधिकारीले जानकारी दिनुभयो। धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ। जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ।

धरहरा क्षेत्रमा तीनतले भूमिगत पार्किङको व्यवस्था गरिएको छ। जहाँ दुई सय ४४ गाडी र सात सय ४४ मोटरसाइकल पार्किङ गर्न सकिनेछ। भीमसेन थापाले विसं १८८२ मा बनाएको धरहरा (भीमसेन स्तम्भ) लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ।

धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण गरिँदै छ। सुन्धारामा चौबिसै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ। धरहरा र सङ्ग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण भइरहेको छ।

धरहराको इतिहास

१८८२ सालमा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाएको इतिहास छ। विसं १९१३ मा बज्र (चट्याङ)ले भत्केपछि १९२३ सालमा धरहराको जीर्णोद्धार गरिएको थियो।

१९९० साल माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनर्निर्माण भएको थियो। पुनर्निर्माणका क्रममा ११ तले धरहरालाई नौ तल्लामा सीमित गरिएको थियो।

यो धरहराभन्दा अघि विसं १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गर्नुभएको थियो। जसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो। विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनर्निर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ।

हाल धरहरा टावरको काम भने सकिएको छ। ठडिएको टावर वरपरबाट तस्वीर खिच्ने भीड देखिन्छ। तस्वीर खिचिरहेका रामचन्द्र सुवाल भने धरहरा चढ्नका लागि खुला गरिदिए हुन्थ्यो भन्ने माग गरे। विभागले भने धरहरा क्षेत्रका सबै संरचनाको निर्माण नसकिएसम्म धरहरामात्र खुला गर्न नसकिने जनाएको छ। – नेपालसमय

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अध्यक्ष धामी कस्ता थिए ? उनको सपना के थियो ? (रिपोर्ट)
साँफेबगरमा पालिका स्तरिय भलिबल प्रतियोगिता हुदैँ, प्रथम पूरुस्कार २ लाख १ सय ११
पञ्चदेवल विनायकको कालो दिन
एलपी शर्माको ‘लिलु’ छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्डको मनोनयनमा पर्न सफल