मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्युनिख पदयात्रा र हटेरु कुरिबसेका पातिसाल्नाहरू

म्युनिख पदयात्रा र हटेरु कुरिबसेका पातिसाल्नाहरू

सुदूर आज

वेदप्रकाश तिमिल्सैना

आजभोलि पहाडी जिल्लाको लाइफ लाइन बनेको छ, सडक । पश्चिमी पहाडमा सबैभन्दा पहिले सडक विस्तार सुरु भएको अछाम जिल्लाका सबै ९१ वटा वडासम्म सडक सञ्जाल विस्तार भइसकेको छ । गाउँबस्तीमा सडक विस्तार रोकिएको छैन । सडकको स्तरोन्नति र विस्तार साथसाथै चलिरहेको छ । गाउँमा नुन, तेल, खाद्यान्नलगायत आवश्यक बजारिया सामान किन्न धेरै टाढा जानै पर्दैन । सकभर गाउँघरको पसलमा पाइन्छ । त्यहाँ मिलेन भने अलि पर खुलेका ससानादेखि ठूला बजारमा सबै सामान किन्न पाइन्छ । धेरै टाढा जानै पर्दैन । यति मात्र होइन, अनलाइनमा अर्डर गरेका कुरियरको सहायताले सामान अछामको गाउँसम्म पुर्‍याउने गरेको देखिन्छ । 

हाम्रा गाउँहरू सडक सञ्जालमा जोडिएपछि उहिलेको ‘हाट’ भन्ने शब्द एकादेशको कथाजस्तै भएको छ । अनि ट्रक र ट्रयाक्टरबाट अनलोड गरिएका सामान ओसारपसार गर्ने जमानामा हटेरु पनि हराइसकेका छन् । बलिष्ठ जिउ भएका क्विन्टलभन्दा बढी सामान बोक्ने हटेरुको चर्चा हुन छोडेको पनि वर्षौं भइसकेको छ । अनि डोकोभरी घिउ लिएर जाने र नुन, मट्टीतेल, जिरामसला र लुगाफाटो बोकेर फर्किने हटेरु हिँड्ने बाटोको झन् गन्ती नै छैन । सडक सञ्जाल नपुगेको त्यस बखतमा हटेरु हिँड्ने मार्ग हाम्रो लाइफलाइन नै थिए । हटेरु हराए पनि केही वर्ष बम्बईवाला र कालापहाड जाने देशेरु हिँडे । अलिअलि मलवार (तराई) आउनेजाने गमारे (यात्री) ओहोरदोहोर गरेको देखिन्थ्यो । 

सडक जतिजति पुग्यो, अनि ती वाणिज्य मार्ग उतिउति सुनसान भए । अनि कुनै जमानामा मूलधारको लाइफलाइन रहेका ती मार्गहरू यतिबेला शान्त र सुनसान छन् । बाटो हिँड्ने यात्रीहरूलाई स्वागत गर्ने उहिलेका बाटासँग जोडिएका बस्तीमध्ये भरपर्दो सडक सञ्जाल नपुगेको ठाउँमा कुनै रौनक र चहलपहल छैन । पैदलमार्ग सुकेपछि दाणे, स्यालेकरा, गोदेको सेरोफेरो, राहबल्ने, बासपानी, रिङ्गना, असुणेनी, साल्म, रातिमाटे, बसन्ती कुन्टालाई बढी धक्का महसुस भएको छ । पैदल यात्रुले हिँड्न छाडेपछि यी ठाउँका होटल पसल बन्द भइसकेका छन् । किशोर र सीमित युवा उच्च शिक्षाका लागि शहरमा छन् । युवा पनि कामको खोजीमा भारत, खाडीका देश र मलेसिया पुगिसकेको हुँदा गाउँघरमा चहलपहल नै घटेको छ ।

पछिसम्मै लामो दूरीको पैदल यात्रा गर्ने थोरैमध्ये म पनि हुँ । मोटरसाइकल किन्नुअघिसम्म प्रफुल्ल तन्नेरी उमेरमा अछामदेखि तराईसम्म पैदलमार्गको प्रयोग गरेँ । अछामको सदरमुकाम मंगलसेन बजारदेखि आफ्नो गाउँ कुइका भएर जङ्गलघाटहुँदै कर्णाली चिसापानीसम्म म धेरैपटक हिँडेरै पुगेको छु । साँफेबगर र कर्णाली राजमार्गको टुनिबगर पुगेर बस चढ्ने जमानामा मचाहिँ कुइकागाड, कर्णाली र भेरीको  छालछालै (किनारैकिनार) हिँड्थेँ । 

अछामदेखि धनगढी जान र नेपालगञ्ज पुग्नका लागि म चिसापानीबाट बस चढ्नेमध्येको हुँ । बम्बईवाला, हटेरु र मलवार (तराई) आउने  गमारे (यात्री) हिँड्ने बाटोमा म पछिसम्म हिँडेँ । म सानो छँदा बज्यैको पिठ्युँ लागेर मलवार गएको अनि मलवारबाट अछाम आएको बखतका यादहरू पनि सँगालेर राखेको छु । बाल्यकालमा त्यो वाणिज्य मार्गमा ओहोरदोहोर गर्नेहरूको चमक देखेको म भित्री बण्डालको सुनसान  बाटोको साक्षी पनि हुँ । सुनसान भएको प्रमुख पैदलमार्गमध्ये अछाम जङ्गलघाट चिसापानीको रौनक पनि मैले देखेको थिएँ । दैनिक सयौँ मानिसको ओहोरदोहोर चलिरहने बाटोको यादले मात्रै धित मर्दैन ।

पदमार्ग धेरै ठाउँमा मासिएका छैनन् । मात्रै हिँड्ने मानिसको अभाव छ । त्यो उहिलेको पुरानो मूल बाटोको सम्झना जहिल्यै स्मृतिमा ताजै छ । ती उकालीओराली अनि भञ्ज्याङ चौतारी मनमस्तिष्कमा बसेका छन् । अछामदेखि चिसापानीसम्मका यादहरू अहिले पनि सम्झनाको तरेलीमा बयली खेल्न झुल्किन्छन् । किनारैकिनारको बाटोबाट मनमोहक देखिने कर्णाली नदी र जैविक विविधताले भरिपूर्ण भित्री बण्डालको सौन्दर्यपानसहितको यात्रा कम रोमाञ्चक हुँदैनथ्यो । वसन्त ऋतुको उष्ण र शरदको शीतलतामा पनि हिँडेको बाटोमा भोगेको भोक र प्यासका ती असीमित सम्झना आँखाअगाडि घुम्न आइपुग्छन् ।

राजापुर, कट्टासे र चिसापानी हाट हुँदाको हाम्रो चल्तीको वाणिज्य मार्ग आजभोलि सुस्ताइरहेको छ । बाटोमा हिँड्नेहरू मात्रै कहाँ हो र, उहिलेको फिटको हान्ने जमानामा रुमाल अनि धणो हल्लाउँदै प्रेमिल सन्देश आदानप्रदान गर्नेहरू पनि हराइसके ।

पछिल्लो अवस्थामा मानिसहरू यदाकदा मात्रै हिँड्नेहुँदा पैदलयात्रामा बाटोमा म र मेरा साथीबाहेक अरु फाट्टफुट्ट मात्र थिए । मैले पनि पैदलमार्ग हिँडन छोडेको धेरै भइसकेको छ । डेढ दशकअघि नै बाटोमा पर्ने धेरै बजार सुनसान भैसकेका थिए । गणिखोलाका पसल भत्किएको अवस्थामा थिए  । दाणे, असारा, असुणेनीका दोकानका दरबाजामा ताला लागेको वर्षौं भैसकेको थियो । आजभोलि असारामा पनि पसलको अस्तित्व मेटिएको छ । असाराजस्तै बाटोमा पर्ने बजार र पसल आजभोलि अस्तित्वमा छैनन् । तर, मनको कुनामा चाहिँ ती बजार अनि ससाना पसलको अस्तित्व कायमै छ । 

sagarmatha
keystoneglobalnetwork

अछामदेखि चिसापानी मात्रै होइन, कटासेहुँदै टीकापुरसम्मको पैदलमार्गको सम्झना अहिले पनि मनमा छ । अछाम, नेपालगञ्ज र कैलाली आउजाउका क्रममा कर्णाली राजमार्गको दैलेख खण्डमा मोटरबाट देखिने पैदलमार्गले बाल्यकालदेखिका सबै सम्झना ताजा गराउँछ । गाडीमा यात्रा गरिरहँदा देखिने दाणे, असारा, थालापाटा, गणिखोला र स्यालेकराको दृश्यले त्यो पैदल मार्गले विगततिर लैजान्छ । अनि उहिले हिँडेका दिनहरू झलझली सम्झेर आँखा रसाउँछन् । पुराना यादहरू ताजा भैदिन्छन् । टाढैबाट हेरेर भए पनि उहिले हिँडेका बाटाहरू मेरो बाल्यकाल र किशोरवय सम्झिने माध्यम बनेका छन् । घरीघरी उतिबेलाका यादहरूलाई पछ्याउँदै कल्पनाभित्र हराउँछु पनि । 

अछामभित्र पनि म यात्रा गरिरहेकै हुन्छु । अछामदेखि नेपालगञ्जहुँदै कैलालीसम्म मेरो ओहोरदोहोर चलिरहन्छ । पहिले पत्रकारितामा थिएँ । उतिबेला समाचार खोज्दै गाउँघरमा पुगेको हुन्थेँ । आजभोलि राजनीतिमार्फत समाजसेवामा छु, त्यसैले पनि म प्राय: पार्टीको कामको सिलसिलामा घुमिरहेको हुन्छु । पूर्वी अछामको तुर्माखाँद पुगेपछि पैदलमार्गलाई पछ्याउँछु । त्यसैले जमानामा बास बस्ने जङ्गलछाल अर्थात् जङ्गलघाट पुगिदिन्छु । पत्रकार हुँदादेखि राजनीतिक कार्यकर्तासम्मको यात्रामा पूर्वी अछामको तुर्माखाँद पुग्दा म प्यारो जङ्गलघाट पुग्न छुटाउँदिनँ । उहिले त्यहाँ पुग्दा कर्णाली नदीको पानी र किनारको बालुवा स्पर्श गरेको सम्झना मेटिएकै छैन । जङ्गलघाट पुग्दा साँच्चै आत्मीयताको अनुभूति हुन्छ ।

अछामदेखि हाट आउने, तराई आउने, बम्बई जाने र देश जानेहरूको विकल्प अरु थिएन । खुरुखुरु पैदल हिँड्नुपर्ने बाध्यता ।  अछाम–जङ्गलघाट–गुटु कुइने–चिसापानी, अछाम देखि तेलेको लेक भएर टनकपुर, अछाम टटाली सोल्टा भएर कुइने, चिसापानी, अछाम-ठुलिगाड भएर बालुवागडा, अछाम-मेल्टा मुणा प्रमुख पैदलमार्ग ।  यी बाटाहरूमध्ये अछाम जङ्गलघाट गुटु कुइने–चिसापानीको बाटोमा धेरैपटक हिँडेको छु । अछामदेखि चिसापानीसम्मका असीमित सम्झना छन् । कति हुन् कति सम्झनाको भारी नै छ, यो मनमा । त्यो भारीलाई मायाको पोकोजसरी मनको कुनामा राखेको छु । कापीकिताबको गह्रौँ भारीसहित रुँदै साल्मको उकालो अनि बासपानीको ओरालो झरेको कसरी बिर्सनु ?  

साँफे र टुनिबगर पुगेर गाडी चढ्ने जमानामा मैले आनन्दपूर्वक पैदल यात्रा गरेको थिएँ । जुन कुरा मैले माथि पनि उल्लेख गरिसकेको छु । अछामदेखि तराई आउँदा–जाँदा मैले पहिले धेरैपटक हिँडेको बाटोको आजभोलि झलझली याद आउँछ । पैदलमार्गमा पर्ने चिउरारुख, असारा, चिउराखान, जङ्गलघाट, बासपानी, साल्मका यादहरू सम्झनाको तरेलीमा बयली खेल्न आउँछन । रहरहरू बेवारिस पारेर परदेश जान लागेका जीवनकथा सुन्दै हिँडेको अहिलेजस्तो लाग्छ ।

भित्र वनको बाटो, गुटु, बसुन्ती कुन्टाहुँदै भेरीको छालछालै (किनारैकिनार) हिँडेर भेरीमा नाउ तरेको सम्झना स्मृतिमा ताजै छ । जामु, कुइने, कैलाली कुइनेहुँदै चिसापानी पुगेको यादले विघ्न सताउँछ ।  बाटोमा भेटिने टेपमा देउडा गीत घन्काएर  निष्फिक्री हिँड्ने काला पहाडबाट फर्केका देशेरु (भारतको हिमाञ्चल र उत्तराखण्डमा काम गर्नेहरू) का समूह बिर्सेको छैन । खासगरी, उनीहरू यति विन्दास हिँड्थे, समूहमा सबैले पिठ्युँमा हुन्डो (जुम भनिने तामाको ठूलो भाँडा) बोकेका उनीहरू सबैको घाँटीमा टेपरिकार्ड अनिवार्यजस्तै  । अनि प्रत्येकले आ–आफ्नो टेप बजाएर गीत सुन्ने मिहिनेती मानिसहरूलाई कसरी बिर्सनु ?

अछामहुँदै तिब्बत र हिन्दुस्तानबीच  नुन, ऊन र सुनको समेत व्यापार हुने यी पुराना वाणिज्य मार्गहरूलाई ट्रेकिङ मार्ग बनाउनका लागि अछाम, दैलेख, डोटी र कैलालीका स्थानीय तहहरूले गुरुयोजना बनाएर अघि बढ्नुपर्छ ।

देशबाट आएकाहरूले टेपमा बजाएका ती गीत अझै पनि कानमै गुञ्जिरहन्छन् । तीन दशकअघि बज्यैसँग मलवार आउनेजाने बेलाको सम्झना जस्ताको त्यस्तै छ । राहबल्ने, असुणेनी, रातिमाटे, अरिमलेगडा, केलाडीको पघार अनि पितमारि, गल्बा, तातोपानी,जामु कुइनेको आतिथ्यता सम्झिएर बसेको छु । सातबैसेरी, बाँका, कचालीलगायत ठाउँका सामूहिक भान्सा र खुला आकाशमा रात बिताएको झल्को आइरहेको हुन्छ ।     

साल्मको उकालोबाट देखिने उहिलेको विद्यापुर मेरो मनमा छ । अहिलेसम्म विद्यापुर पुगेको छैन । मैले विद्यापुर देखेको त्यही साल्मको सेरोफेरोबाट हो । त्यो सानो बजार आजभोलि पनि आँखाअगाडि घुम्छ । साँच्चै, साल्मनजिकबाट विद्यापुरका सुकिला घर हेर्ने त्यो जमाना निकै प्रिय थियो । थकित अवस्थामा पनि साल्मको डाणा (टाकुरा) र चिउराखानको उचाइबाट देखिने सुन्दर दृश्यले मन रोमाञ्चित हुने सम्झना अझै ताजा छ ।

बासपानी, रातिमाटेतिर दूधदही बेच्नेहरूको त्यो दृश्य अहिले पनि उस्तै नवीन छ। भितरबन, रातिमाटे, साल्मतिर मस्की–मस्की रुमालको फिटको हान्ने अपरिचित नवयौवनालाई सम्झेर अनायास मै हाँसिदिन्छु ।

पैदलयात्रीका लागि काँक्रा बेच्ने गुटु घट्टेसराका आमा, दिदी, बहिनीहरू र बसन्तीकुन्टाको खोलामा खाना खुवाउने मगर होटल दिमागमा अहिले पनि घुमिरहन्छ । यात्राका क्रममा बाटोमा पर्ने गुटुको पुरानो बजार अनि नौलो विशाल बजार, गुटुका फाँटका असोजका महिनामा झुलेका धानका बालाको सम्झना साँच्चै साह्रै अविस्मरणीय छ । बीचमा बाटो अनि वरिपरि हुर्किंदै गरेका गहुँ र तोरीको मनमोहक दृश्य म आजभोलि पनि सम्झिरहेको हुन्छु ।

चलनचल्तीको शब्द सापटी लिएर भन्दा मैले अछामदेखि चिसापानीसम्मको पैदलमार्गलाई खुब मिस गरेको छु । बाटोका थुप्रै यादहरूका तस्वीर मेरो मनमुटुमा सुरक्षित छ । गुटुदेखि केही पर जङ्गल क्षेत्रमा बाटोमा चाउमिन र खीर बेच्नेहरू पनि मनको क्यामेराले खिचेको तस्वीरमा सुरक्षित छन् । भेडा लिएर चिसापानीदेखि अछामसम्म नुन ओसारपसार गर्ने हुम्लाको ठेहेका चेलीहरूलाई पनि प्राय: सम्झिरहेको हुन्छु । उकालोओरालो गर्दै हिँडेको चैमालीको पहरैपहराको बाटो, थालपाटा, बासपानी र साल्म रातिमाटेको उकालोओरालोमा यात्रा गरेको अहिले पनि सम्झिँदा मन रोमाञ्चित भैदिन्छ ।

पैदलमार्गको यात्राका क्रममा मलाई साथ दिएका रघुनाथ ढकाल मामासँगका सम्झनाहरू ताजा छन् । अछामदेखि सुर्खेतहुँदै चिसापानीको बाटो हाम्रो पुरानो चल्तीको मार्गका सम्झना धेरै छन् । राजापुर, कट्टासे र चिसापानी हाट हुँदाको हाम्रो चल्तीको वाणिज्य मार्ग आजभोलि सुस्ताइरहेको छ । बाटोमा हिँड्नेहरू मात्रै कहाँ हो र, उहिलेको फिटको हान्ने जमानामा रुमाल अनि धणो हल्लाउँदै प्रेमिल सन्देश आदानप्रदान गर्नेहरू पनि हराइसके । 

अछामका पूर्वी भेगको माथिल्लो क्षेत्रका र छबिस क्षेत्रका हामीहरू, दैलेख र साविकको कर्णाली अञ्चलको डोल्पाबाहेकका जिल्लाको हाट जाने बाटोको समय नफर्कने गरी कतै टाढा गएजस्तो आभास हुन्छ । कैलालीमा पर्ने पारि कुइने पुगेपछि टटाली, पुच्मा, बिजौरा, झाला, सोल्टा भएर आउनेहरू पनि भेटिने बाटो कतै विस्मृतिको गर्भमा हराउने त होइन भन्ने चिन्ता लागिरहेको हुन्छ । हटेरु, बम्बईवालालगायतका गमारे (यात्रु) ले यात्राको सफलताका लागि देवीदेवतालाई सम्झेर फूल-पाती चढाउने पातिसाल्ना (पातिफाल्ना)हरू अझै कुरेर बसेका होलान् है भन्दै मनमनै सोचिरहेको हुन्छु  ।

सम्झिँदा पनि आनन्द अनुपम महसुस हुने घ्यु बेचेर नुन, मट्टीतेल, परिवारका लागि लत्ताकपडा, कापीकिताब, कलम, चिनी, गुड र भाँडाकुँडालगायत अन्य आवश्यक सामग्री ल्याउने वाणिज्य मार्गको अस्तित्व नामेट हुन्छ कि ? मनमा कौतुहलता लाग्छ ।

मनमनै सोच्छु, चौतर्फी सडक सञ्जालको विस्तार भएपछि सम्झनामा सीमित भएको बाटोलाई जगाउन सकिन्छ । अछामदेखि चिसापानीसम्मको पैदलमार्गमा पर्ने गाउँ, बजार, बस्ती अनि रनवनका तितामीठा यादहरूलाई फेरि सम्झिने र सम्झाउने वातावरण तयार गर्न कठिन छ तर असम्भव छैन ।

केही वर्षअघि पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमको सिलसिलामा जर्मनी र अस्ट्रिया पुगेको थिएँ । म्युनिख र साल्जबर्गहुँदै अल्पस हिमालको फेदीसम्म पुगेर हिमालपहाडका पुराना बाटाहरूको उही स्वरूप देख्दा अचम्म मानेको थिएँ । जर्मनीको पहाडदेखि अस्ट्रियाको मैदानसम्म आउने पुरानो बाटोमा दुई गह्रौँ झोलासहित मेरा साथी केशर कठायत र मैले केही घण्टासम्म ट्रेकिङ गरेका थियौँ । आधुनिक जमानाका युरोपेली हिँड्ने ती बाटाहरूचाहिँ परम्परागत नै थिए ।

आजभोलि विरक्त अवस्थामा पुगेका बाटाहरू गुलजार भए भने ती ससाना बजार फेरि बौरिने आस पूरापूर राख्न सकिन्छ । कर्णाली कोरिडोरमा र्‍याफ्टिङ र नदी परिक्रमा, अनि सुर्खेत र डोटी भएर हाट जाने बाटामा पदमार्गको सम्भावना छ ।

पुराना बाटाहरूका बारेमा लेख्दा मलाई युरोपका पहाडी बाटाहरूको पनि खुब याद आयो । राज्यका नीतिनिर्मातासँग इच्छाशक्ति भए हाम्रा बाटाहरूलाई पनि ट्रेकिङ रुटमा रूपान्तरण गर्न सकिन्छ । खोलो तरेपछि लौरो बिर्सिने जमानामा उहिले  हिँडेका बाटाहरूलाई सम्झिने फुर्सद यहाँ कसैलाई छैन । उहिलेका पैदलमार्गको पछिल्लो अवस्थाले मेरो मन दुखेको छ । उहिलेका सम्झनाहरू घरीघरी झरीजस्तै बर्सिरहन्छन् । भत्किएका  बाटोहरूलाई नयाँ जीवन दिन पाए हुन्थ्यो भन्ने मनमा लागिरहेको हुन्छ । पुर्खाहरूले हिँडेको पैदल हिँडेको बाटोलाई  नयाँ जीवन दिन निर्दोष सपनाहरू देखेर मात्र हुँदैन । सरोकारवालाको साथ, सहयोग र सक्रियता पनि चाहिन्छ भन्ने मैले नबुझेको होइन ।

त्यसैले अछामहुँदै तिब्बत र हिन्दुस्तानबीच  नुन, ऊन र सुनको समेत व्यापार हुने यी पुराना वाणिज्य मार्गहरूलाई ट्रेकिङ मार्गको रूपमा विकास गर्नुपर्छ भन्ने मेरो बुझाइ हो । ट्रेकिङ मार्ग बनाउनका लागि अछाम, दैलेख, डोटी र कैलालीका स्थानीय तहहरूले गुरुयोजना बनाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । नभए यी बाटाहरू पनि पहिलेका नेपाल (काठमाडौं) जाने, डोटी, दैलेख गौडा जाने बाटोजस्तै गरी हराएर जानेछन्, पहाडी भेकका हुलाकी बाटोहरूजस्तै गुमनाम हुनेछन ।

सडक पुगेपछि निर्धोसरि बनेका यी बाटाहरूलाई वैधानिक ट्रेकिङ रुटमा रूपान्तरणका लागि छलफल चलाउन ढिला गर्नु हुँदैन । ट्रेकिङ रुट बनाउनका लागि त्योअनुसारको सुविधा र पूर्वाधारको विकास अनिवार्य हुनुपर्छ । आजभोलि विरक्त अवस्थामा पुगेका बाटाहरू गुलजार भए भने ती ससाना बजार फेरि बौरिने आस पूरापूर राख्न सकिन्छ । कर्णाली कोरिडोरमा र्‍याफ्टिङ र नदी परिक्रमा, अनि सुर्खेत र डोटी भएर हाट जाने बाटामा पदमार्गको सम्भावना छ । बाटोमा पर्ने गुटु, राग, जामु कुइनेको  विशाल फाँट, बासपानीदेखि कुइने, कचालीसम्मको हरियाली वनजंगल हेर्दै गरिने पदयात्रा आफैँमा उत्कृष्ट अनुभव बन्नेेछ । 

पदयात्रामा भित्री बण्डालका चराचुरुङ्गीको आवाज मात्र सुनिने छैन, भेरी कर्णालीको कलकल आवाज पनि नजिकैबाट सुन्न सकिनेछ । यो पहाडी यात्रा प्राकृतिक मात्रै नभएर सांस्कृतिक एवं सामाजिक हिसाबले पनि रोचक छ । कच्ची भए पनि सडक जोडिएको अछाम, चिसापानी, बाबियाचौर, जामु, चिसापानीसम्म लामो साइकल यात्रा रुट निर्धारण गरेर अघि बढ्दा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने कुरामा दुई मत छैन ।

सडकको घानमा परेका हटेरु हिँडेका बाटाहरूलाई पर्यटकीय गन्तव्य बनाउन सके कर्णाली र सुदूरपश्चिम प्रदेश लाभान्वित मात्र हुने छैनन्, यसले राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नेमा कुनै शंका छैन । तसर्थ आउनुहोस् । सबै मिलेर ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक एवं सामाजिक रूपमा महत्त्वपूर्ण यी हटेरु हिँड्ने बाटाहरूलाई पदमार्गका रूपमा पर्यटकीय गन्तव्य बनाउन आ–आफ्नो क्षेत्रबाट लागौँ, सबै जुटौँ, अनि अभियानका रूपमा अघि बढौँ ।

-लेखक पत्रकार महासंघ अछामका पूर्वअध्यक्ष एवं हाल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य छन् ।