मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकाका मावि विद्यालयको शैक्षिक गुणस्तर दयनीय अवस्थामा 

पञ्चदेवल नगरपालिकाका मावि विद्यालयको शैक्षिक गुणस्तर दयनीय अवस्थामा 

विद्यार्थीहरूका सुन्दर भविष्य निर्माण गर्ने मुख्य जिम्मेवारी बोध गर्न शिक्षकहरू लाई नगरप्रमुख चलाउनेको निर्देशन


अछाम: पञ्चदेवल विनायक नगरपालिकाले थालेको शैक्षिक सघन अनुगमनका क्रममा प्राय विद्यालयहरूमा शैक्षिक गुणस्तर न्यून रहेको पाइएको छ । 

करिब एक हप्ता अघि देखि पालिकाभरिका सम्पूर्ण विद्यालयहरूमा शिक्षाको गुणस्तरदेखि अन्य विविध पक्षको निरीक्षण गर्ने क्रममा अधिकांश विद्यालयहरूमा शैक्षिक गुणस्तर खस्किँदै गएको नगरपालिकाद्वारा सञ्चालित अनुगमन समितिले जनाएको छ । 

नगरप्रमुख अम्बिका चलाउनेको नेतृत्वमा रहेको एक अनुगमन समितिले वडा नम्बर – ५ लयाँटीकाे नवज्योति मावि अनुगमनका क्रममा शिक्षक तथा अभिभावकहरू सक्रिय हुनुपर्ने बताएको छ । 

मंगलबार अनुगमन पश्चात् शिक्षकहरू सँग अन्तरक्रिया गर्दै नगरप्रमुख चलाउनेले विद्यार्थीहरूका सुन्दर भविष्य निर्माण गर्ने मुख्य जिम्मेवारी बोध गर्न अनुरोध गरिन् । 

विद्यालयमा अध्ययनरत बालबालिकाहरूको भाग्य र भविष्य शिक्षकको काँध माथि रहेकाले विद्यालय जस्तो पवित्र भूमिमा कुनै राजनीतिक पूर्वाग्रह नराख्न उनको आग्रह छ । 

वडा अध्यक्ष र विद्यालय व्यवस्थापन समितिले विद्यालयहरू प्रति चाँसाे र चिन्ता व्यक्त नगरेको प्रति नगरप्रमुखकाे आपत्ति रहेको छ । 

विद्यालय जस्तो शान्ति क्षेत्र प्रति गैर जिम्मेवार भएको भन्दै उनले नवज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुल बहादुर बुढा र वडा नम्बर – ५ लयाँटीका अध्यक्ष हेम बहादुर शाहीलाई शिक्षा क्षेत्रको विकासका लागि जिम्मेवार बन्न निर्देशन दिइन् ।

पालिका भरिका विभिन्न विद्यालयको अनुगमन गर्ने क्रममा मङ्गलवार नवज्योति मावि लयाँटीको अनुगमन गरिएको हो । 

विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिका हरेक गतिविधि चुस्त दुरुस्त राख्नका लागि अभिभावक तथा शिक्षकहरू पनि जिम्मेवार बन्नुपर्ने नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत डम्बर थापाको जोड छ।

शिक्षा शाखा अधिकृत डम्बर थापाले आधारभूत तहका शिक्षकहरू सक्रिय हुनुपर्नेमा जोड दिँदै प्रायः शिक्षकहरूको अल्छीपना देखेर दुःख व्यक्त गरे । 

पञ्चदेवल विनायक नगरपालिकाले करिब एक हप्ताअघिदेखि सञ्चालन गरेको शैक्षिक सघन अनुगमनको मुख्य उद्देश्य गुणस्तरीय शिक्षा भएकाले सबै अभिभावक तथा शिक्षकहरूबिच समन्वय गरेर अन्तरक्रिया गर्नुपर्ने आवश्यकता देखिन्छ ।