मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पतालको दिगोपनाका लागि हदैसम्मको कदम चाल्छौँ : सरोकारवाला

अस्पतालको दिगोपनाका लागि हदैसम्मको कदम चाल्छौँ : सरोकारवाला

बयालपाटा अस्पताल र सामुदायिक स्वास्थ्य सेवामा खोट लगाउने ठाँउ छैन् : सेवाग्राही


अछाम : न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका सेवाग्राहीले अस्पताल र समुदायबाट प्रवाह भएको स्वास्थ्य सेवामा कुनै पनि खोट लगाउने ठाँउ नरहेको बताएका छन् । अस्पतालले प्रदान गरिरहेको निशुल्क स्वास्थ्य सेवा नागरिकहरुका लागि गुणस्तरिय रहेको भन्दै उनिहरुले यसमा कनै कमी नभएको बताएका हुन् ।

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको सामाजिक परिक्षणको क्रममा सहभागी भएका सेवाग्राही र सरोकारवालाहरुले अस्पतालले निुशल्क रुपमा दिईरहेको सेवा प्रभावकारी रहेको बताएका हुन् । आर्थिक बर्ष २०७९/८० मा सञ्चालन तथा सम्पादित भएका कार्यक्रम तथा सेवाको बारेमा आयोजित सामाजिक परिक्षणका क्रममा समुदायमा घरघरमै गएर स्वास्थ्य कार्यकर्ताहरुले दिईरहेको सेवा समेत राम्रो भएको र यसले निरन्तरता पाउनुपर्नेमा सहभागीहरुको जोड थियो ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख समेत रहेका अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र बहादुर कुवँरको अध्यक्षतामा भएको सामाजिक परिक्षणमा प्रमुख अथिति रहेका पूर्व उपप्रधान, गृह एवंम रक्षा मन्त्री डाक्टर भिम रावलले अस्पतालले दिएको सेवाका बिषयमा प्रश्न गर्ने ठाँउ नरहेको भन्दै उनले अस्पतालको सेवालाई दिगो बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिए । आफु पदमा हुदाँ अस्पतालका लागि पहल गरेरको ३ बर्ष लगातार बजेट आएको स्मरण गर्दै डाक्टर रावलले पछिल्लो समय अस्पतालमा बजेट नआउनु दुखद भएको उल्लेख गरे ।

अस्पतालको दिगोपनाका लागि प्रदेश सरकारबाट बजेट सुनिश्चित गर्न पहिलो चरणमा केन्द्रिय तहका नेताहरुसंग छलफल गर्ने, दोश्रो चरणमा प्रदेशका मुख्यमन्त्री सहित सम्बन्धित मन्त्रालय संग छलफल गर्ने र बजेट दिन आनाकानी गरे आफुहरु जस्तो सुकै कदम चाल्न पनि तयार हुने डा. रावलको प्रतिबद्धता थियो ।

कार्यक्रममा पूर्व जिविस सभापती भरत कुमार स्वाँरले दुर्गम क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सेवा दिएर बरदान साबित भएको बयालपाटा अस्पताललाई बजेट नदिएर कमिसनको खेलमा लागेको सुदूरपश्चिम प्रदेश सरकार नालायक भएको भन्दै आक्रोश व्यक्त गरे । बयालपाटा अस्पताल स्थापना गर्दा ४ जनाले बलिदानी दिएको स्मरण गर्दै कांग्रेस अछामका पूर्व जिल्ला सभापति समेत रहेका स्वाँरले फेरी पनि त्यस्तै खालको आन्दोलन गर्नुपर्ने प्रदेश सरकारले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिए । आफुहरु पूर्व उपप्रधानमन्त्री डा. रावलको नेतृत्वमा धनगढी हुदैँ काठमाण्डौँ गएर पार्टीका प्रमखहरुलाई भेटेर बजेट सुनिश्चितताका लागि पहल गर्ने बताए ।

सामाजिक परिक्षण कार्यक्रममा शुभकामना मन्तव्य राख्दै ढकारी गाँउपालिकाका अध्यक्ष प्रकाश साँउद, पूर्वीचौकी गाँउपालिकाका अध्यक्ष राम प्रसाद उपाध्याय र बान्नीगढी जयगढ गाँउपालिकाका उपाध्यक्ष बिन्दु रावलले अस्पतालको दिगोपनाका लागि साथ दिन आुफहरु तयार रहेको बताएका थिए । आफुहरुको भागमा पर्ने बजे अस्पताललाई दिन तयार रहेको उनिहरुको प्रतिबद्धता थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव टंक प्रसाद बराकोटीले बयालपाटा अस्पताल जस्तो निशुल्क सेवा दिने अस्पताल देशमा कतै पनि नभएकोमा खुशी व्यक्त गर्दै आफु बयालपाटा अस्पतालले दिएको सेवाबाट निकै प्रभावति भएको बताए । शहरका अस्पतालमा भन्दा बयालपाटा अस्पतालले दिएको शल्यक्रिया सेवाको प्रभावकारीता बढी हुदाँ र धनगढीबाट सेमत बयालपाटा अस्पतालमा सेवा लिन बिरामी आउछन् भन्ने कुरा सुन्दा त आफु झनै प्रभावित भएको बताए ।

संघिय सरकारबाट अनुदान दिलाउनका लागि पहल नपुगेका भन्दै उनिले यस क्षेत्रका नेताहरु नयाँ आर्थिक बर्षका लागि बजेट बन्दै गरेको अवस्थामा केन्द्रमा जानुपर्ने र त्यसका लागि आफु पनि सहयोग गर्न तयार रहेको उनले बताए । धेरैजसो जनशक्ती बिदेश पलाएन भएको र बचेको जनशक्ती पनि शहर केन्द्रीत मात्रै भएको स्मरण गर्दे सचिव बराकोटीले आर्कषण तलब नदिने हो भने दुर्गममा काम गर्न कोही पनि नआउने बताए । दुर्गमको कुरा त टाढाको बिषय भयो धनगढी समेत कोही आउदैन उनले भने ।

बयालपाटा अस्पतालले बिगत १६ बर्ष देखि अछाम सहित, डोटी, बाजुरा र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका समेत नागरिकलाई निशुल्क रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेकाले यसलाई दिगो रुपमा सञ्चालन गर्न सरोकारवालाहरुले जिम्मेवारी बहन गर्नुपर्ने साँफेबगर नगरपालिका पूर्व नगर प्रमुख कुलबहादुर कुँवरले बताएका हुन् । अस्पतालले दिएको सेवामा कुनै कमी छैन् सामाजिक परिक्षण सहभागी कुँवरले भने यसको दिगो व्यावस्थापनमा लागौ ।

सामाजकि परिक्षण कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, कांग्रेस अछामका उपसभापती अर्जुन ताम्रकार, नेकपा एमालेका सुरत भुल, माओवादीका रंग ठकुल्ला, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना, न्याय हेल्थ नेपालका महासचिव डा. एसपी कलौनी, समाजसेवी राजन कँवर, वडा नं. ७ का वडाध्यक्ष हिक्मत कडायतले लगायतले शुभकामना मन्तव्य राख्दै अबको एक मात्रै उद्देश्य अस्पतालको दिगोपना हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागी सेवाग्राही तथा सरोकारवालाहरुले गत आर्थिक बर्षको सामाजिक परिक्षण ढिला भएको र यसलाई आगामी दिनमा छिटो गर्नुपर्ने तथा सेवा प्रदायकहरुले जहिले पनि मुस्कान सहितको सेवा दिनुपर्ने सुझाव राखेका थिए । सामाजिक परिक्षणको सहजीकरण अछाम मिडिया नेटवर्कले गरेको थियो ।

१६ बर्षमा १२ लाख २४ हजार ७ सय ९२ जनालाई स्वास्थ्य सेवा

बयालपाटा अस्पतालले हालसम्म १२ लाख २४ हजार ७ सय ९२ जनालाई स्वास्थ्य सेवा दिएको मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दिप पाठकले बताए । कार्यक्रममा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै डाक्टर पाठकले अछाम जिल्लाका बिभिन्न ६ पालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य कार्यक्रम मार्फत २२ हजार ८ सय ४६ जनाले स्वास्थ्य सेवा पाएको बताए ।

गत आर्थिक बर्षमा ८ सय ६२ जनाको जटिल शल्यक्रिया र ७ हजार ७ सय ८० जनाको सामान्य शल्यक्रिया भएको छ ।बहिरंगबाट ५७ हजार ९ सय ७५ अन्तरंगबाट २ हजार ६ सय १४ आकस्मिकबाट ८ हजार ५ सय १९, मानसिक स्वास्थ्यबाट २ हजार ७ सय ५ जनाले सेवा पाएका छन भने ६ सय ७७ जनाले दन्त सेवा र २ लाख १२ हजार १ सय ५५ जनाको प्रयोगशाला परिक्षण भएको छ । बयालपाटा अस्पतालमा ६ सय ९ जनाले सुत्केरी सेवा, २ सय ७० जनाले परिवार नियोजन सेवा पाएका छन् भने २ हजार ८ सय ८६ जनाले गर्भवती परिक्षण गरेका छन् ।

सामुदायिक स्वास्थ्य कार्यकर्ताद्वारा १ लाख ७७ हजार ४ सय २० जनाको घरभेट, ३ हजार ४ सय ९२ जनाले दिर्घरोगको स्वास्थ्य सेवा, ५ हजार ७ सय ९१ जना २ बर्ष मुनिका वालबालिका र ८ हजार ५ सय ८ जना गर्भवती तथा सुत्केरी स्याहार सेवा पाएका छन् ।

गर्त आर्थिक बर्षमा न्याय हेल्थ नेपालको बित्तिय अवस्था ८ करोड दातृ निकाय, ८ करोड सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, स्थानिय सरकारबाट १ करोड, बिभिन्न कार्यक्रमकाबाट ५६ लाख, अन्य १० लाख गरी १८ करोड आम्दानी तथा २० करोड खर्च रहेको छ । संस्थामा सामुदायिक स्वास्थ्य कार्यकर्ता सहित बयालपाटा अस्पतालमा १ सय ९६ जना कर्मचारी कार्यरत रहेका छन् ।

न्याय हेल्थको एकिकृत विधुतीय स्वास्थ्य प्रणाली १० ठाउमा विस्तार

न्याय हेल्थ नेपालद्वारा अभ्यास गरिएको एकिकृत विधुतीय स्वास्थ्य प्रणाली EHR लाई कर्णाली प्रदेशका सुर्खेत, दैलेख, रुकुम (पश्चिम), कालिकोट, मुगु, हुम्ला र डोल्पा जिल्ला अस्पताल, सुदूरपश्चिम प्रदेशको महाकाली अस्पताल र गण्डकी प्रदेशको आम-पिपल अस्पताल गोरखामा विस्तार गरिएको छ ।

चौरमाण्डौं आधारभूत अस्पताल चौरपाटीबाट समेत स्वास्थ्य सेवा दिन ब्यबस्थापन सहित सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा ध्यये राखेको न्याय हेल्थ नेपाल नेपाल सरकारसंग सहकार्य गर्दै सुबिधाबन्चित समुदायका लागि स्वास्थ्य सेवामा सुधार गर्ने मिसन रहेको छ ।