मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जिल्लाका वनहरुमा आगलागी : नियन्त्रणमा छैन् सुरसार

अछाम जिल्लाका वनहरुमा आगलागी : नियन्त्रणमा छैन् सुरसार


अछाम : अछाम जिल्लाका अधिकाशं वनहरुमा आगलागी भईरहेको छ । सामुदायिक, कबुलियति, निजि वन तथा अन्य सरकारी जंगलक्षेत्रमा आगलागी भईरहेको हो । गर्मियाम सुरु भएसंगै अछामका सामुदायिक वनहरुमा जथाभाबी रुपमा आगलागी भईरहेको छ ।

उपभोक्ताहरुकै लापरबाहीका कारण धेरै जसो सामुदायिक तथा राष्टिय वन क्षेत्रमा समेत आगलागी भईरहेको बुझिएको छ । जिल्लाको क्षेत्र नं. १ को बुढाकोट, गुयलापानी, सिद्देश्वर, गोसेखोला, भिरकोट, सोकट, पायल, बयालपाटा, नन्देगडा, कैलाशखोला लगायतका साुमदायिक वन क्षेत्रमा आगलागी भईरहेको छ ।

यस्तै क्षेत्र नं. २ का समेत अधिकांश वनहरुमा समेत आगलागी भईरहेको छ । जथाभाबी हुने आगलागीले भरखरै पलाएका पालुवा, बोटबिरुवा, जडिबुटी नास हुनुका साथै, चराचुरुंगी तथा बन्यजन्तु समेत मर्ने गरेका छन् । आगलागीले पानीका मुहान समेत सुक्ने गरेका छन् भने वनमा बासस्थान भएका जंगली जनावर आगलागी भएपछि गाँउ पस्ने डर पनि उत्तिकै भएको र त्यसले गर्दा क्षति समेत हुन सक्ने स्थानियहरुको आशंका छ ।

वनमा आगलागी भएपनि नियन्त्रणका लागि भने कहि कतैबाट पहल नभएको पाईएको छ । वनका उपभोक्ता समिती, उपभोक्ता, प्रहरी प्रशासनका साथै वन कार्यालयबाट पनि पहल हुन सकेको छैन् । वनहरुमा लागेको आगो निभाउनका लागि के कस्तो प्रयस भईरहेको छ भनेर अछामका प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकसंग बुझ्दा वन कार्यालय तथा आगो लागेको ठाँउबाट आफुलाई खबर नभएको बताए ।

समन्यव भएमा आगो नियन्त्रणका लागि प्रहरी परिचालन गर्न सकिने उनले बताए । यता डिभिजन वन कार्यालय अछामका प्रमुख जनकराज पाध्यायले आगो नियन्त्रणका लािग कार्यालय संग छुट्टै केहि व्यावस्था नभएकोले सम्बन्धित क्षेत्रका उपभोक्ता र समितिका पदाधिकारीहरुले नियन्त्रण गर्नु पर्ने र त्यसका लागि सहयोग माग्नुपर्ने बताए । हाल धनगढी रहेका कार्यालय प्रमुख पाध्यायले आगलागि भएको बारे आफु पनि बेखबर भन्दै प्रहरीसंग समन्वय गरेर आगलागि नियन्त्रणका लागि पहल गर्ने बताए ।

पछिल्लो समय जलबायु परिर्वतन संगै वायु प्रदूषणको चरम अवस्थामा वन डढेलोले गर्दा लाखौं वन्यजन्तु र बोटबिरुवा विनाश हुनुका साथै मानव जीवनको स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ । “केही व्यक्तिको लापरवाहीका कारण यस्तो अवस्था सिर्जना हुन्छ, यसलाई नियन्त्रणका लागि उपभोक्ता, समुह र सरोकारवाला सबै सचेत बन्नुपर्छ,” पत्रकार महासंघ अछामक अध्यक्ष खम्म खत्रीले भने, “लापरबाहीका कारण पनि डढेलोका घटना बढेका छन् ।”

हिउँदे समय शुरु भएसँगै वन जङ्गलमा डढेलोको जोखिम रहने भएकाले डिभिजन वन कार्यालय अछामले डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेको भए पनि प्रभाबकारी हुन् सकेका छैन । चैत वैशाखको समयमा वन जङ्गलमा अत्याधिक डढेलो लाग्ने समय भएकाले कार्यालयले डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रमलाई जोड दिएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको डिभिजन वन कार्यालय अछामले जनाएको छ ।

“यो समय जङ्गलमा डढेलो लाग्ने समय हो, डढेलो लागिहाल्यो भने तत्कालै नियन्त्रण र रोकथामका लागि विभिन्न सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता नै उत्तरदायी हुनुपर्ने भएपनि त्यसो हुन नसकेको डिभिजन वन कार्यालय अछामका प्रमुख पाध्यायले बताए ।

वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको उनको भनाई छ । “डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, नजिकको प्रहरी, सशस्त्र प्रहरी लगायतलाई आग्रह गरेका छौ,” उनले भने ।

वन ऐन अनुसार डढेलो लगाउने वा आगलागी हुने कार्य गर्नेलाई नोक्सान भएको काठपात बिगो असुल गरी थप १० हजार जरिवाना वा एक बर्ष वा दुबै सजाय हुनसक्ने व्यवस्था रहेको छ । स्थानीय सरकार सचालन ऐन २०७४ अनुसार पालिकाको काम कर्तव्य र अधिकार अन्र्तगत सामुदायिक वन ग्रामिण तथा शहरी वन, धार्मिक वन, कबुलियती वन र साझेदारी बनको संरक्षण, सम्बर्दन, उपयोग अनुगमन र नियमन तथा बन उपभोक्ता समुहको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारकालाई रहेको छ ।

स्स्थानिय सरकारको दायित्व भएपनि आगलागी भएका ठाँएमा आगो नियन्त्रणमा कुनै पनि पालिका सरकारले सुरसार नगरेको पाईएको छ । अछामका १० वटै स्थानिय तहका वन क्षेत्रमा कुनै न कुनै तवरले आगलागी भएपनि नियन्त्रणमा भने स्थानिय सरकार समेत उदासिन भएको देखिन्छ ।

अछाम जिल्लामा १ लाख ६ हजार १ सय ९८ हेक्टर वन क्षेत्र रहेको छ । कुल क्षेत्रफलको ६२.ं७७ प्रतिशत वन क्षेत्र मध्ये करिब ५० प्रतिशत वन सामुदायिक रहेको छ भने बाँकी राष्टिय वनकै क्षेत्रमा रहेको छ । यसको केही प्रतिशत खप्तड क्षेत्रमा पर्ने डिभिजन वन कार्यालय अछामले जनाएको छ ।