मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देवता रिसाउने डरले जीर्ण पुलबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य

देवता रिसाउने डरले जीर्ण पुलबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य


अछाम, असोज १५ गते । अछामको पञ्चदेवल विनायक नगरपालिका ९ स्थित चण्डिका माध्यमिक विद्यालयका विद्यार्थी छात्राहरु भत्किएको झोलुङ्गे पुलको यात्रा गरेर विद्यालय जान्छन् । गएको जेठ २७ गते पुलको एकतर्फका लठ्ठा चुँडिएर १३ वटा खच्चड फस्दा पुल नै कोल्टे परेको थियो । एकतर्फ कोल्टे परेको झोलुङ्गे पुलबाटै उनीहरु यात्रा गर्ने गर्छन् ।

भत्किएर जीर्ण भएको पुलमा स्थानीय प्रशासनले यात्रा गर्न रोक लगाएको छ । तर पनि दैलेखबाट अछामको विद्यालयमा पढ्ने छात्राहरु महिनावारीको समयमा जोखिमपूर्ण यात्रा गरेर विद्यालय जाने गरेका छन् । सुरुमा यात्रामा प्रतिबन्ध लगाइएको पुलमा अहिले महिनावारीको समयमा महिलाहरु आवतजावत गरिरहेका छन् । उनीहरुलाई स्थानीय प्रहरीले नदेखे झैं गर्ने गरेको छ ।

जीर्ण पुलको करिब ५ सय मिटर नजिक अर्को पुल निर्माण भएको छ । नवनिर्मित पुल नजिकै मन्दिर रहेकोले महिनावारी भएका किशोरीहरु उक्त पुलबाट हिँड्दा देवता रिसाउने भन्दै नजाने गरेका छन् । कक्षा ७ मा अध्ययनरत दैलेखको आठबिस नगरपालिका ५ कि तुल्सी चौलागाईले आफूहरु महिनावारीको ९ दिनसम्म जीर्ण पुलबाटै विद्यालय जाने गरेको बताउनुभयो । महिनावारी नहुँदा नवनिर्मित पुलबाट विद्यालय जाने गरेको बताउने चौलागाईंले महिनावारीको समयमा विद्यालयमा नजाँदा आफ्नो पढाइ छुट्ने भएकोले जीर्ण पुलबाटै जानेगरेको बताउनुभयो ।

विद्यालयकी अर्की छात्रा गिता सुनारले विद्यालयमा हाजिर नहुँदा प्रतिदिन २० रुपियाँ जरिवाना तिर्नपर्ने नियम रहेको बताउनुभयो । विद्यालय नजाँदा पढाइ छुट्ने र विद्यालयले जरिवाना समेत तिराउने भएकोले जिर्ण पुलबाटै जाने गरेको बताउनुभयो । उहाँले जिर्ण पुलको मर्मतका लागि सरकारसँग आफ्ना कुरा पु¥याइदिन अनुरोध गर्नुभयो । नयाँ बनेको पुलबाट महिनावारीको समयमा यात्रा गर्न नहुने स्थानीयको विश्वास छ ।

नवनिर्मित पुलको दैलेखपट्टि नैनेल देवताको मन्दिर छ । परापूर्वकालदेखि स्थानीयले नैनेल देवताको पूजा गर्ने गरेका छन । महिनावारी तथा गर्भवती समयमा मन्दिरको नजिक जान नहुने यहाँको धार्मिक विश्वास छ ।

चण्डिका माध्यमिक विद्यालय अछामका लेखापाल गणेश कार्कीका अनुसार पहिलेको तुलनमा विद्यालयमा छात्राको उपस्थिति कम देखिएको छ । केही छात्राहरु जोखिम मोलेर विद्यालय आउने गरेको भए पनि अधिकांश छात्राहरु महिनावारीको ९ दिनसम्म विद्यालयमा अनुपस्थित हुन्छन् ।

विद्यालयका छात्रा मात्र हैन अछामको पञ्चदेवल विनायक नगरपालिकाका अधिकांश गर्भवती महिला र महिनावारी हुने महिलाहरु दैलेखको खिड्किज्यूला बजारमा सामान किन्न जाँदा लठ्ठा चुँडिएर जीर्ण बनेको पुलबाटै यात्रा गर्ने गरेका छन् । जसका कारण स्थानीयलाई जोखिम बढेको छ ।

पञ्चदेवल विनायक नगरपालिका ९ का वडा अध्यक्ष रामप्रसाद जैसीका अनुसार पुलको पुनर्निर्माण नभएसम्म स्थानीयलाई दुःख नै हुनेछ । स्थानीयहको धार्मिक आस्थासँग जोडिएको कुरा भएकाले जनप्रतिनिधिले पनि उनीहरुलाई कर गर्न नमिल्ने उहाँको भनाइ छ । स्थानीय महिलाहरु र स्कुल उमेरका किशोरीहरुले पुलको पुनर्निर्माणको माग गरेका छन् । – गोरखापत्र