मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गममा असम्भव जस्तै मानिने चोटको बयालपाटामा सफल शल्यक्रिया

दुर्गममा असम्भव जस्तै मानिने चोटको बयालपाटामा सफल शल्यक्रिया


अछाम । बयालपीटा प्रादेशिक अस्पतालमा जटिल खालको चोटको सफल शल्यक्रिया गरिएको छ। अछामको मेल्लेख गाउँपालिका–६ की ४४ वर्षीया देवसरा कडायत (साउँद) को काटिएको हातको सफल शल्यक्रिया गरिएको हो। हँसियाले काटिएर चार दिन पुरानो घाउ लिएर अस्पताल पुगेकी कडायतको हातका तीन वटा कण्डरा (टेण्डन), दुई वटा नाडी (रिस्ट) र एउटा स्नायु (नर्भ) मा पुरै क्षति पुगेको थियो। अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. विश्वबन्धु निरौला नेतृत्वको चिकित्सकीय टोलीले उनको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।

रुखबाट छोराले घाँस काटिसकेपछि हँसिया भुइँमा फाल्ने क्रममा उछिट्टिएर हातमा लाग्दा देवसराको हात काटिएको थियो। हँसिया लागेपछि आफूलाई केही थाहा नभएको र करिब एक घण्टापछि होस आउँदा हातबाट धेरै रगत बगिसकेको उनले बताइन्। हात सफा गर्न नजिकैको खोलामा जाँदा हातबाट बगेको रगतले खोला नै रातो भएको घटना उनले सम्झिइन्।

श्रीमतीको हात काटिएको थाहा पाएपछि उनका श्रीमान्ले उनलाई घरबाट नजिकैको स्वास्थ्य चौकी लगेका थिए। स्वास्थ्य चौकीमा सामान्य उपचार गरी टाँका लगाएपछि उनीहरू घर फर्किएका थिए। भदौ २५ गते हात काटिए पनि स्वास्थ्य चौकीमा गरिएको उपचारबाट निको हुने विश्वासमा देवसरा र उनका परिवारले तत्काल थप उपचारका लागि अन्यत्र जाने आवश्यकता महसुस गरेनन्। तर, हातमा दुखाइ बढ्दै गएपछि घटना भएको चार दिनपछि उनी बयालपाटा अस्पताल पुगेकी थिइन्।

अस्पतालमा परीक्षण गर्दा हातका विभिन्न महत्त्वपूर्ण भागमा गम्भीर चोट लागेको देखिएपछि डा. निरौलाको नेतृत्वमा शल्यक्रिया गरिएको थियो। चार दिन पुरानो घाउ भए पनि हातका क्षतिग्रस्त सबै भागको मर्मत गरिएको र अहिले हात चल्ने अवस्थामा रहेको डा. निरौलाले बताए। चोट लागेको दिनमै अस्पताल ल्याइएको भए शल्यक्रिया गर्न अझ सहज हुने भए पनि ढिला गरी अस्पताल ल्याउँदा समेत चिकित्सकीय टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको हो।

शल्यक्रियापछि देवसराको बयालपाटा अस्पतालको अन्तरङ्ग विभागमा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ। अहिले हातको दुखाइ कम हुँदै गएको र औँलाहरू चल्न थालेपछि उनी छिट्टै निको भएर घर फर्किने विश्वासमा छन्। आफ्नै घरछेउमा उपचार पाउँदा खुसी व्यक्त गर्दै उनले धनगढी वा अन्यत्र उपचारका लागि जानुपरे धेरै समय र खर्च लाग्ने कुरा आफूलाई राम्रोसँग थाहा भएको बताइन्।

“बयालपाटामै उपचार भयो, अब हामी ढुक्क छौँ,” देवसराका श्रीमान्ले खुसी व्यक्त गर्दै भने। खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएको देवसराको परिवारमा श्रीमान् सहित छ जना छोराछोरी छन्। परिवारको घरखर्च चलाउन समेत कठिन हुने अवस्था रहेकाले उपचार खर्चको व्यवस्थापन उनीहरूका लागि चुनौतीपूर्ण थियो।

न्यूनतम शुल्कमा उपचार, बाहिर जानुपरे २ देखि ३ लाख रुपैयाँसम्म खर्च हुने अवस्था
बयालपाटा अस्पतालमा जटिल शल्यक्रिया भए पनि बिरामीको आर्थिक अवस्था कमजोर रहेकाले अत्यन्त न्यूनतम शुल्कमा उपचार गरिएको डा. विश्वबन्धु निरौलाले बताए। उनका अनुसार दुर्गम क्षेत्रमा यस्ता किसिमका जटिल चोटको शल्यक्रिया गर्नु सहज हुँदैन। कतिपय अवस्थामा बिरामीको सफल उपचारमा अन्य परिस्थितिसँगै भाग्यले समेत साथ दिनुपर्ने अवस्था आउने उनले बताए।

बयालपाटा अस्पतालमा हाडजोर्नी विशेषज्ञ उपलब्ध नभएको भए देवसरालाई धनगढी वा नेपालगञ्ज लैजानुपर्ने अवस्था आउन सक्थ्यो। त्यस्तो अवस्थामा उपचारका लागि करिब २ देखि ३ लाख रुपैयाँसम्म खर्च हुने सम्भावना रहेको डा. निरौलाले बताए। तर, बयालपाटा प्रादेशिक अस्पतालले बिरामीको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै सर्वसुलभ उपचार प्रदान गर्दै आएको उनको भनाइ छ।

डा. निरौलाले यसअघि पनि बयालपाटा प्रादेशिक अस्पतालमा थुप्रै जटिल खालका शल्यक्रिया सम्पन्न गरिसकेका छन्। दुर्गम क्षेत्रमा असम्भवजस्तै मानिने चोटको शल्यक्रिया समेत बयालपाटा अस्पतालमा सफल हुँदै आएको छ। यसले स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालको भूमिकालाई थप महत्त्वपूर्ण बनाएको छ।