मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छाउगोठमुक्त अभियानमा जिल्लाको चौरपाटी गाउँपालिका

छाउगोठमुक्त अभियानमा जिल्लाको चौरपाटी गाउँपालिका


अछाम: जिल्लाको चौरपाटी गाउँपालिका छाउगोठमुक्त अभियानमा जुटेको छ । पहिलो चरणमा अन्तरक्रियादेखि जनचेतनामुलक कार्यक्रम सात वटै वडामा गर्ने भएको छ । छाउगोठमा र घरमा बस्ने महिलाको तथ्याक संकलन हुने भएको छ ।

चौरपाटी गाउँपालिकाको आयोजना समविकास नेपालको सहजिकरण र रेडियो जनप्रिय एफएमको समन्वयमा मर्यादित महिनावरी र छाउगोठमुक्त अभियान सुरु हुन लागेको हो ।

गाउँपालिका स्तरिय छाउगोठमुक्तको लागि समिति गठनसँगै अव छाउगोठमा बस्ने प्रथाको अन्त्यको लागि वडा–वडामै जान लागेको छ । वडामा पनि पनि छाउगोठमुक्त समिति गठन हुनेछ ।

मर्यादित महिनावरी र छाउगोठमुक्त अभियान अन्र्तगत वैशाख १८ गते वडा नं.२ शोकट, १९ गते वडा नं.३ गगुडा, २१ गते वडा नं.६ दूनिमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरिने गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले जानकारी दिए ।

यस्तै वैशाख २२ गते वडा नं.७ मार्कु, २३ गते वडा नं.५ लुंग्रा , २४ गते वडा नं.४ पायल र २५ गते वडा नं.१ सिउडीमा कार्यक्रमको आयोजना हुने भएको छ ।

विहिवार शोकटमा हुने मर्यादित महिनावरी र छाउगोठमुक्त अभियानको गाउँपालिकाका अध्यक्ष साउदले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारु, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक ईश्वरी प्रसाद भण्डारी लगायतको सहभागिता रहने कार्यक्रम रहेको छ ।

महिनावरीको समयमा गोठमा बस्ने कुप्रथाको समाजबाट अन्त्य गर्नको लागि अभियानको सुरुवात गर्न गाउँपालिका अध्यक्ष साउदले जानकारी दिए । सामाजिक विकृतिको रूपमा रहेको छुईप्रथाले महिलाको जीवनमा पारेको असर न्यूनिकरणको लागि सुरुवात हुने अभियानलाई सफल पार्न सहयोग गर्न अध्यक्ष साउदले सवैलाई आग्रह गरे ।

उनले आगामी दिनमा अझै सचेतनाका कार्यक्रम अगाडी बढाईने जानकारी समेत दिए । गाउँपालिकाकामा अझै पनि छाउगोठ रहेको सूचना रहेको छ । कानुनी कार्वाही प्रक्रियाका साथै जनचेतनामुलक कार्यक्रमलाई पनि सँगै वढाइने गाउँपालिका अध्यक्ष साउदको भनाई रहेको छ ।

गाउँपालिकामा कहाँ के कति छाउगोठ निर्माण भएका छन् त्यसको एक पटक पूरै अनुगमन गर्ने योजना समेत गाउँपालिकाको रहेको छ । महिला महिनावारी भएका बेला छाउगोठमा बास बस्दा विभिन्न समयमा गरेर अछाममा १५ जनाको ज्यान गईसकेको छ ।