अछाम ः बयालपाटा प्रादेशिक अस्पताल अछाममा शुक्रबार देखि चौथो ग्रामीण ट्रमा सम्मेलन हुने भएको छ । शुक्रबार र शनिबार गरि २ दिन सम्म चौथो ग्रामीण ट्रमा सम्मेलन २०२६ सञ्चालन हुने भएको हो ।
नेपालको दुर्गम तथा ग्रामिण क्षेत्रमा हाडजोर्नी तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको बयालपाटा प्रादेशिक अस्पतालका कार्यकारी निर्देशक डा मन्दिप पाठकले बताए।
निर्देशक डा पाठकका अनुसार ट्रमा र अर्थोपेडिक सेवाको पहुँचमा सुदूर तथा कर्णालीका दुर्गम क्षेत्रका बिरामीलाई अस्पतालसम्म पुर्याउन र अहिले पाईरहेको सेवामा सुधार ल्याउने सम्मेलनको उद्देश्य रहेको छ। समुदायमा ट्रमा केयरमा नयाँ अपडेट के छ, नेपाल जस्तो भौगोलिक विकट क्षेत्रमा घर देखि अस्पताल सम्मा समयमै सहज उपचार दिन सकिन्छ भन्ने उद्देश्य सम्मेलनको रहेको अस्पतालले जनाएको छ ।
सम्मेलनमा अर्थोपेडिक सर्जन डा। भाष्कर राज पन्त, नेपाल अर्थोपेडिक एशोसिएसनका पूर्व अध्यक्ष अर्थोपेडिक डा। अनिल बहादुर श्रेष्ठ, ब्राउन बिश्वबिद्यालयका अमेरिकाका सहयाक प्राध्यापक डा। रामु खरेल, आकस्मिक चिकित्सक डा। ओलिटा शिल्पकार, ब्राउन बिश्वबिद्यालयका आकस्मिक चिकित्सक डा। एमी एलेन लगायतको मुख्य प्रस्तुती रहनेछ ।
सम्मेलनको पहिलो दिन शुक्रबार बिशेषज्ञ डाक्टरहरु मार्फत एकदिने कार्यशाला हुनेछ । जसमा भिडियो एक्सरे मार्फत हड्डीमा हुने चोटपटक, पेटमा हुने समस्या र रगतको नलिमा रगत जम्ने जस्ता समस्याको भिडियो एक्सरे मार्फत कसरी पहिचान गर्ने बिषयमा जानकारी गराईनेछ । अस्पतालका आकश्मिक विभागमा काम गर्ने स्वास्थ्यकर्मी, एमडिजीपी डाक्टर, मेडिकल अधिकृत लगायतहरु उक्त कार्यशालामा सहभागी हुनेछन् ।
सम्मेलनको दोश्रो दिन शनिबार ग्रामिण ट्रमा केयर तथा हाडजोर्नीको उपचार पद्धती, नयाँ जानकारी, समस्याको पहिचान लगायतका बिषयमा प्रस्तुती रहने आयोजकले जनाएको छ । सन् २०१८ देखि बयालपाटामा ग्रामिण ट्रमा सम्मेलन हुदैँ आईरहेको छ डा। पाठकले भने यो चौथौ सम्मेलन पनि त्यसैको निरन्तरता हो । यसअघि न्याय हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालन हुदैँ आएको बयालपाटा अस्पतालमा ३ पटक सम्म सम्मेलन सफलतापूर्वक सम्पन्न भईसकेको छ ।
सम्मेलनको सहआयोजकमा हाप्सा नेपाल रहेको छ भने प्राविधिक सहयोग तथा सहकार्य न्याय हेल्थ नेपाल, नेपाल अर्थोपेडिक एशोसिएसन, साइन फ्र्याक्चर केयर इन्टरनेशनल र नेपाल मेड रहेका छन् ।
प्रादेशिक अस्पतालको उद्घाटन, ट्रमा युनिट र ब्लड बैँक स्थापना हुदैँ ।
बयालपाटा प्रादेशिक अस्पतालको शुक्रबार एक कार्यक्रमका बिच औपचारिक उद्घाटन हुने भएको छ । २०८२ भाद्र १ गते अस्पतालको स्वामित्व प्रदेश सरकारले लिएसंगै प्रादेशिक अस्पतालको एक कार्यक्रमका बिच मुख्मन्त्री माननिय कमल बहादुर शाहले उद्घाटन गर्ने भएका हुन् ।
बिगत १७ बर्ष देखि नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय संग सहकार्य गर्दै न्याय हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालनमा रहेको थियो । न्याय हेल्थ नेपाल र सामाजिक विकास मन्त्रालय बिच २०८२ असार २२ गते बयालपाटा अस्पतालको स्वामित्व प्रदेशले लिने गरी द्धिपक्षिय सम्झौता भएपछि गत भाद्र १ गते देखि असपताल प्रदेश मातहत आई सञ्चालन भईरहेको छ ।
यस्तै बयालपाटा प्रादेशिक अस्पतालमा शुक्रबार ट्रमा युनिट र ब्लड बैँक स्थापना गरिने भएको छ । यस क्षेत्रमा ट्रमाका बिरामीहरुको चाँपलाई मध्यनजर गर्दै छुट्टै ट्रमा युनिट स्थापना गरी सञ्चालन गरिने अस्पतालका कार्यकारी निर्देशक डा। मन्दिप पाठकले बताए । अस्पतालमा सबैभन्दा धेरै आउने बिरामीहरुमा ट्रमा, हाडजोर्नी र चोटपटकका रहेको भन्दै अस्पतालले छुट्टै ट्रमा यूनिट सञ्चालन गर्न लागेको हो ।
यस्तै अस्पतालले गर्ने शल्यक्रिया उपचारमा कुनै कमि नहोस् भन्ने उद्देश्य सहित ब्लड बैँकको समेत स्थापना गर्ने भएको छ । भोली एक कार्यक्रमको आयोजना गर्दै अस्पताललले ट्रमा यूनिट र ब्लड बैँक एकसाथ स्थापना र सञ्चालन गर्ने भएको छ ।




















प्रतिक्रिया