मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित

आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित


बयालपाटा, अछाम

अछामको बयालपाटा प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी भवेन्द्र बोहरा सम्मानित भएका छन्। अस्पतालमा हेल्थ असिस्टेन्ट (HA) पदमा कार्यरत बोहरालाई हालसम्म ६५ पटक रक्तदान गरी बिरामीको ज्यान जोगाउन पुर्‍याएको योगदानको कदर गर्दै अस्पतालले सम्मान गरेको हो।

अस्पतालद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच बोहराको नि:स्वार्थ सेवाभावको प्रशंसा गर्दै उनलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

बोहराको यो निरन्तर रक्तदान यात्राको पछाडि एउटा भावुक पृष्ठभूमि लुकेको छ। आफु सानै छदा आमाको उपचारको क्रममा रगत अभाव भई मृत्यु भएपछि उनले “रगत अभावमा अब कसैले ज्यान गुमाउनु नपरोस्” भन्ने दृढ सङ्कल्पका साथ रक्तदान सुरु गरेका थिए। सोही समयदेखि उनी हरेक तीन-तीन महिनामा नियमित रक्तदान गर्दै आइरहेका छन्।

अस्पतालका कार्यकारी निर्देशक डा. मन्दिप पाठकले भने, “भवेन्द्रजी अस्पतालको एक कर्मचारी मात्र नभएर मानवताको पर्याय नै बन्नुभएको छ। धेरै पटक आकस्मिक अवस्थामा उहाँको रगतले बिरामीलाई नयाँ जीवन दिएको छ। उहाँको यो कीर्तिमानी कार्यले अन्य युवा र स्वास्थ्यकर्मीलाई समेत ठूलो प्रेरणा दिएको छ।”

‘रक्तदान जीवनदान’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै आएका बोहराले अछाम मात्र नभई विभिन्न स्थानमा पुगेर रगत दान गरिसकेका छन्। सम्मान ग्रहण गरेपछि बोहराले भने, “मैले आमालाई बचाउन नसके पनि अरूको आमा, बुबा वा सन्तानलाई बचाउन पाउँदा आत्मसन्तुष्टि मिल्छ। शरीरले साथ दिएसम्म म यो अभियानलाई १०० पटकसम्म पुर्‍याउने लक्ष्यमा छु।”

अस्पतालले बोहरालाई सम्मान गरेसँगै स्थानीयस्तरमा रक्तदानको महत्त्वबारे सकारात्मक सन्देश प्रवाह भएको छ।