अछामको कमलबजार मा किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले “सेफ गर्ल्स” परियोजना कार्यान्वयन तथा युवा सञ्जाल सुदृढीकरण सम्बन्धी पालिका स्तरीय संयुक्त कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रम कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA), UNFPA तथा Good Neighbors International Nepal को सहयोग तथा सहकार्यमा नेपालद्वारा सञ्चालित सुरक्षित एवं सहयोगी वातावरण (Safe Girls) परियोजना अन्तर्गत आयोजना गरिएको हो।
कार्यक्रममा कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख शारदा कुँवर, नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख, शिक्षक, नगरस्तरीय बाल सञ्जालकी अध्यक्ष भावना भण्डारी, पत्रकारलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा किशोरी तथा युवतीहरूका लागि सुरक्षित, सहयोगी तथा हिंसामुक्त वातावरण निर्माण गर्ने उद्देश्यले सञ्चालन भइरहेका गतिविधिबारे जानकारी गराइएको थियो। परियोजनाले विशेषगरी लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन, बालविवाह तथा सामाजिक विभेदबाट प्रभावित किशोरी तथा युवतीहरूको संरक्षण, शिक्षा, सीप विकास तथा सशक्तीकरणमा जोड दिँदै आएको जनाइएको छ।
परियोजना अन्तर्गत किशोरी तथा युवतीहरूलाई आत्मरक्षा, नेतृत्व विकास, जीवनोपयोगी सीप, कानुनी सचेतना तथा सुरक्षित वातावरण निर्माणसम्बन्धी अभिमुखीकरण प्रदान गरिँदै आएको बताइएको छ। साथै समुदाय, विद्यालय, अभिभावक तथा स्थानीय तहसँग समन्वय गरी बालिका तथा युवतीमैत्री वातावरण निर्माणमा समेत विशेष जोड दिइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ढकालले नगरपालिकाको तर्फबाट “सेफ गर्ल्स” परियोजनाको उद्देश्यअनुसार किशोरी तथा युवाहरू, विशेषगरी किशोरी तथा युवा महिलाका लागि सुरक्षित, समावेशी तथा सक्षम वातावरण प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रमको सहजीकरण जगदी दास ले गर्नुभएको थियो। उहाँ Good Neighbors International Nepal का प्रदेश संयोजक हुनुहुन्छ। कार्यक्रम सञ्चालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगाना ले गर्नुभएको थियो।




















प्रतिक्रिया