मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एसईई उत्तीर्ण प्रतिशत ५५.२६, महाकाली मावि कुईकाबाट एक जना पनि पास भएनन्

अछाममा एसईई उत्तीर्ण प्रतिशत ५५.२६, महाकाली मावि कुईकाबाट एक जना पनि पास भएनन्


अछाम — अछाम जिल्लामा सञ्चालन भएको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५५.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ अछामका सूचना अधिकारी सुरेन्द्र प्रसाद बजगाईका अनुसार नियमिततर्फ परीक्षामा सहभागी ३ हजार ८ सय ४ जना विद्यार्थीमध्ये २ हजार १ सय १७ जना उत्तीर्ण भएका हुन्। बाँकी १ हजार ६ सय ८३ जना विद्यार्थीले एनजी (Non-Graded) प्राप्त गरेका छन्।

गत चैत १९ गतेदेखि सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा अछाम जिल्लाबाट कुल ४ हजार ४ सय ९१ जना विद्यार्थी सहभागी भएका थिए।

यस वर्ष जिल्लाको एक विद्यालयको नतिजा शून्य (निल) आएको छ। कमलबजार नगरपालिका–५ स्थित महाकाली माध्यमिक विद्यालय, कुईकाबाट परीक्षामा सहभागी १६ जना विद्यार्थीमध्ये एक जना पनि उत्तीर्ण हुन सकेनन्।

यता, सबै विद्यार्थी उत्तीर्ण गराउने विद्यालयमा ढकारी गाउँपालिका–४ स्थित मनकामना माध्यमिक विद्यालय, बालाता र साफेबगर नगरपालिका–१२ स्थित तुका माध्यमिक विद्यालय, खप्तड रहेका छन्।

जिल्लामा ३.४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।

गत वर्ष अछाममा एसईई उत्तीर्ण प्रतिशत ४० प्रतिशत मात्रै रहेकोमा यस वर्ष ५५ प्रतिशतभन्दा माथि पुगेको सूचना अधिकारी बजगाईले बताउनुभयो। उहाँका अनुसार विगतका वर्षको तुलनामा यस वर्षको नतिजा सन्तोषजनक रहेको छ।

“उत्तीर्ण प्रतिशतका आधारमा हेर्दा यस वर्षको नतिजालाई राम्रो मान्न सकिन्छ,” सूचना अधिकारी बजगाईले भन्नुभयो।