मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेसीज अछामद्वारा रक्तदान तथा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न

जेसीज अछामद्वारा रक्तदान तथा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न


मंगलसेन, अछाम । विश्व रक्तदाता दिवसको अवसरमा अछाम जेसीजको आयोजनामा जिल्ला अस्पताल अछाममा रक्तदान तथा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई आवश्यक परेको रगत उपलब्ध गराउने उद्देश्यले ४ जनाले रक्तदान गरेका छन् भने ४१ जनाको रक्त समूह पहिचान गरिएको छ।

रक्तदान गर्नेहरूमा जिल्ला ट्राफिक कार्यालय अछामका प्रमुख जयहरी चन्द, अछाम जेसीज वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष जेसी निशा भट्टराई, सचिव जेसी पवित्रा खड्का तथा डिप्रोस लघुवित्त शाखा मंगलसेनका प्रमुख डिलबहादुर शाही रहेका छन्।

रक्तदाताहरूले दैलेख जिल्ला आठबीस नगरपालिका–७ निवासी २५ वर्षीया सुत्केरी महिला राजकला विक तथा मंगलसेन नगरपालिका–१२ निवासी ६० वर्षीया शारदा दमाईलाई आवश्यक परेको ए पोजेटिभ (A+) र ओ पोजेटिभ (O+) रगत उपलब्ध गराएका हुन्। आवश्यक समयमा रक्तदान गर्दै उनीहरूले मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।

यसैगरी, रक्त समूह पहिचान गरिएका ४१ जनाले आवश्यकता पर्दा अस्पतालका बिरामीहरूलाई रक्तदान गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

अछाम जेसीजका कोषाध्यक्ष तथा विश्व रक्तदाता दिवस कार्यक्रम संयोजक जेसी कमल कुमार रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला अस्पताल अछामका प्रमुख डा. बेदकुमार चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. चौधरीले रक्तदान जीवनदान भएकाले स्वस्थ व्यक्तिहरूले नियमित रूपमा रक्तदान गर्नुपर्ने बताउनुभयो। समयमै रगत उपलब्ध हुँदा बिरामीको जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्दै उहाँले “रक्तदान जीवनदान” भन्ने नारालाई आत्मसात् गर्दै समाजमा रक्तदानको संस्कार विकास गर्न सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रममा अछाम जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी टेकबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा अछाम जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी फलेन्द्रप्रसाद उपाध्याय, वर्ष २०२५ का अध्यक्ष जेसी जितमान बोहरा, शाखाका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन अछाम जेसीज वर्ष २०२६ का महासचिव जेसी आनन्द साउदले गर्नुभएको थियो।