अछामको मंगलसेन नगरपालिका–१ को नवनिर्मित प्रशासनिक भवन सोमबार एक समारोहका बीच उद्घाटन गरिएको छ। गत आर्थिक वर्षमा मंगलसेन नगरपालिकाको करिब ९० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवनको नगर प्रमुख पदमबहादुर बोहराले औपचारिक उद्घाटन गर्नुभएको हो।
वडा अध्यक्ष लोकराज नाथको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर प्रमुख बोहरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहलाई सम्बोधन गर्दै उहाँले प्रशासनिक भवन केवल भौतिक संरचना मात्र नभई नागरिकलाई सहज, छिटो तथा गुणस्तरीय सेवा प्रदान गर्ने केन्द्रका रूपमा रहने बताउनुभयो।
उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी तथा उत्तरदायी बनाउन यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। वडा नं. १ ले आफ्नै प्रशासनिक भवनबाट सेवा सञ्चालन गर्न थालेपछि सेवाग्राहीलाई थप सुविधा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले भवनको संरक्षण र सदुपयोगमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
नगर प्रमुख बोहराले वडा नं. १ प्राकृतिक स्रोत–साधनले सम्पन्न क्षेत्र भएको उल्लेख गर्दै ती स्रोतहरूको सही उपयोग गर्न सके गरिबी र पछौटेपनको अन्त्य गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। साविकको कुन्तीबण्डाली गाविस प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको स्मरण गर्दै उहाँले यहाँको काठ प्रयोग गरेर मंगलसेनका थुप्रै सरकारी भवन निर्माण गरिएको बताउनुभयो। तर, विगतमा केही व्यक्तिहरूले स्रोत–साधनको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको र सर्वसाधारण नागरिक त्यसको प्रत्यक्ष लाभबाट वञ्चित भएको उहाँको भनाइ थियो।
वडा नं. १ नगरपालिकाको नजिकै भए पनि भौगोलिक विकटताका कारण अपेक्षित विकास हुन नसकेको स्वीकार गर्दै उहाँले नगरपालिकाले उपलब्ध स्रोत–साधनको आधारमा विकास निर्माणका लागि निरन्तर बजेट व्यवस्थापन गर्दै आएको जानकारी दिनुभयो। “जसरी हामी समग्र नगरको विकासका लागि प्रतिबद्ध छौं, त्यसैगरी वडा नं. १ लाई पनि समृद्धिसँग जोड्नेतर्फ सचेत छौं,” उहाँले भन्नुभयो।
मंगलसेन नगरपालिकालाई जिल्लाकै नमुना पालिका बनाउने लक्ष्यका साथ काम भइरहेको उल्लेख गर्दै नगर प्रमुख बोहराले कुन्ती हुँदै ढकारी जोड्ने सडक निर्माणलाई प्रभावकारी ढंगले अगाडि बढाउन आफूले निरन्तर पहल गरेको बताउनुभयो। तर स्थानीयस्तरबाट अपेक्षित चासो र सहयोग नपाउँदा सडक निर्माण कार्यले अपेक्षित गति लिन नसकेको उहाँको भनाइ थियो। यद्यपि, आफ्नो निरन्तर पहल र खबरदारीका कारण हालसम्मको प्रगति सम्भव भएको उहाँले दाबी गर्नुभयो।
कार्यक्रममा बोल्दै स्थानीय सरोकारवालाहरूले कुन्ती क्षेत्रका केही बस्तीमा अझै पनि खानेपानी, सडक तथा विद्युत् सेवाको अवस्था कमजोर रहेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका थिए। उनीहरूले साविकको जैधन क्षेत्रमा हालसम्म वडा केन्द्रसँग सडक सञ्जाल नजोडिएको, खेतगैरासम्म सडक तथा विद्युत् नपुगेको, साथै ढुंगानीको माथिल्लो भेग र लेष्ठीगाड भट्टे टोलमा विद्युत् सेवा विस्तार हुन नसकेको गुनासो गरेका थिए।
उनीहरूले ती बस्तीहरू भौगोलिक रूपमा टाढा भएकाले स्थानीय सरकारप्रति नागरिकमा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै तत्काल आवश्यक पूर्वाधार विकासका कार्य अघि बढाउन माग गरेका थिए।
कार्यक्रममा वडा नं. ३ का अध्यक्ष बिर्खबहादुर बोगटी, वडा नं. ४ का अध्यक्ष नामसिंह धामी, वडा नं. ५ का अध्यक्ष झंकरप्रसाद भाट, वडा नं. ६ का अध्यक्ष देवेन्द्रप्रसाद भण्डारी, वडा नं. ७ का अध्यक्ष राजबहादुर शाही, वडा नं. ८ का अध्यक्ष ज्ञानेन्द्रबहादुर बोहरा तथा वडा नं. १० का अध्यक्ष जनकबहादुर कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्दै भवन उद्घाटनसँगै स्थानीय सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव मीनराज नाथ, नेपाली कांग्रेसका चन्द्र जैगडी, नेकपा (एमाले) वडा कमिटी अध्यक्ष प्रशान्त राना, नेपाल कम्युनिष्ट पार्टीका लालबहादुर साउद, कुन्ती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल थापा, मालिका सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष होमबहादुर साउद, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय मंगलसेनका सञ्चालक कविता कठायत, कुन्ती माविका प्रधानाध्यापक श्याम ढुंगाना, सामुदायिक वन समूहका अध्यक्ष गोपाल जैगडी तथा युवा क्लबका तर्फबाट बिर्खबहादुर रानाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा मालिका पञ्चेबाजा समूह तथा कुन्ती माध्यमिक विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। साथै भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरूलाई सम्मान गरिएको थियो।
कार्यपालिका सदस्य हंश थापा रानाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सञ्चालन वडा सचिव हिरण्ड नाथ योगीले गर्नुभएको थियो।



















प्रतिक्रिया