अछामको मंगलसेन नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चिता र दिगोपना पालिका’ घोषणा गरिएको छ ।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नाराका साथ मंगलसेन स्वास्थ्य शाखाको आयोजनामा पूर्ण खोप सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी सो घोषणा गरिएको हो ।
१६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै खोप दिलाइ पूर्णखोप पाएको सुनिश्चित गरिएकाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख भूमिनन्द ढुंगानाले जानकारी दिनुभएको छ ।
पालिकालाई पूर्ण खोप सुनिश्चिता र दिगोपना पालिका घोषणा गर्दै जिल्ला स्वास्थ्य कार्यालय अछामका कार्यालय प्रमुख झपटराज ढुंगानाले यो अभियाना सफल पार्नका लागि खोप लगाउन गाउँगाउँ र घरघरसम्म पुगेर सचेतना जगाउने काममा भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासले सम्भव भएको बताउँदै उहाल आगामि दिनमा त्यसलाई दिगोपना दिनका लागि पनि उतिकै भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।
बसाई सराई लगायतका कारणले केही चुनौती थपिएको भन्दै बरिष्ठ जनस्वास्थ्य अधिकृत ढुंगानाले यो चुनौतीको सामना गर्दै अघि बढ्नु अहिलेको आवश्यक्ता भएको बताउनुभयो ।
खोेपले नै एक सक्षम नागरिक बनाउन सक्ने भएकाले यसतर्फ हरेक अभिभावक तथा सरोकारवाला गम्भिर हुनुपर्ने उहाको भनाई थियो ।
कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले स्वास्थ्य शाखाको सक्रियतामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको मेहनतले सिङ्गो पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्न सफल भएको भन्दै यो अभियानका सकृय सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
यो पालिकाको लागि एक महत्वपूर्ण अभियान भएकाले आगामी दिनमा जिल्लाकै प्रथम पालिका बनाउन जुट्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।
सोही अवसरमा बोल्दै नगरपालिका उप प्रमुख संगीता रावल सोडारीले नगरपालिकालाई खोपको सुनिश्चिततासँगै अब दिगोपना दिनका लागि बालबालिकाका अभिभावकहरुलाई पनि खोपको महत्व बुझाउन जरुरी रहेको बताउनुभयो ।
अहिले पनि केही बालबालिका विविध कारणले खोप लगाउन छुटेको कुरा आईरहेको तर्फ संकेत गर्दै उप प्रमुख रावलले यस तर्फ सचेत हुन सुझाव दिनुभएको छ ।
कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना, सामाजिक विकास समितिका संयोजक तथा वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, पत्रकार टेक बहादुर थापा लगायले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको संचालन सुचना अधिकारी बिष्णु प्रसाद जैसीले गर्नुभएको थियो । कार्यक्रममा १४ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यचौकी प्रमुख लगायत विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।





















प्रतिक्रिया