मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी गाउँपालिकाको ४७ करोड बढीको बजेट, विकास र सेवा प्रवाहमा जोड

ढकारी गाउँपालिकाको ४७ करोड बढीको बजेट, विकास र सेवा प्रवाहमा जोड

कृषि, शिक्षा र पूर्वाधार प्राथमिकतामा


अछाम। अछामको ढकारी गाउँपालिका ले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ९ लाख ७४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बुधबार सम्पन्न गाउँसभामा उपाध्यक्ष नेत्रकला देवी शाहीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। गाउँपालिकाले आन्तरिक स्रोतबाट ६० लाख रुपैयाँ जुटाउने लक्ष्यसहित कुल ४७ करोड ९ लाख ७४ हजार रुपैयाँको बजेट ल्याएको जनाएको छ।

प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ३५ करोड ४३ लाख ७६ हजार रुपैयाँ अर्थात् ७५.२४ प्रतिशत र पुँजीगत खर्चतर्फ ११ करोड ६५ लाख ९८ हजार रुपैयाँ अर्थात् २४.७६ प्रतिशत बजेट विनियोजन गरिएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, रोजगार सिर्जना तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकास, सुशासन तथा जनमुखी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य बजेटले लिएको छ।

त्यसैगरी गाउँपालिकाले अधुरा तथा बहुवर्षीय योजनालाई सम्पन्न गर्ने, विकास निर्माणका कार्यक्रमलाई परिणाममुखी बनाउने तथा सेवा प्रवाहलाई प्रविधिमैत्री र नागरिकमैत्री बनाउने नीति अवलम्बन गरेको जनाएको छ। गाँउपालिकाले पालिका भित्रका ४२ वटा बिद्यालयका बिद्यार्थीहरुलाई स्कुल डेस्र फ्री वितरण गर्ने समेत जनाएको छ ।

गाउँपालिकाले कृषि उत्पादन वृद्धि, युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने कार्यक्रम, गुणस्तरीय शिक्षा तथा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरेको छ। साथै सडक, भवन, सिँचाइ तथा अन्य पूर्वाधार निर्माणका कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ।

गाउँपालिकाले उपलब्ध स्रोतको प्रभावकारी परिचालन, वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै समृद्ध ढकारी निर्माणको अभियानलाई तीव्रता दिने जनाएको छ।

गाउँसभामा प्रस्तुत बजेटमाथि छलफलपछि प्राप्त सुझावहरूलाई समेट्दै आगामी दिनमा कार्यान्वयन प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ।