अछाम। बयालपाटा प्रादेशिक अस्पताल अन्तर्गत सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) को आयोजनामा महेन्द्र माध्यमिक विद्यालय, बयालपाटामा लैङ्गिक हिंसा सम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ।
प्रवर्द्धनात्मक तथा प्रतिरोधात्मक कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत करिब ८० जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई लैङ्गिक हिंसाको परिचय, हिंसाका विभिन्न प्रकार, यसको असर, रोकथामका उपाय तथा हिंसा प्रभावित व्यक्तिहरूले प्राप्त गर्न सक्ने सेवा सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
सहभागी विद्यार्थीहरूलाई बयालपाटा प्रादेशिक अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) बाट उपलब्ध हुने स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, चिकित्सकीय प्रमाण सङ्कलन तथा संरक्षण, कानुनी परामर्श, सुरक्षा व्यवस्थापन, पुनर्स्थापना लगायतका सेवाबारे विस्तृत रूपमा जानकारी गराइएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूहरूले प्राप्त गरेको ज्ञान र जानकारी आफ्ना परिवार, साथीभाइ तथा समुदायसम्म पुर्याई लैङ्गिक हिंसा न्यूनीकरणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले हिंसाविरुद्ध सचेतना फैलाउने तथा आवश्यकता परे OCMC लगायत सम्बन्धित निकायबाट सेवा लिन र अरूलाई पनि सेवा लिन प्रेरित गर्ने बताएका छन्।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक इन्द्रबहादुर रावल ले विद्यालयमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीमार्फत समुदायसम्म सही सूचना पुग्ने र समाज थप सचेत बन्ने विश्वास व्यक्त गरे। उहाँले विद्यालय प्रशासन आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न बयालपाटा प्रादेशिक अस्पतालसँग आवश्यक समन्वय र सहकार्य गर्न सदैव तयार रहेको बताउनुभयो।
बयालपाटा प्रादेशिक अस्पतालका अनुसार OCMC ले लैङ्गिक हिंसाबाट प्रभावित महिला, बालबालिका तथा अन्य व्यक्तिहरूलाई स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, चिकित्सकीय प्रमाण सङ्कलन तथा संरक्षण, कानुनी परामर्श, सुरक्षा व्यवस्थापन तथा पुनर्स्थापना लगायतका एकीकृत सेवा प्रदान गर्दै आएको छ। समुदायमा OCMC सेवाको पहुँच विस्तार गर्ने तथा लैङ्गिक हिंसा न्यूनीकरणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिँदै आएको अस्पतालले जनाएको छ।



















प्रतिक्रिया