मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा प्रादेशिक अस्पतालमा OCMC तथा लैङ्गिक हिंसा सम्बन्धी दुईदिने क्षमता विकास अभिमुखीकरण सम्पन्न

बयालपाटा प्रादेशिक अस्पतालमा OCMC तथा लैङ्गिक हिंसा सम्बन्धी दुईदिने क्षमता विकास अभिमुखीकरण सम्पन्न


अछाम। बयालपाटा प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) तथा लैङ्गिक हिंसा सम्बन्धी दुईदिने क्षमता विकास तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

अस्पतालमा सञ्चालित विस्तारित एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) को सेवा प्रवाहलाई थप प्रभावकारी, पीडितमैत्री तथा गुणस्तरीय बनाउन आयोजित कार्यक्रममा अस्पतालका ४० भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको पहिलो दिन जिल्ला अस्पताल अछामकी नर्सिङ निरीक्षक तथा OCMC फोकल पर्सन गंगा बुढा मगरले लैङ्गिक हिंसाको अवधारणा, प्रकार, कारण, प्रभाव, हिंसा रोकथामका उपाय तथा एकद्वार संकट व्यवस्थापन केन्द्रको उद्देश्य, सेवा प्रवाह र स्वास्थ्य संस्थाको भूमिकाबारे प्रशिक्षण दिनुभयो। उहाँले हिंसा प्रभावित व्यक्तिप्रति संवेदनशील व्यवहार, गोपनीयता कायम राख्ने, सम्मानजनक सेवा प्रदान गर्ने तथा स्वास्थ्य संस्थाले बहुपक्षीय समन्वयमार्फत सेवा उपलब्ध गराउनुपर्ने विषयमा विशेष जोड दिनुभयो।

त्यसैगरी जिल्ला अस्पताल अछामका डा. अतुल भारद्वाजले स्वास्थ्य संस्थामा आउने लैङ्गिक हिंसा प्रभावित बिरामीहरूको चिकित्सकीय व्यवस्थापनबारे सहजीकरण गर्नुभयो। उहाँले हिंसा प्रभावित व्यक्तिसँग संवेदनशील ढङ्गले इतिहास (History Taking) लिने, वैज्ञानिक तरिकाले शारीरिक परीक्षण (Physical Examination) गर्ने, चिकित्सकीय प्रमाण सुरक्षित राख्ने, उपचार गर्ने तथा स्वास्थ्यकर्मीको नैतिक र व्यावसायिक जिम्मेवारीका विषयमा जानकारी गराउनुभयो।

कार्यक्रमको दोस्रो दिन सरकारी वकिल कार्यालय अछामका सरकारी वकिल ईश्वर दत्त जोशीले लैङ्गिक हिंसासम्बन्धी प्रचलित कानुनी व्यवस्था, पीडितलाई उपलब्ध हुने कानुनी सहायता, उजुरी प्रक्रिया, अनुसन्धान तथा दोषीमाथि हुने कानुनी कारबाहीबारे प्रशिक्षण दिनुभयो। उहाँले स्वास्थ्य संस्था, प्रहरी र न्याय प्रणालीबीचको प्रभावकारी समन्वयले पीडितलाई न्याय दिलाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

त्यसैगरी इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक दान सिंह भण्डारीले लैङ्गिक हिंसाका घटनामा नेपाल प्रहरीको भूमिका, अनुसन्धान प्रक्रिया, प्रमाण संरक्षण, पीडितको सुरक्षा तथा OCMC सँगको समन्वय र सहकार्यका विषयमा जानकारी गराउनुभयो। उहाँले पीडितमैत्री अनुसन्धान र समयमै समन्वयले न्याय सम्पादनलाई प्रभावकारी बनाउने उल्लेख गर्नुभयो।

कार्यक्रममा बयालपाटा प्रादेशिक अस्पतालकी OCMC फोकल पर्सन भावना बोगटीले अस्पतालमा विस्तारित एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा रहेको र हाल पनि लैङ्गिक हिंसा प्रभावित व्यक्तिहरूलाई सेवा प्रदान भइरहेको जानकारी दिनुभयो। उहाँले निकट भविष्यमा छुट्टै OCMC युनिट स्थापना गरी उपचार, मनोसामाजिक परामर्श, कानुनी समन्वय तथा पुनर्स्थापनासहितका सेवाहरू अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनुभयो।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले OCMC को अवधारणा, लैङ्गिक हिंसाको पहिचान, पीडितमैत्री सेवा, चिकित्सकीय व्यवस्थापन, कानुनी प्रक्रिया, प्रहरी तथा सरकारी वकिलसँगको समन्वय र स्वास्थ्यकर्मीको जिम्मेवारी सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका छन्।

कार्यक्रमले बयालपाटा प्रादेशिक अस्पतालमा सञ्चालन भइरहेको OCMC सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुका साथै लैङ्गिक हिंसा प्रभावित व्यक्तिहरूलाई गुणस्तरीय, सुरक्षित र सम्मानजनक सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरूको क्षमता थप सुदृढ भएको विश्वास व्यक्त गरिएको छ।

उक्त कार्यक्रम बयालपाटा प्रादेशिक अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) अन्तर्गत सञ्चालन गरिएको हो।