मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तराष्ट्रिय स्वास्थ्य विकास, अनुसन्धान तथा अवस्थासम्बन्धी अन्तरक्रिया धनगढीमा सम्पन्न

अन्तराष्ट्रिय स्वास्थ्य विकास, अनुसन्धान तथा अवस्थासम्बन्धी अन्तरक्रिया धनगढीमा सम्पन्न

स्वास्थ्य क्षेत्रमा प्रभावकारी सुधारका लागि अनुसन्धानमा आधारित नीति, पर्याप्त बजेट र जनप्रतिनिधिको सक्रिय भूमिका आवश्यक : मन्त्री रावल


धनगढी, असार १६। अन्तर्राष्ट्रिय स्वास्थ्य विकास, अनुसन्धान तथा अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार धनगढीमा सम्पन्न भएको छ। सुदूरआज मिडिया नेपाल प्रा.लि.को आयोजना तथा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, धनगढी, कैलालीको प्राविधिक सहयोगमा अन्तरक्रिया कार्यक्रम भएकाे हाे ।

प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, धनगढीका निमित्त निर्देशक तेज विक्रम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर रावल प्रमुख अतिथि रहेका थिए ।

स्वास्थ्य सुधारका लागि सबै क्षेत्रको सहकार्य आवश्यक : मन्त्री रावल

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री मानबहादुर रावलले स्वास्थ्य क्षेत्र कुनै एक निकायको प्रयासले मात्र सुदृढ हुन नसक्ने उल्लेख गर्दै सरकार, स्वास्थ्य संस्था, विकास साझेदार, सञ्चारमाध्यम तथा जनप्रतिनिधिहरूबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले पछिल्लो समय विश्व स्वास्थ्य क्षेत्रमा तीव्र परिवर्तन भइरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय अभ्यास, अनुसन्धान तथा नवीनतम स्वास्थ्य प्रविधिबाट प्राप्त अनुभवलाई प्रदेशस्तरको स्वास्थ्य नीति तथा कार्यक्रमसँग जोड्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। अनुसन्धानमा आधारित नीति तथा योजना निर्माणले मात्रै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने उहाँको भनाइ थियो।

स्वास्थ्य बजेटमा पारदर्शिता र प्राथमिकता आवश्यक : सांसद अक्कल रावल

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य अक्कल रावलले स्वास्थ्य क्षेत्रलाई वास्तविक रूपमा सुधार गर्न बजेट निर्माण प्रक्रिया निष्पक्ष, पारदर्शी तथा आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले केन्द्रदेखि प्रदेश तहसम्म बजेट निर्माण प्रक्रियामा बिचौलियाको प्रभाव कायम रहँदासम्म स्वास्थ्य क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न नसक्ने बताउनुभयो। स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारका लागि राजनीतिक प्रतिबद्धता, सुशासन र उत्तरदायित्व अपरिहार्य रहेको उल्लेख गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक चेतकान्त भुसाल तथा महाकाली प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीले अन्तर्राष्ट्रिय स्वास्थ्य विकास, स्वास्थ्य अनुसन्धान तथा वर्तमान स्वास्थ्य अवस्थासम्बन्धी विषयमा विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो।

उहाँहरूले विश्व स्वास्थ्य संगठन (WHO) का पछिल्ला प्राथमिकता, दिगो विकास लक्ष्य (SDGs), महामारीपछिको स्वास्थ्य प्रणाली सुदृढीकरण, नसर्ने रोगहरूको बढ्दो चुनौती, मानसिक स्वास्थ्य, डिजिटल स्वास्थ्य, स्वास्थ्य अनुसन्धानको महत्व तथा प्रमाणमा आधारित नीति निर्माणका अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी गराउनुभएको थियो।

प्रस्तुतिमा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्थाको विश्लेषण गर्दै दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच, दक्ष स्वास्थ्य जनशक्तिको अभाव, मातृ तथा शिशु स्वास्थ्य, नसर्ने रोग नियन्त्रण, स्वास्थ्य पूर्वाधार तथा अनुसन्धानमा लगानी बढाउनुपर्ने आवश्यकतामाथि विशेष जोड दिइएको थियो।

अन्तरक्रिया तथा छलफलमा प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक झनकराज ढुंगाना, स्मार्ट हेल्थ ग्लोबलका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज खड्का, प्रदेश सभा सदस्यहरू, स्वास्थ्य क्षेत्रका विज्ञहरू तथा अन्य सरोकारवालाहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो।

छलफलका क्रममा प्रदेशको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउन अनुसन्धानमा आधारित नीति निर्माण, स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि तथा जनप्रतिनिधिहरूले स्वास्थ्यका विषयलाई प्रदेश सभामा प्राथमिकताका साथ उठाउनुपर्ने विषयमा जोड दिइएको थियो।

सहभागीहरूले स्वास्थ्य सेवा सुधारका लागि नीति निर्माणमा तथ्य, तथ्यांक तथा अनुसन्धानका निष्कर्षलाई आधार बनाउनुपर्ने, स्थानीय आवश्यकता अनुसार कार्यक्रम तर्जुमा गर्नुपर्ने तथा प्रदेश सरकारले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी दीर्घकालीन योजना अघि बढाउनुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरूले स्वास्थ्य क्षेत्रका चुनौतीहरूलाई प्रदेश सभा, संसदीय समिति तथा अन्य नीति निर्माणका मञ्चहरूमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि, अनुसन्धान प्रवर्द्धन तथा नागरिकले सहज, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न आफूहरू निरन्तर सक्रिय रहने धारणा व्यक्त गरेका थिए।

स्वास्थ्य क्षेत्रमा नीति संवादको प्रभावकारी सुरुआत

कार्यक्रमले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय अभ्यास, अनुसन्धान तथा प्रदेशको वर्तमान अवस्थाबारे जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रका सरोकारवालाबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गरेको सहभागीहरूको धारणा थियो। कार्यक्रमबाट प्राप्त सुझाव तथा निष्कर्षहरूले आगामी दिनमा प्रदेशस्तरको स्वास्थ्य नीति, योजना तथा बजेट निर्माण प्रक्रियामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री झपट साँउद, पूर्व प्रदेश सभा सदस्य अम्बी थापा, बयालपाटा प्रादेशिक अस्पतालका कार्यकारी निर्देशक डा. मन्दिप पाठक, सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश मलासी, स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य अधिकृत समिर सिंह, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुवँर, प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका मिन बहादुर धामी, यूनिसेफमा प्रतिनिधी काली पुन, बिश्व स्वास्थ्य संगठनका अरुण जोशी, जिआईजेडका गणेश कार्की, फाया नेपालका लाल बहादुर महरा लगायतको सहभागिता रहेको थियो ।

यस्तै विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, जनस्वास्थ्य विज्ञहरू, चिकित्सकहरू, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।