अछाम। सुदूरपश्चिम प्रदेशको दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा प्रादेशिक अस्पतालले बिशेषज्ञ सेवामा उत्कृष्ट उपलब्धी हासिल गरिरहेकाे छ । अस्पतालले एकै दिनमा विभिन्न जटिल खालका हाडजोर्नी सम्बन्धी ६ वटा सफल शल्यक्रिया सम्पन्न गर्दै बिरामीलाई गुणस्तरीय तथा समयमै उपचार सेवा प्रदान गरेको छ।
साेमबार एकैदिन शल्यक्रिया गरिएका बिरामीमध्ये चार जना बालबालिका थिए। उनीहरू क्रमशः ५ वर्षका दुई बालक, ६ वर्षकी एक बालिका र ७ वर्षका एक बालक हुन्। चारै जनामा कोहिनोको Supracondylar Humerus Type III Fracture भएकाे शल्यक्रियाकाे नेतृत्व गरेका अस्पतालका हाडजाेर्नी बिशेषज्ञ डा. बिश्व निराैलाले बताए ।
त्यसैगरी, १५ वर्षका एक किशोरको देब्रे हातको Wrist Fracture तथा ५० वर्षका एक पुरुषको देब्रे घुँडाको जटिल फ्र्याक्चरको समेत सफल शल्यक्रिया गरिएको अस्पतालका हाडजाेर्नी बिशेषज्ञ डा. निराैलाले जानकारी दिए।
शल्यक्रिया गरिएका ६ जना बिरामीमध्ये ५ जना डोटी जिल्लाबाट रेफर भई उपचारका लागि बयालपाटा प्रादेशिक अस्पताल आएका थिए। यसले अस्पतालप्रति छिमेकी जिल्ला, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका नागरिकको बढ्दो विश्वास र विशेषज्ञ सेवाको पहुँचलाई थप पुष्टि गरेको छ।
सफल उपचारपछि ६ मध्ये ५ जना बिरामी साेही दिन स्वास्थ्य लाभ गर्दै मुस्कानसहित घर फर्किन सफल भएका छन्। यसले अस्पतालको प्रभावकारी उपचार प्रणाली, विशेषज्ञ चिकित्सकहरूको दक्षता तथा समन्वित स्वास्थ्य सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
बयालपाटा प्रादेशिक अस्पतालले शल्यक्रिया मात्र होइन, बिरामीको सम्पूर्ण उपचार आकस्मिक कक्ष (ER), अन्तरंग विभाग (IPD) र शल्यक्रिया कक्ष (OT) का साथै पुनः वार्ड हुँदै पूर्ण स्वास्थ्य लाभपछि घर फर्किने अवस्थासम्म उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तर कायम राखेको छ।
यस सफल उपलब्धिका लागि आकस्मिक कक्ष (ER), वार्ड (IPD), शल्यक्रिया कक्ष (OT), एनेस्थेसिया टोली, नर्सिङ सेवा तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूको अथक मेहनत, उत्कृष्ट समन्वय र समर्पणप्रति अस्पतालले हार्दिक आभार व्यक्त गरेको छ।
बयालपाटा प्रादेशिक अस्पतालले दुर्गम क्षेत्रमा पनि विशेषज्ञ स्वास्थ्य सेवा सम्भव छ भन्ने सन्देशलाई व्यवहारमै प्रमाणित गर्दै, नागरिकलाई गुणस्तरीय, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो अभियानलाई निरन्तर अघि बढाइरहेको छ।























प्रतिक्रिया