आज मेरो जन्मदिन।
यो सुन्दर संसारमा जन्म दिने, असल मानिस बन्न सिकाउने र जीवनका हरेक पाइला हिँड्न प्रेरणा दिने मेरा आमा र बुवाप्रति म सधैं ऋणी रहनेछु।
जीवनका हरेक वर्ष सिकाइ र भोगाइको संगम हुन्। यो यात्रा मेरा लागि अर्थपूर्ण, सिर्जनशील, अनुभव र संघर्षको एउटा जीवन्त संग्रहालय बनेको छ।
मेरो जन्म सुदूरपश्चिम प्रदेश, अछाम जिल्ला, चौरपाटी गाउँपालिका–५ मा भएको हो। हाम्रो परिवार सामान्य कृषि, वैदेशिक रोजगारी तथा सरकारी र निजी सेवामा आबद्ध छ। मेरो विद्यार्थी जीवन श्री लक्ष्मी आधारभूत विद्यालयबाट सुरु भएको थियो। आज म कर्णाली प्रदेशमा पोषण अभियानअन्तर्गत जनस्वास्थ्यकर्मीका रूपमा आबद्ध भएर आमा र बालबालिकाको पोषण सुधारका लागि कार्यरत छु।
म आफूलाई सामाजिक रूपान्तरणका लागि सञ्चालित पोषणमैत्री अभियानको एउटा सामान्य भुईँयात्री ठान्छु। मेरा लागि वर्षका ३६५ दिन नै सिकाइको खुला विश्वविद्यालय हुन्। हरेक दिन आफैंलाई र समुदायलाई परिवर्तन गर्ने नयाँ अवसर हो। त्यसैले म हरेक दिन नयाँ सोच, नयाँ संकल्प र असल कर्मका साथ अघि बढ्ने प्रयास गर्छु।
मेरा सिकाइ, अनुभव र भोगाइलाई जीवन्त राख्ने संकल्प गरेको छु। जीवनका अमूल्य दिनहरू आमा र बालबालिकाको पोषण सुधारमा समर्पित गर्दै उज्ज्वल भविष्य निर्माणमा योगदान दिन पाउँदा गर्व महसुस गर्छु। मेरा लागि पोषण केवल स्वास्थ्यको विषय मात्र होइन, यो सामाजिक रूपान्तरणको एउटा महत्वपूर्ण आधार हो। त्यसैले यस पवित्र अभियानमा निरन्तर समर्पित रहनु नै मेरो जीवनको उद्देश्य बनेको छ।
संघर्ष र सिकाइले मलाई एउटा महत्वपूर्ण शब्द सिकाएको छ— “मेहनत।” यही मेहनतले मानिसलाई अगाडि बढाउँछ भन्ने विश्वास नै मेरो जीवनको ऊर्जा हो। म यस्तो खुला संसारमा बाँचिरहेको छु, जहाँ हरेक चुनौतीले नयाँ सिकाइ दिन्छ र हरेक समस्याले समाधान खोज्न प्रेरित गर्छ।
जीवनका हरेक मोडमा साथ, माया, प्रेरणा र हौसला दिने सबैप्रति म सधैं कृतज्ञ रहनेछु। यो विशाल संसारमा धेरै मानिसहरू भेटिन्छन्, तर केही व्यक्तिहरू मात्र जीवनको अर्थ बनेर मनमा बस्छन्। तिमी त्यही अमूल्य उपस्थिति हौ।
जीवनका संघर्ष, उतारचढाव र अनगिन्ती मोडहरूमा तिम्रो साथ, तिम्रो विश्वास र तिम्रो प्रेरणाले मलाई कहिल्यै हार मान्न दिएन। जब मन थाक्न खोज्यो, तिम्रो सम्झनाले नयाँ ऊर्जा भरिदियो। जब बाटो अप्ठ्यारो भयो, तिम्रो विश्वासले अघि बढ्ने साहस दियो।
तिमीप्रति मेरो माया, सम्मान, कृतज्ञता र सम्झना शब्दले व्यक्त गर्न सकिनेभन्दा धेरै गहिरो छ। समय बदलिन सक्छ, परिस्थिति फेरिन सक्छ, तर तिम्रो स्थान मेरो हृदयमा सधैं विशेष रहनेछ, प्रिय मन।
विशेष गरी मेरा आमा, बुवा, परिवार, साथीहरू, पेशागत सहयात्रीहरू, मेरो मुटुको टुक्री मेरी छोरी आयुषा र मेरी जीवनसाथी कोमलप्रति हार्दिक सम्मान, माया र आभार व्यक्त गर्दछु। तपाईंहरूको साथ, सहयोग, सुझाव र विश्वासले नै आजको म निर्माण भएको छु।
यो वर्ष पनि मेरा लागि धेरै सिकाइ, केही खुसी, केही चुनौती र धेरै अनुभवहरू लिएर आएको छ। ती सबैलाई जीवनका अमूल्य सम्पत्तिका रूपमा सँगाल्दै अघि बढ्ने अठोट गरेको छु।
आमाको मायाबाट प्रेरित भएर पोषण अभियानको यस पवित्र यात्रामा कहिल्यै नथाक्ने, नरोकिने र निरन्तर अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछु। जहाँ हरेक आमा र बालबालिकाका सपना छन्, त्यहीँ मेरो कर्म, जिम्मेवारी र भविष्य पनि जोडिएको छ।
म विश्वास गर्छु— सामाजिक रूपान्तरण तब सुरु हुन्छ, जब हामी आफैं परिवर्तनको पहिलो पाइला चाल्न तयार हुन्छौं।
मेरा पाइला हिजोझैं आज पनि चलिरहनेछन्, र भोलि पनि समाजका लागि निरन्तर अघि बढिरहनेछन्।
“साथ, सहयोग र प्रेरणाहरू सधैं जीवन्त रहनेछन्।”
जय पोषण!
श्री सेत बहादुर भुल
जनस्वास्थ्यकर्मी (पोषण कार्यक्रम)
हाल: कर्णाली प्रदेश, नेपाल



















प्रतिक्रिया