कालिकोट। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कालिकोट जिल्लामा अविरल वर्षाका कारण प्रभावित ५७ परिवारलाई राहतस्वरूप सिरक तथा डसना वितरण गरेको छ।
कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका तथा तिलागुफा नगरपालिकाका विभिन्न वडाका विपद् प्रभावित ५७ परिवारलाई स्ट्याण्डर्ड डबल सिरक र डसना वितरण गरिएको कम्पनीले जनाएको छ।
प्राकृतिक विपद्का कारण कठिन परिस्थितिमा परेका परिवारलाई अत्यावश्यक न्यानो सामग्री उपलब्ध गराई उनीहरूको दैनिक जीवनयापनमा केही सहजता ल्याउने उद्देश्यले राहत वितरण कार्यक्रम सञ्चालन गरिएको कम्पनीको भनाइ छ। दुर्गम क्षेत्रमा रहेका विपन्न तथा विपद् प्रभावित परिवारसम्म राहत सामग्री पुर्याउन स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिएको थियो।
राहत वितरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एजेन्सी म्यानेजर राजु सिजापतिको विशेष उपस्थिति रहेको थियो। उहाँले कार्यक्रमको समन्वय तथा व्यवस्थापन गर्दै प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सामाजिक उत्थान तथा समुदायमुखी विभिन्न कार्यक्रम सञ्चालन गर्दै समाजप्रति आफ्नो दायित्व निरन्तर निर्वाह गर्दै आएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि आवश्यकतामा रहेका समुदायलाई लक्षित गरी यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।






















प्रतिक्रिया