मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

षोडशादेवी माध्यमिक विद्यालयको ६४औँ अभिभावक भेला सम्पन्न

षोडशादेवी माध्यमिक विद्यालयको ६४औँ अभिभावक भेला सम्पन्न


अछामको मंगलसेनस्थित षोडशादेवी माध्यमिक विद्यालयको ६४औँ अभिभावक भेला सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकरप्रसाद भाटको अध्यक्षतामा आयोजित कार्यक्रममा मंगलसेन नगरपालिकाकी उपप्रमुख संगीता रावल सोडारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख रावलले शिक्षा क्षेत्रको सुधार सबै सरोकारवालाको साझा जिम्मेवारी र सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताउनुभयो। उहाँले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसक्नुमा अभिभावक, शिक्षक, विद्यार्थी तथा सरकार सबै पक्षको केही न केही कमजोरी रहेको उल्लेख गर्दै अब एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले शिक्षा सुधारका विषयमा अहिलेसम्म धेरै चिन्ता गरिए पनि आवश्यक चिन्तन र परिणाममुखी कार्य हुन नसकेको बताउँदै अब व्यवहारमै परिवर्तन देखिने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

पालिकाको केन्द्रमा रहेको विद्यालय भएकाले यसका हरेक गतिविधि प्रभावकारी, अनुकरणीय र परिणाममुखी हुनुपर्ने उहाँको भनाइ थियो। स्थानीय सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म शिक्षा क्षेत्रमा लगानी गर्दै आएको भए पनि केही विद्यालयले अपेक्षित नतिजा दिन नसकेको उल्लेख गर्दै उहाँले षोडशादेवी माध्यमिक विद्यालयले वरपरका अन्य विद्यालयका लागि प्रेरणादायी नमूना बन्नुपर्ने बताउनुभयो।

उपप्रमुख रावलले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन सन्तोषजनक रहेको उल्लेख गर्दै व्यवस्थापनका केही पक्षमा अझ सुधारको आवश्यकता रहेको बताउनुभयो। ती पक्षलाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउन सुझाव समेत दिनुभयो।

भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश बोगटी, नेपाली कांग्रेसका नयाँराम बजगाईं, **नेपाल कम्युनिष्ट पार्टी (एमाले)**का निरकबहादुर शाही, वडा नं. ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक बृखबहादुर बोगटी, शिक्षा शाखा प्रमुख दीपक भण्डारी, नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष टेकबहादुर थापा, शिक्षक शंकरबहादुर रावल तथा विद्यार्थी युनिक केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले अभिभावक भेलामा सरोकारवालाबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै विद्यालयलाई अझ उत्कृष्ट बनाउन आग्रह गरेका थिए। विद्यालयमा सञ्चालन भइरहेका सकारात्मक अभ्यासलाई संस्थागत गर्दै थप प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा समेत जोड दिइएको थियो।

कार्यक्रमका अवसरमा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै विद्यालयको शैक्षिक उन्नयनमा योगदान पुर्‍याउने उत्कृष्ट शिक्षकहरूलाई सम्मान समेत गरिएको थियो।

भेलामा विद्यालयका प्रधानाध्यापक बृकेश सिंह बोगटीले वार्षिक शैक्षिक प्रतिवेदन तथा लेखा अधिकृत मोहनकुमार बोगटीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका सदस्य मोहन ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक सर्पराज रिमालले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति तथा आकर्षक झाँकी प्रदर्शन गरी उपस्थित अभिभावक तथा अतिथिहरूको मन जितेका थिए।