अछाम । क्षयरोगको समयमै पहिचान, नियन्त्रण तथा समुदायस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कमलबजार नगरपालिकामा सञ्चालन गरिएको AI Portable X-ray आधारित क्षयरोग स्क्रिनिङ अभियान प्रभावकारी बनेको छ।
अभियान अन्तर्गत दुई दिनमा ३६६ जना नागरिकले निःशुल्क क्षयरोग स्क्रिनिङ सेवा प्राप्त गरेका छन्। कमलबजार नगरपालिकाका जनस्वास्थ्य निरीक्षक टेक बहादुर बिष्टका अनुसार २०८३ साल असार १९ गते मष्टाबण्डाली स्वास्थ्य चौकीमा १५४ जना र २०८३ साल असार २० गते कमलबजार नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्रमा २१२ जना गरी जम्मा ३६६ जनाको AI Portable X-ray मार्फत क्षयरोगसम्बन्धी स्क्रिनिङ गरिएको हो।
स्क्रिनिङका क्रममा केही व्यक्तिमा क्षयरोगको सम्भावित संकेत तथा शंकास्पद अवस्था देखिएकाले थप प्रयोगशाला परीक्षणका लागि उनीहरूको खकार (Sputum) नमुना सङ्कलन गरी बयालपाटा प्रादेशिक अस्पतालमा GenXpert परीक्षणका लागि पठाइएको जनस्वास्थ्य निरीक्षक बिष्टले जानकारी दिनुभयो।
GenXpert परीक्षणको नतिजापछि आवश्यक उपचार प्रक्रिया तत्काल अगाडि बढाइने उहाँले बताउनुभयो। उहाँका अनुसार AI Portable X-ray जस्तो आधुनिक प्रविधिको प्रयोगले समुदायमै पुगेर छोटो समयमै धेरै नागरिकको क्षयरोग स्क्रिनिङ गर्न सम्भव भएको छ। यसले रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सहयोग पुग्ने, समयमै उपचार सुरु गर्न सहज हुने तथा समुदायमा क्षयरोगको संक्रमण फैलिन नियन्त्रण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
कमलबजार नगरपालिकाले आगामी दिनमा पनि यस्ता समुदायमुखी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिँदै क्षयरोगमुक्त समाज निर्माणतर्फ आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउने जनाएको छ। साथै, दुई हप्ताभन्दा बढी समयसम्म खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउने, राति धेरै पसिना आउने वा अन्य क्षयरोगसँग सम्बन्धित लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई निःशुल्क जाँच तथा उपचार सेवा लिन सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ।






















प्रतिक्रिया