मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘धमालीका नागरिक भन्छन सुशासन र पारदर्शिताका क्षेत्रमा वडाले राम्रो काम गरेको छ’

‘धमालीका नागरिक भन्छन सुशासन र पारदर्शिताका क्षेत्रमा वडाले राम्रो काम गरेको छ’


अछामको तुर्माखाँद गाउँपालिका वडा न ८ धमालीको आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्नभएको छ । शनीबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजनागरि वडाले एक आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो ।

वडा अध्यक्ष निरक बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वडाले आर्थिक वर्ष २०८२/०८३ मा गरेका कामहरुको समिक्षा गरिएको थियो भने वडा भित्र रहेका सामुदायिक विद्यालय, स्वास्थ्यचौकी, सामुदायिक वनहरुको पनि सार्वजनिक सुनुवाई गरिएको थियो ।

वडाले एक वर्षको अवधिमा वडा कार्यालय मार्फत भएका कामकार्वाहीका बारेमा जानकारी गराउनुका साथै आगामी दिनमा सरोकारवालाहरुको सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका थिए । विद्यालयहरुले पनि आफ्नो विद्यालयको शैक्षिक,भौतिक र आर्थिक अवस्थाको बारेमा जानकारी गराएका वडा सचिव शान्ती विकले जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि वडाका राजनितिक दल, शिक्षक, सामाजिक अगुवा र अन्य सरोकारवालाहरुले वडा समितिले हरेक वर्ष आम सरोकारवालाको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजनागरि सुशासन र पारदर्शिताका क्षेत्रमा राम्रो अभ्यासको सुरुवात गरेको भन्दै प्रशंसा गरेका छन ।

वडा कार्यालय मार्फत भएका हरेक गतिविधिको पारदर्शी ढंगले सार्वजनिक गर्नु आफैमा राम्रो पक्ष भएको भन्दै उनीहरुले यसलाई वर्षको दुईपटक अनिवार्य गर्न आवश्यक रहेको बताएका छन । पालिकामा रहेका ८ वटा वडा मध्य आफ्नो वडाका जनप्रतिनिधिहरुले नागरिकको मन जित्नेगरि काम गरेको भन्दै सरोकारवालाहरुले अबको एक वर्ष पनि सरोकारवाला संग समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्न आग्रह गरेका छन ।

स्थानीय अगुवा तपेन्द्र बहादुर शाहीले भन्नुभयो, हामीले विगतका वर्षहरुमा सार्वजनिक सुुनुवाइ कार्यक्रममा उठाएका सवाल वडाले सम्बोधन गरेको भन्दै धन्यवाद दिनुभएको छ । आफु जहिले पनि सामाजिक कुरामा आवाज उठाईरहने नागरिक भएकाले समुदायमा नागरिकले भोगीरहेका समस्याका बारेमा निरन्तर खबदारी गरिरहने र स्थानीय सरकारले यसलाई सकारात्मक ढंगले समाधान गर्दै अघि बढ्नुपर्नेमा शाहीको जोड छ ।

अहिले पनि वडाका केही टोलमा विद्युतिकरण हुन नसकेको प्रति स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नेपाली काग्रेसका निरक बहादुर शाहीले वडाले गरेका कामलाई आफ्नो पार्टीले सकारात्मक ढंगले लिएको भन्दै प्रशंसा गर्नुभएको थियो ।

वडा अध्यक्षले वडामा हुने हरेक गतिविधिमा आफ्नो पार्टी संग निरन्तर समन्वय र सहकार्यगर्दै आएको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका नेता हरि प्रसाद जैशीले तुर्माखाँद गाउँपालिका वडा न ८ धमालीले नागरिकको मनजित्नेगरि काम गरेको बताउनुभयो । राजनिकि आस्था भन्दा माथि उठेर वडाका जनप्रतिधिहरुले काम गरेको भन्दै नेता जैशीले भन्नुभयो, आगामी दिनमा पनि यस्तै परम्परालाई निरन्तरता दिनहोला ।

पालिकाका रहेका अन्य वडाहरुले नगरेको रचनात्मक कामपनि आफ्नो वडाले गरेकोमा उहाले वडा समितिलाई धन्यवाद समेत दिनुभएको थियो । कार्यक्रममा सहभागि स्थानीय सरोकारवालाहरुले राखेका प्रश्नको जवाफ दिनुहुदै वडा अध्यक्ष निरक बहादुर शाहीले वडाका नागरिकहरुको साथले आफुलाई थप कामगर्ने हौसला प्राप्तभएको बताउनुभयो । आफ्नो कार्यकालको अवधीभर आफु नागरिककै पक्षमा काम गरिरहेको जानकारी गराउदै अध्यक्ष शाहीले आफ्ना हरेक कार्यमा वडाका नागरिकहरुको साथ र सहयोग प्राप्त भएको भन्दै खुसी व्यक्तगर्नुभयो ।

आफ्नो व्यक्तिगत स्वार्थ केहीपनी नरहेको तर वडा र यहाँका नागरिकका पक्षमा कसरी राम्रो कामगर्न सकिन्छ आफ्नो अर्जुन दृष्टि यसतर्फ मात्रै रहेको उहाले बताउनुभयो । कामगर्ने ईच्छा शक्ति धेरै भएपनी सिमित स्रोत साधनका कारण केही महत्वपूर्ण कार्य गर्न नकसकेको स्विकार्नुभएको छ । आफुले हरेक वर्ष सार्वजनिक सुनुवाई गर्दै आएको र नागरिकले उक्त कार्यक्रममा उठाएका सवाल सम्बोधन गर्र्दै अघि बढेको अध्यक्ष शाहीको दाबी छ । वडाका केही टोलहरुमा विद्युत नपुगकेको नागरिकको गुनासोमा उहाले आफु निरन्तर यसका लागि लागीपरेको बताउनुभयो ।

वडाले गरेका राम्रा कामहरुको प्रचार र सुधार गर्नुपर्ने कुरामा रचनात्मक ढंगबाट सुझाव दिन समेत उहाले सर्बलाई आग्रह गर्नुभएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा दैनिक सेवा प्रवाह, चुनौती बारेको प्रतिवेदन वडा सचिव शान्ती विक, वडाको भौतिक प्रगतिको विवरण वडाका प्राविधिक केशव भण्डारीले प्रस्तुत गर्नुभएको थियो भने स्वास्थ्यचौकी धमालीको प्रगति विवरण स्वास्थ्यचौकी ईन्चार्ज चन्द्रप्रकाश भण्डारीले प्रस्तुत गर्नुभएको थियो यस्तै विद्यालय तर्फ वडाकै उच्चतम विद्यालय सिद्धेश्वरी माध्यामिक विद्यालयको प्रगति विवरण शिक्षक जनक कुमार शाही, जीवनकला आधारभुत विद्यालयको प्रधानाध्यापक पदमा शाही, वैकुण्ठेश्वरी आधारभुत विद्यालयको सरस्वती जैशी, सरस्वती आधारभुत विद्यालयको प्रगति विवरण शिक्षक झंकर प्रसाद जैशीले प्रस्तुत गर्नुभएको थियोभने कालिका आधारभुत विद्यालयको प्रधानाध्यापक प्रेम धमाला, महालक्ष्मी आधारभुत विद्यालयको प्रगति विवरण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तपेन्द्र शाहीले प्रस्तुत गर्नुभएको थियो ।

बागेश्वरी बालविकास केन्द्रको सहजकर्ता तारा धमाला, शिवस्थान बगलदेव सामुदायिक सिकाई केन्द्रको प्रतिवेदन अध्यक्ष शंकर विक र पाखापानी सामुदायिक वनको प्रगति विवरण अध्यक्ष खकेन्द्र बोहराले प्रस्तुत गर्नुभएको थियो । वडा सचिव शान्ती विकले संचालन गर्नुभएको कार्यक्रमको सहजिकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा र रेडियो रामारोशनका स्टेशन म्यानेजर चन्द्र थापाले गर्नुभएको थियो ।