टेकराज भण्डारी
असार २२, अछाम
गंगा माध्यमिक विद्यालय, मंगलसेन नगरपालिका–६, तेसिङ्गे, अछाममा मतदाता शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयस्तरमा विद्यार्थीमार्फत मतदाता शिक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय, अछामले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा गंगा माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई मतदाता शिक्षा सम्बन्धी विभिन्न विषयमा जानकारी गराइएको थियो। जिल्ला निर्वाचन अधिकारी रामदिन चौधरीले मतदाता शिक्षा, मतदाता नामावली दर्ता, मतदान प्रक्रिया तथा मताधिकारको महत्वबारे सहजीकरण गर्नुभएको थियो।
विद्यालयका प्रधानाध्यापक मोतिराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले मतदाता शिक्षा सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए।
कार्यक्रममा मतपत्र बदर हुने अवस्था, १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने तथा १८ वर्ष पूरा भएपछि मतदान गर्न पाइने व्यवस्था, साथै कसैको डर, धम्की वा प्रभावमा नपरी स्वतन्त्र रूपमा मतदान गर्नुपर्ने विषयमा जानकारी गराइएको थियो।
कार्यक्रमको सहजीकरण शिक्षक विक्रमसिंह विष्टले गर्नुभएको थियो। विद्यालयका शिक्षक तथा सूचना अधिकारी टेकराज भण्डारीका अनुसार कार्यक्रमले विद्यार्थीमा मतदाता शिक्षा सम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।



















प्रतिक्रिया