मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबार एकैदिन मंगलसेनका ६१ पसलमा अनुगमन, १ लाख १५ हजारभन्दा बढी राजस्व संकलन

शुक्रबार एकैदिन मंगलसेनका ६१ पसलमा अनुगमन, १ लाख १५ हजारभन्दा बढी राजस्व संकलन


अछाम । मंगलसेन नगरपालिकाले शुक्रबार मंगलसेन बजार क्षेत्रका विभिन्न पसलहरूको बजार अनुगमन गरेको छ। उपभोक्ता तथा अन्य सरोकारवालाबाट बजारको नियमित अनुगमन नभएको गुनासो बढेपछि नगरपालिकाले अनुगमन अभियान सञ्चालन गरेको हो।

अनुगमनका क्रममा अधिकांश किराना पसलमा दैनिक उपभोग्य वस्तुहरूको म्याद गुज्रिएको पाइएको छ भने एग्रोभेट र कस्मेटिक पसलबाट ठूलो परिमाणमा म्याद गुज्रिएका सामग्री बरामद गरिएको नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैशीले जानकारी दिनुभयो।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रिएका सामग्रीको बिक्री वितरण रोक्ने तथा उपभोक्ता अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अनुगमन गरिएको नगरपालिकाले जनाएको छ।

शुक्रबार दिनभर सञ्चालन गरिएको अनुगमनमा ६१ वटा पसल तथा एग्रोभेटको निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा केही व्यवसायीलाई सुधारका लागि लिखित निर्देशन दिइएको छ। आगामी दिनमा सुधार नदेखिए कानुनअनुसार जरिवाना तथा अन्य कारबाही गरिने भन्दै उनीहरूलाई सचेत गराइएको सूचना अधिकारी जैशीले बताउनुभयो।

अनुगमनका क्रममा केही व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची नराखेको तथा बिल जारी नगरेको पाइएको थियो। त्यस्ता व्यवसायीलाई प्रचलित कानुनबमोजिम आवश्यक कागजात अद्यावधिक राख्न तथा आवश्यक सुधार गर्न निर्देशन दिइएको छ।

यसै क्रममा व्यवसाय दर्ता तथा नवीकरण शुल्क र सरसफाइ शुल्क गरी एकैदिन १ लाख १५ हजार ७ सय रुपैयाँ राजस्व संकलन गरिएको नगरपालिकाले जनाएको छ।

त्यस्तै, उपभोक्ता हित संरक्षणका लागि आवश्यक सुझावसहित लिखित निर्देशन प्रदान गरिएको छ। अनुगमनका क्रममा करिब १ लाख ३२ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको नगरपालिका स्टोर शाखा प्रमुख नरेश बहादुर कठायतले जानकारी दिनुभयो। बरामद गरिएका सामग्री नगरपालिकामा ल्याई सबै सरोकारवालाको रोहवरमा नष्ट गरिएको उहाँले बताउनुभयो। पहिलो दिनको अनुगमन बैरागीधाराबाट सुरु भई बीच बजारसम्म सम्पन्न भएको थियो।

बजार क्षेत्रमा केही व्यवसायीले ठूलो लापरबाही गरेको, कालोबजारी बढेको तथा उपभोक्तालाई ठगी गर्ने गुनासो बढेकाले आगामी दिनमा ग्रामीण क्षेत्रका स्थानीय बजारहरूमा समेत अनुगमन गरिने नगरपालिकाका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो।

नगरपालिकाले यसअघि पनि पटक–पटक बजार अनुगमन गर्दै आएको भए पनि नियमितता नहुँदा व्यवसायीले पुरानै प्रवृत्ति दोहोर्याउने समस्या देखिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगानाले बताउनुभयो। अबदेखि प्रत्येक तीन–तीन महिनामा नियमित रूपमा बजार अनुगमन गरिने उहाँको भनाइ छ।

यसअघिका अनुगमनका क्रममा आवश्यक परामर्श दिइसकिएकाले आगामी दिनमा पनि उही गल्ती दोहोरिए कानुनअनुसार कडा कारबाही गरिने चेतावनी उहाँले दिनुभयो। बजार अनुगमन नगरपालिकाको प्राथमिकतामा रहेको महत्वपूर्ण कार्य भएकाले यसलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गरिने पनि उहाँले बताउनुभयो।

यता, बजारका व्यवसायी तथा स्थानीय नागरिकले बजार क्षेत्रको फोहोर संकलनका लागि हप्तामा कम्तीमा दुई पटक अनिवार्य रूपमा फोहोर उठाउने सवारीसाधन सञ्चालन गर्नुपर्ने तथा बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउनुपर्ने माग गरेका छन्।

अनुगमन टोलीमा नगरपालिकाका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल पत्रकार महासंघ, बजार विकास समिति, जिल्ला प्रहरी कार्यालय तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।