अछाम
मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका योजना, कार्यक्रम तथा आय–व्ययको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। सार्वजनिक सुनुवाइमार्फत नगरपालिकाले एक वर्षको कार्यसम्पादन सार्वजनिक गर्दै नागरिकसँग प्रत्यक्ष संवाद गरेको हो।
नगर प्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा विकास निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा समग्र गतिविधिबारे समीक्षा गरिएको थियो। कार्यक्रममा विभिन्न वडा तथा क्षेत्रबाट सहभागी भएका नागरिकले नगरपालिकाको कामकारबाहीबारे प्रश्न राख्दै सुझावसमेत दिएका थिए।
सहभागीहरूले नगरपालिकाले सुशासन, पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा केही सकारात्मक अभ्यास सुरु गरेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आग्रह गरे। हालसम्म भएका उपलब्धिलाई संस्थागत गर्दै नागरिकका सुझावलाई व्यवहारमा उतार्न सके स्थानीय सरकारप्रतिको विश्वास अझ मजबुत हुने उनीहरूको भनाइ थियो।
सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरूले अनुदान वितरण प्रक्रियालाई पूर्ण पारदर्शी बनाउन, कर्मचारी भर्ना योग्यता र क्षमताका आधारमा गर्न, बजार क्षेत्रको सरसफाइ व्यवस्थापनमा सुधार ल्याउन तथा विकास निर्माणका योजनाको प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए। केही क्षेत्रमा अझै पनि पारदर्शिता र जवाफदेहिताको अभाव रहेको भन्दै त्यसतर्फ नगरपालिका थप गम्भीर हुनुपर्ने सुझाव उनीहरूले दिएका थिए।
नागरिकले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख पदमबहादुर बोहराले सार्वजनिक सुनुवाइमा प्राप्त सबै सुझावलाई सकारात्मक रूपमा लिइएको बताउनुभयो। सीमित स्रोत–साधनका कारण नागरिकका सबै अपेक्षा पूरा गर्न नसकिएको स्वीकार गर्दै उहाँले उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो।
उहाँले आफ्नो कार्यकालमा सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै विभिन्न सुधारात्मक अभ्यास सुरु गरिएको दाबी गर्नुभयो। राम्रो कामको पनि मूल्याङ्कन र प्रशंसा गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले नगरपालिका सबै नागरिकको साझा संस्था भएकाले विकास र सुशासनका अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।
नगर उपप्रमुख सङ्गीता रावल सोडारीले महिला, बालबालिका तथा अन्य लक्षित वर्गका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै सीमित स्रोतका बाबजुद धेरैभन्दा धेरै नागरिकसम्म सेवा पुर्याउने प्रयास गरिएको बताउनुभयो। आगामी आर्थिक वर्षमा थप प्रभावकारी र समावेशी कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो।
कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव बमबहादुर रावलले सार्वजनिक सुनुवाइलाई स्थानीय सरकार र नागरिकबीचको संवादको प्रभावकारी माध्यमका रूपमा उल्लेख गर्नुभयो। उहाँले नगरपालिकाका सकारात्मक कार्यमा सहयोग र कमजोरीप्रति रचनात्मक खबरदारी जारी रहने बताउनुभयो।
कार्यक्रमको प्रारम्भमा प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न योजना, कार्यक्रम तथा बजेट कार्यान्वयन सम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सार्वजनिक सुनुवाइको उद्देश्यबारे प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगानाले जानकारी गराउनुभएको थियो।
कार्यक्रममा सहभागी नागरिकका प्रश्नको जवाफ सम्बन्धित शाखाका प्रमुख तथा कर्मचारीहरूले दिएका थिए। नगरका विभिन्न वडाबाट सहभागी भएका नागरिकले सेवा प्रवाह, विकास निर्माण, शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, अनुदान वितरणलगायत विषयमा आफ्ना गुनासा, सुझाव र जिज्ञासा राखेका थिए।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सञ्चालन सूचना अधिकारी विष्णुप्रसाद जैशीले गर्नुभएको थियो भने सहजीकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेकबहादुर थापाले गर्नुभएको थियो।



















प्रतिक्रिया