अछाम। जंगली जनावरले खेतबारीमा लगाएको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि अछामको चौरपाटी गाउँपालिकाका किसानहरू गम्भीर समस्यामा परेका छन्। समयमै वर्षा नहुनु, सिँचाइको अभाव र त्यसपछि जेनतेन लगाइएको खेतीसमेत बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कतिपय किसानले खेती गर्नै छोडेका छन् भने केही गाउँ छोड्ने तयारीमा छन्।
शनिबार चौरपाटी गाउँपालिकामा ‘पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशील कृषि प्रणालीमा महिलाको सहभागिता’ परियोजनाअन्तर्गत ‘कृषिमा जंगली जनावरबाट हुने क्षति न्यूनीकरण’ विषयक पालिका स्तरीय सरोकारवालासँग संवाद कार्यक्रममा सहभागी किसानहरूले आफ्नो पीडा सुनाउँदै खेती जोगाउन तत्काल प्रभावकारी कदम चाल्न माग गरेका हुन्।
किसानहरूले आफूहरूले ठूलो मेहनतले लगाएको अन्नबाली र तरकारी जंगली जनावरले सखाप पार्दा खेतीप्रति नै निराशा बढेको बताए। उनीहरूले यस अवस्थाले भविष्यमा पालिकामा खाद्य संकटसमेत निम्तिन सक्ने चेतावनी दिएका छन्।
संवाद कार्यक्रममा किसानहरूले गाउँपालिका अध्यक्ष भीमबहादुर साउद, प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, प्रहरी प्रमुख ओमप्रकाश खनाल, कृषि शाखा प्रमुख झप भुल तथा डिभिजन वन कार्यालयका प्राविधिक केशव बोहरासमक्ष खेती जोगाउने व्यवस्था गर्न, जंगली जनावरबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन तथा प्रभावकारी नियन्त्रणका उपाय अपनाउन माग गरेका थिए। केही किसानले जंगली जनावर नियन्त्रणका लागि हतियार उपलब्ध गराउनुपर्ने मागसमेत राखे।
चौरपाटी गाउँपालिका–४ पायलकी देवसरा कुँवरले जंगली जनावरका कारण गाउँमा बस्नै नसकिने अवस्था सिर्जना भएको बताइन्। बाँदरले घरभित्र पस्ने, पकाएको खाना समेत खान नदिने समस्या रहेको उल्लेख गर्दै उनले प्रशासनले तत्काल समाधान नखोजे केही वर्षभित्र गाउँ नै रित्तिने चेतावनी दिइन्।
यस्तै, वडा नं. ७ मार्कुकी निरादेवी बोगटीले दुःख गरेर लगाएको खेती जंगली जनावरले नष्ट गरिदिँदा किसानले के खाने भन्ने प्रश्न उठाइन्। कार्यक्रममा सहभागी अधिकांश महिलाले घरका पुरुष वैदेशिक रोजगारीमा रहेको र आफूहरूले गरेको खेतीसमेत जोगाउन नसकिएको भन्दै अब आफूहरू पनि गाउँ छोड्ने सोचमा पुगेको बताए।
स्थानीय किसानहरूले सरकारले वन्यजन्तुको संरक्षणमा बढी चासो दिएको तर किसानको समस्या बेवास्ता गरेको गुनासो गरे। स्थानीय उत्पादन प्रयोग गरेर पोषण सुधार गर्नुपर्ने भनिए पनि उत्पादन नै जोगाउन नसकिएको उनीहरूको भनाइ थियो।
गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले किसानका समस्या सुन्दा आफू दुःखी भएको बताउँदै जंगली जनावर मार्ने वा नियन्त्रण गर्ने अधिकार स्थानीय सरकारसँग नभए पनि क्षति न्यूनीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। उनले सीमित स्रोत–साधनका बाबजुद किसानका समस्यालाई प्राथमिकतामा राखेर आगामी दिनमा नीति निर्माणसहित आवश्यक बजेट व्यवस्थापन गरिने बताए। साथै, सामूहिक रूपमा जंगली जनावर धपाउने अभियानमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने पनि उनको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले किसानका समस्या समाधानका लागि प्रशासनले समन्वयकारी भूमिका खेल्ने बताए। कानुनले जंगली जनावर मार्न अनुमति नदिएकाले त्यस्तो कार्य सम्भव नभए पनि अप्ठ्यारो परिस्थितिमा प्रशासनले आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो। उनले किसानले अनुदान प्राप्त गर्ने प्रक्रियालाई सरल बनाउन पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रहरी प्रमुख ओमप्रकाश खनालले कानुनअनुसार जंगली जनावर मार्न हतियार उपलब्ध गराउन नसकिने स्पष्ट पारे। नागरिकले सहयोग मागे प्रहरी सहयोग गर्न तयार रहेको तर कानुनी प्रक्रिया पालना गर्नुपर्ने उनले बताए।
कृषि शाखा प्रमुख झप भुलले किसानका समस्या समाधानका लागि उपलब्ध जनशक्तिबाट सेवा दिइरहेको जानकारी दिए। बिउ, बिरुवा तथा अन्य अनुदान कार्यक्रम पारदर्शी रूपमा वितरण भइरहेको र आगामी दिनमा किसानलाई थप सहयोग गरिने उनले बताए।
डिभिजन वन कार्यालयका प्राविधिक केशव बोहराले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। चौरपाटीका सामुदायिक वनका पदाधिकारीलाई तालिम तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको र यसलाई अझ प्रभावकारी बनाइने उनले बताए।
विभिन्न वडाका अध्यक्षहरूले पनि वन्यजन्तुको आतंकका कारण किसानबाट निरन्तर गुनासो आइरहेको बताए। सिँचाइको अभाव, जलवायु परिवर्तन, परम्परागत कृषि प्रणाली र बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएको अवस्थामा बाँदर र बँदेलको आतंकले समस्या झन् जटिल बनेको उनीहरूको भनाइ थियो।
कार्यक्रम समविकास नेपाल, पिसविन र वाक नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो। समविकास नेपालका कार्यकारी निर्देशक पशुपति कुँवरका अनुसार कार्यक्रममा सयभन्दा बढी किसानको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेकबहादुर थापाले गरेका थिए।



















प्रतिक्रिया