मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटीका किसानको आग्रह : “सरकार, हाम्रो खेती जंगली जनावरबाट जोगाइदेऊ”

चौरपाटीका किसानको आग्रह : “सरकार, हाम्रो खेती जंगली जनावरबाट जोगाइदेऊ”


अछाम, चौरपाटी। अछामको चौरपाटी गाउँपालिकाका किसानहरूले जंगली जनावरका कारण खेतीपातीमा बढ्दो क्षति भइरहेको भन्दै स्थानीय सरकार र प्रशासनसँग प्रभावकारी पहलको माग गरेका छन्।

गाउँपालिकामा आयोजित “कृषिमा जंगली जनावरबाट हुने क्षति न्यूनीकरण सम्बन्धी पालिका स्तरीय संवाद कार्यक्रम” मा सहभागी किसानहरूले पछिल्ला पाँचदेखि सात वर्षयता बदेल, बाँदरलगायतका जंगली जनावरको आतंक बढ्दै गएको गुनासो गरे। उनीहरूले खेती जोगाउन नसकिए गाउँमा बस्नै कठिन भएको बताएका छन्।

वडा नं. ४ पायलकी किसान देवसरा कुँवरले जंगली जनावरकै कारण गाउँबाट बसाइँसराइ बढेको र अहिले गाउँ नै रित्तिँदै गएको बताइन्। “पहिले गाउँमा धेरै मानिस थिए, सबैले खेती गर्थे। अहिले गाउँ खाली हुँदै गएपछि बदेल र बाँदर घरसम्म पस्न थालेका छन्,” उनले भनिन्।

६१ वर्षीया कुँवरले आँखाभरि आँसु पार्दै खेती लगाउँदा जंगली जनावरले सबै नष्ट गरिदिने भएकाले परिवार पाल्नै मुस्किल भएको बताइन्। “यदि सरकारले जंगली जनावरबाट हुने क्षति रोक्न पहल गर्दैन भने म जस्तै धेरै महिला भारत जान बाध्य हुन्छौं,” उनले दुखेसो पोखिन्।

यस्तै वडा नं. १ की किसान चन्द्रा देवी साउँदले बाँदरले खेतबारीको बाली मात्र होइन, घरभित्र पसरेर पकाएको खाना समेत खान थालेको गुनासो गरिन्। “घरभित्र पसेको बाँदरलाई धपाउन खोज्दा उल्टै आक्रमण गर्छ। अब हामी कसरी बाँच्ने?” उनले प्रश्न गरिन्।

कार्यक्रममा सहभागी अधिकांश किसानहरूले सरकारले एकातिर कृषि गर्न प्रोत्साहन गर्ने तर अर्कोतर्फ बाली नष्ट गर्ने जंगली जनावर नियन्त्रणमा प्रभावकारी कदम नचालेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनीहरूले संवाद कार्यक्रम औपचारिकतामै सीमित नराखी व्यवहारिक समाधान निकाल्न आग्रह गरे।

युवा सहभागीहरूले पनि स्थानीय सरकारले कृषि अनुदानका कार्यक्रम थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। व्यवसायिक कृषि गरिरहेका धेरै युवालाई अनुदानका अवसर र प्रक्रिया बारे पर्याप्त जानकारी नहुँदा उनीहरू राज्यका सुविधाबाट वञ्चित भइरहेको उनीहरूको भनाइ थियो। कृषि शाखाले सूचना तथा प्रचारप्रसारलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव उनीहरूले दिएका छन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भिमबहादुर साउँद, अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, जिल्ला प्रहरी प्रमुख ओमप्रकाश खनाल, कृषि शाखा प्रमुख झप भुल तथा डिभिजन वन कार्यालयका प्राविधिक केशव बोहरा लगायतले किसानका गुनासाप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।