अछाम — कृषि ज्ञान केन्द्र अछामले म्याद सकिएको विषादी किसानलाई वितरण गरेको आरोप लागेको छ।
पछिल्ला केही दिनयता कार्यालयमा विषादी लिन पुगेका सेवाग्राहीलाई म्याद नाघेको विषादी वितरण गरिएको किसानहरूले बताएका छन्।
धानमा लाग्ने गोबारो रोग नियन्त्रणका लागि प्रयोग हुने कारटाप हाइड्रोक्लोराइड नामको विषादी किसानलाई वितरण गरिएको उनीहरूको भनाइ छ। उक्त विषादीको म्याद सन् २०२६ को जुन महिनासम्म मात्रै रहे पनि कृषि ज्ञान केन्द्रले म्याद सकिएको एक महिनापछि समेत किसानलाई वितरण गरिरहेको आरोप लगाइएको छ।
शुक्रबार मात्रै विषादी लिन कृषि ज्ञान केन्द्र पुगेका मंगलसेन नगरपालिका–५ का डण्डी प्रसाद ढुंगानाले पनि म्याद सकिएको विषादी पाएको बताएका छन्। रेडियो गाउँघरसँग कुराकानी गर्दै उनले भने, “कार्यालयमा विषादी चाहियो भनेर गएँ। कार्यालयले त्यही विषादी दिएर पठायो। घरमा आएर हेर्दा मात्र म्याद सकिएको थाहा पाएँ।”
उनले कृषि ज्ञान केन्द्रजस्तो जिम्मेवार सरकारी कार्यालयबाट यस्तो कमजोरी हुने अपेक्षा नगरेको बताउँदै कार्यालयबाट विषादी लिएका सबै किसानलाई प्रयोग गर्नुअघि म्याद अनिवार्य जाँच गर्न आग्रह गरेका छन्।
जिल्लाका अधिकांश स्थानमा धान रोपाइँ सकिएको र अब रोग लाग्ने समय भएकाले किसान विषादी लिन कार्यालय पुग्ने क्रम बढिरहेको अवस्थामा म्याद सकिएको विषादी वितरण गर्नु गम्भीर लापरवाही भएको ढुंगानाको भनाइ छ ।
किसानहरूले पनि सम्बन्धित कार्यालयको लापरवाही छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।
यता, कृषि ज्ञान केन्द्र अछामका एक कृषि प्राविधिकले भने कार्यालयले म्याद सकिएको विषादी वितरण नगरेको दाबी गरेका छन्।
उनले केही किसानको आग्रहमा यस्तो भएको हुन सक्ने सम्भावना उल्लेख गरे पनि नियमित रूपमा म्याद सकिएको विषादी वितरण गरिएको आरोप अस्वीकार गरे।
कामको सिलसिलामा कार्यालय बाहिर रहेकाले घटनाबारे आफूलाई जानकारी नभएको बताउँदै उनले कतिपय किसानले कार्यालयमा आएर अनावश्यक दबाब दिने गरेको र त्यस्ता अवस्थामा आवश्यक परामर्श दिएर पठाउने गरिएको प्रतिक्रिया दिएका छन्।














प्रतिक्रिया